रामपुरको राधाकृष्ण मन्दिरमा भेटघाट तथा भजनकृतन

0
653

सुशीला रेग्मी

साउन १५ , २०७७ पाल्पा :राधाकृष्ण भक्ति समुह रामपुर नगरपालिका ५ बेझाड रहेको राधाकृष्ण मन्दिरमा साउन १५ को अवसर पारी ज्येष्ठ नागरिक, जनप्रतिनिधि तथा कर्मचारी संग भेटघाट तथा भजनकृतन कार्यक्रम भएको छ ।
समुहका अध्यक्ष शिवकुमारी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहेकी थिइन् । उपप्रमुख आचार्यले हिन्दु धर्मावलम्वीको पुजाआजा गर्ने थलोको रुपमा रहेको यस मन्दिरमा उमेर ढल्कदै गरेका ज्येष्ठ नागरिक तथा श्रद्धालु भक्तजनलाई पुजापाठ मात्र नभई जमघट गर्ने र जीवनलाई धार्मिक क्रियाकलापमा नै बिताउने माध्यम बनेको बताइन् ।
ज्येष्ठ नागरिक तथा भक्तजनको उपस्थिती बढ्दै गएपछि रामपुर नगरपालिकाले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरी विभिन्न सामग्री सहयोग गरेको उपप्रमुख आचार्यले बताइन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्यले बोल्दै हिन्दु धर्मशास्त्रमा मनको शान्तिका लागि धार्मिक मठ मन्दिर धेरैको रोजाईमा पर्ने बताएका छन् ।
संस्थाका सदस्य सरस्वति डोटेलको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन मन्दिर निर्माण समितिका सदस्य विन्दु श्रेष्ठले गरेकी हुन् ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक बीच भेटघाट गरी आज साउन १५ को अवसरमा खिर खाएर मनाइएको समुहका सदस्य पार्वती न्यौपानेले बताइन् ।
एकादशी पर्व पनि परेकाले मन्दिरमा भजनकृतन, कथावाचन, नाचगान गरी मनाइएको छ । रामपुर नगरपालिकाले अघिल्लो महिना ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरी बाद्यवादनका सामग्री, चार थान पर्दा, दुई थान कार्पेट, एक थान चुल्हो सहित सिलिण्डर ग्याँस, २५ थान कुशन, चार वटा चिसो पानी पिउने घैटा, फोहोर बक्स, एक वटा भगवान्को भोग लगाउने दराज, साथमा पानी तताउने कित्ले, गिलास लगायतका विभिन्न सामग्री सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

SHARE