रामपुर आर्यभन्ज्याङ्ग सडक अबरुद्ध

0
437

 

सुशीला रेग्मी

रामपुर (पाल्पा), ९ साउन
गएराती परेको अबिरल वर्षाले रामपुर आर्यभन्ज्याङ्ग सडक अबरुद्ध बनेको छ । सो सडकखण्डको पूर्वखोला गाउँपालिका १ सिलुवा स्थित चापगैरा र रामपुर नगरपालिका ४ स्थित गिजिनडाँडा क्षेत्रमा माथिबाट पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

डोजर लगाएर पहिरो पन्छाउने कार्य भइरहेको र पहिरो हटाउन आज दिनभर समय लाग्ने ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

यस्तैगरी तिनाउ गाउँपालिकाका विभिन्न सडक अबरुद्ध बनेका छन् । यहाँका अबिरल वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बढेको छ । वडा नं. १ को रानीबगियाँ झिंगामारा कचल मोटबाटो र दोभान कचल मोटरबाटो अबरुद्ध भएको छ ।

गाउँपालिका वडा नं. २ दोभानबजार र घौडेवासबीचमा पहिरो झरेको छ । पासाकुण्ठ र बुढा सडक वीचको मोटरबाटो वर्षाले अबरुद्ध बनेको छ । ओखलढुंगा अंकुसे धुस्तुङ्ग मोटरबाटो भने सुचारु नै रहेको छ ।

एक हप्ता देखि परेको वर्षाले यहाँका विभिन्न स्थानमा पहिरो खस्ने हुदा ग्रामीण सडक अबरुद्ध भएको छ । चुरे क्षेत्र र कमजोर भूभाग भएको कारण बाढी र पहिरोको जोखिम बढेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।

यस्तै सिद्धबाबा सडकखण्ड अन्र्तगत पाल्पा बुटवल सडकखण्डमा पर्ने डुम्रेको गौडेपुलमा माथिबाट पहिरो खसेर अबरुद्ध सडक अहिले सुचारु भएको छ ।

बिहान करिव ५ वजेको समयमा पहिरो खसेपछि अबरुद्ध बनेको सडक ९ वजेपछि मात्रै सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरिक्षक पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभएको छ ।

SHARE