
सुशीला रेग्मी


साउन १८,२०७७ पाल्पा : हेक्लाङ्गफाँट सिंचाई आयोजना जल उपभोक्ता समितिको कुलो पहिरो गएपछि कृषक समस्यामा परेका छन् । धान रोपेर सक्ने बित्तिकै वर्षाले कुलो पहिरो जादा रामपुर नगरपालिका १० स्थित हेक्लाङ्गफाँटमा सिंचाईको समस्या परेको छ ।
धान रोपेर हरियाली हुन नपाउँदै जगै सहित कुलो पहिरोले लगेपछि धान रोपाई गरेका खेत सुक्न थालेका छन् । आयोजनाको गहिरे पहिरो भन्ने स्थानमा माथिबाट खसेको ठुलो पहिरोले कुलोको १२ मिटर जग भत्काएको समितिका अध्यक्ष नोलराज भण्डारीले बताए ।

उनका अनुसार करिव २५ मिटर जति कुलोमा पहिरोले क्षति पु¥याएको छ । पहिरो पन्छाएर कुलो मर्मत तथा सम्भार गर्न करिव रु साढे तीन लाख रकम लाग्ने अनुमान गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
पहिरो पन्छाउने कार्यमा दुई दिन सम्म एक सय ५० जना मजदुरबाट काम भइसकेको छ भने काम सम्पन्न गर्न अझै एक सय जति मजदुर लाग्ने समितिले जनाएको छ ।
कुलोमा पहिरो खसेपछि पानी नै बन्द हुदा धान रोपाई गरेका खेत सुक्न थालेपछि कृषक मारमा परेको उपभोक्ता एकराज पाठकले जानकारी दिए। वर्ष दिन खाने खेतमा धान रोपाई सक्ने बित्तिकै पहिरोले कुलो लगेपछि कृषकलाई सिंचाई गर्ने अर्को माध्यम नहुदा समस्या परेको उपभोक्ता आनन्द भण्डारीले बताए ।
“धान रोपेर हरियो हुन नपाउँदै वर्षा परेपछि पहिरोले कुलो भत्कियो, जग नै भत्किएपछि मर्मत तथा सम्भार तत्काल सकेर पानी सुचारु गर्न समस्या परिरहेको छ, खेत सुक्ने र फुट्ने अवस्थामा छन्” उनले बताए ।
यस आयोजनाबाट हेक्लाङ्गफाँट क्षेत्रका एक सय ५५ हेक्टर क्षेत्रफलमा सिंचाई हुने गरेको छ । पुरानो कुलोको नामले प्रख्यात यस कुलो १६ औँ शताब्दिमा निर्माण भई हाल चार सय घरधुरीका उपभोक्ताले सिंचाई सुबिधा उपभोग गर्दै आइरहेको तुङ्गराज पौडेलले जानकारी दिए ।
झम्माखोलाको पाखापानी भन्ने स्थानमा बाँध बाँधेर सात किलोमिटर परबाट सिंचाईका लागि पानी ल्याइएको छ । पाल्पाको पश्चिममा अर्गली र पूर्वमा हेक्लाङ्गफाँट कुलोको नामले परिचित पुरानो कुलो रहेपनि केही भागमा अझै पक्की गर्ने काम बाँकी नै छ ।
यहाँका कृषकलाई धान रोपेर सकाएपनि कुलो कतिबेला भत्कन्छ भन्ने चिन्ताले रातदिन सताउने गरेको छ । हेक्लाङ्ग क्षेत्रमा प्रशस्त खेतीयोग्य जमिन छन् तर पटक पटक कुलो पहिरो जाने भत्किने समस्याले कृषकले लागत र मेहनत अनुसारको उत्पादन लिन भने सकिरहेका छैनन् ।