गुल्मी २०७६ भाद्र ३०
चारधामध्यकै एक धाम मानिने गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रुरुधाम रिडीमा शुरु भएको महायज्ञ जारी रहेको छ । गुल्मी, पाल्पा र स्याङजाको संगमस्थलमा पर्ने रुरुक्षेत्रधामको पहिचानलाई विश्वसामु पु–र्याउने तथा त्यस क्षेत्रको विकासका लागि नेपालमै पहिलोपटक ऐतिहासिक महायज्ञ सञ्चालन भएको हो । ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महामहोत्सव एवं संगीतमय लीलामय श्रीमदभागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ–२०७६ यहि भाद्र २८ गते नेपाल सरकारका परराष्ट्रमन्त्री तथा गुल्मी क्षेत्र नं –१ का सांसद प्रदिप ज्ञवालीले उदघाटन गर्नुभएको थियो ।
महायज्ञ सञ्चालन भएसँगै त्यस क्षेत्र अहिले महायज्ञमय भएको छ र हजारौँ श्रद्धालुको आवतजावत तथा आगमनले रुरु क्षेत्र निकै उल्लासमय भएको छ ।
महायज्ञको प्रमुख वाचक विश्वविख्यात श्रीमदभागवत कथा प्रवक्ता बालयोगेश्वर महाराज श्री रहनुभएको छ । हजारौँ भक्तजन तथा दैनिकजसो देशका प्रमुख बिशिष्ट व्यक्तित्वहरुको सहभागीतामा महायज्ञ सञ्चालन भईरहेको छ ।
महायज्ञका संयोजक गुरुप्रसाद ज्ञवाली भन्नुहुन्छ ‘‘रुरुधामले अब मुहार फेर्दै छ ’’
महायज्ञको तेश्रो दिन आज पनि हजारौँ भक्तजनहरुको सहभागीता रहेको थियो । महायज्ञका संयोजक गुरु प्रसाद ज्ञवालीले महायज्ञ निकै उत्साहपूर्ण रुपमा सञ्चालन भईरहेको बताउनुभएको छ ।
असोज १७ गते सम्म चल्ने महायज्ञको सोमबार तेश्रो दिनसम्म आई पुग्दा दानवीरहरले खुलेरै सहयोग प्रदान गरेका छन् । ज्ञवालीका अनुसार तेश्रो दिनसम्म आई पुग्दा करिब १७ लाख भन्दा बढी आर्थिक सङकलन भएको बताउनुभयो ।
महायज्ञको व्यवस्थापन र भारतको वनारसबाट पण्डितहरु आएर दैनिक पूजाँ भईरहेको छ । बिशेष महत्व बोकेको रुरुधामलाई महायज्ञले विश्वसामु परिचित बनाउनेमा आफूहरु ढुक्क रहेको संयोजक ज्ञवालीको विश्वास छ ।
यतिबेला सबै मिलेर महायज्ञलाई सफल बनाउने समय भएकाले महायज्ञलाई सहयोगका लागि पनि आग्रह गर्नुभयो । स्थानीयहरुको पनि उत्साहपूर्ण सहयोग र सहभागीता रहेको बताउँदै उहाँले रुरु क्षेत्रको विकास हुन सके जिल्लाले नै मुहार फेर्नेमा कुनै शङ्का नरहेको बताउनुभयो ।
महायज्ञ अवधिभर २१ करोड दिपप्रज्वलन,एक करोड पार्थिव शिवलिङ्ग पुजन
महायज्ञ अवधिभर २१ करोड दिपप्रज्वलन, एक करोड पार्थिव शिवलिङ्ग पुजन, ५१ हजार व्यक्तिहरुको तुलादान, लगायतका कार्यक्रमहरु गरीने छ । ‘कुनै पनि शुभकर्म गर्नका लागि संसारको तिर्थ भुमिका रुपमा रुरुक्षेत्रलाई लिइन्छ ।’
यसको व्यवस्थापन र भौतिक संरचनाको अत्यन्तै अभाव र कमी भएको हुनाले यसको विकासका लागि महायज्ञ कोशेढुङ्गा सावित हुने महायज्ञका मूल सङकल्पकर्ता बाल योगेश्वर महाराज श्रीले बताउनुभयो ।
‘अन्य तिनवटा धामहरु मुक्तिक्षेत्र,बराहक्षेत्र,पाशुपतक्षेत्रमा हजारौँ यात्रुहरुको भिड लाग्छ । तर रुरुक्षेत्रधाममा भने सुनसान सन्नाटा छाए जस्तो हुन्छ ।’ त्यस क्षेत्रलाई आध्यात्मिक केन्द्रको रुपमा विकास गरी लाखौ पर्यटकहरुलाई भित्र्याउन महायज्ञले ठु्लो सहयोग पु¥याउने महाराज श्रीले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘प्रयाग,कुरुक्षेत्र जस्ता तिर्थस्थलहरुमा सयौँ पटक स्नान गरेर प्राप्त हुने पुण्य कालिगण्डकी क्षेत्रमा एकपटक स्नान गरे प्राप्त हुन्छ,भनेर विभिन्न धार्मिक शास्त्र हरुमा पाइन्छ ।’ यो पवित्र स्थलको संरक्षण तथा विकासका लागि महायज्ञको आयोजना गरिएको महाराज श्रीले बताउनुभयो ।
महायज्ञमा पुग्ने भक्तजनलाई निःशुल्क बस सेवा
ऐतिहासिक महायज्ञमा पुग्नका लागि महायज्ञ मूल अयोजक समितिले विभिन्न स्थानबाट बस सेवाको व्यवस्था समेत मिलाएको छ ।
जसअनुसार खज्र्याङ्ग, चोरकाटे, तम्घास, रानीबास थोर्गा हुँदै रिडीका लागि बिहान ९ः०० बजे निःशुल्क बससेवा उपलब्ध गराएको छ । यस्तै छिमेकी जिल्ला पाल्पाबाट पनि बिहान ९ः०० बजे बस छुट्छ ।