मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम : बृद्धबृद्धाहरुलाई लौरो बितरण देखि सुकुम्बासीलाई घर सम्म

0
996

तिलाचन पाण्डे
साउन २,२०७७ गुल्मी : गरिबी न्यूनीकरण गर्नका लागि बिगत २ बर्षदेखि प्रदेश ५ का गाउँपालिकाहरुमा मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम लागू गरियो ।
यस कार्यक्रमले अति बिपन्न , बिद्यालय क्षेत्र बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयको पहुँचमा ल्याउँने र आय आर्जनमा बृद्धि गरी गरिबी न्यूनीकरण गर्ने मुख्य उद्येश्य रहेको छ ।
गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरुमा यो कार्यक्रम चलेको छ । यस कार्यक्रममा ५२ लाख रुपैँया मुख्यमन्त्री कार्यलयले सिधै गाउँपालिकाको खातामा पठाउँछ भने २ लाख रुपैँया प्रशासनीक खर्चमा खर्च गर्न सकिन्छ ।
यस कार्यक्रम अन्र्तगत बिपन्नहरुलाई आयआर्जनमा बृद्धि गर्ने गरी कार्य भइरहेको गाउँपालिकाहरुले दाबी गरेका छन् । आगामी आर्थिक बर्ष देखि यो कार्यक्रम प्रदेश ५ का सबै स्थानीय तहमा संचालन हुने मुख्यमन्त्रीको कार्यलयले जनाएको छ ।


गुल्मीदरवारमा एकल महिलालाई ड्राइभिङ तालिम
गुल्मीदरवार गाउँपालिकाले एकल मलिाहरुलाई ड्राइभिङ तालिम , बुटिक तालिम , हाउस वाइरिङ तालिम , पलम्बिङ तालिम , ढाका बुनाई तालिमहरु संचालन गरी सीप प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
यस्तै सोही कार्यक्रम अन्र्तगत बिपन्न तथा दलितहरुका लागि प्लाष्टिक टनेल , बीउँपल बितरण जस्ता कार्यहरु पनि गरिएको गाउँपालिकाले जनाएको छ । अति बिपन्न तीन जनालाई तीन वटा भैसी खरिद गरि आयआर्जनमा बृद्धि गर्ने गरी प्रदान गरिएको पाण्डेले बताए । गरीब र जनजातीहरका लागि जस्ता पाता पनि दिइएको सो कार्यक्रमका सहजकर्ता राजन घिमिरेले जानकारी दिए ।
यस्तै पानीलाई मुहान देखि मुख सम्म आइपुग्दासम्म कसरी शुद्धिकरण गर्ने र स्वच्छ सचेतना सम्बन्धी तालिम संचालन गरिएको पालिकाले जनाएको छ ।


सत्यवतीमा सुकुम्बासीलाई घर
सत्यवती गाउँपालिकाले सुकुम्बासी तीन जनालाई घर निर्माण गरिदिएको छ ।
पलिका भित्र घर जग्गा नभएका अस्लेवा , हसरा र जोहाङका तीन जनालाई घर निर्माण गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादब भण्डारीले जानकारी दिए ।
यस्तै अस्लेवा र जोहाङमा ब्यबसायीक रुपमा अदुवा खेती , हसरामा मौरीपालन तालिम र बिभिन्न उपकरणहरु प्रदान गरिएको भण्डारीले बताए ।
यस्तै किसानहरुले उत्पादन गरेको दुधलाई बजारीकरण गर्न र संकलन गरी राख्नका लागि चिलिङ भ्याट खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।
चन्द्रकोटमा शौचालय र खानेपानी ट्याङकी निर्माण
चन्द्रकोट गाउँपालिकाले यस कार्यक्रम अन्र्तगत जनता प्राथमिक बिद्यालयमा शौचालय निर्माण गरेको गाउँपालिकाका अध्यक्ष द्धोर्ण खत्रीले जानकारी दिए ।
यस्तै वडा नं ५ र ७ मा खानेपानीका ट्याङकी निर्माण , वडा नं १ मा बाख्रा बितरण र कृषि औजारहरु बितरण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै सयपत्री फूललाई ब्यबसायीकरण गर्नका लागि हर्राचौर र रुपाकोटमा नर्सरी गरिएको हो ।
यस्तै गाउँपालिका भित्र रहेका असाहयहरुलाई औषधी बितरण , क्वारेन्टाइन र आइसोलेशन निर्माणका लागि रकम खर्च गरिएको खत्रीले बताए ।


धुर्कोटमा अभिभाबक बिहीन बालबच्चाका लागि पोशाक र स्टेशनरी
धुर्कोट गाउँपालिकाले गाउँपालिका भित्र अभिभाबक बिहीन बालबच्चाहरुका लागि पोशाक , स्टेशनरी र झोला बितरण गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।


यस्तै वडा नं १, ३ र ७ का अति बिपन्न परिवारका लागि बाख्रा बितरण , खोर निर्माण , बृक्षारोपण र बिपद कोषमा रकम खर्च गरिएको गाउँपालिकाले जनाएको छ ।


मदानेमा बाख्रा र घाँसको बीउँ
मदाने गाउँपालिकाले अति बिपन्नहरुलाई बाख्रापालनका माध्यमबाट आय आर्जनमा बृद्धि गर्न सकिने भन्दै बाख्रा र घाँसको बीउँ बितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।
अग्लुङ, मलागिरी र पुर्कोटदहका अतिबिपन्नहरुका लागि घाँसको बीउँ संगै बाख्रा बितरण गरिएको हो । बाख्रापालनका लागि त्यस क्षेत्र उपयुक्त भएकाले र ब्यबसायीक रुपमा बाख्रापालन गरि बिपन्नहरुको आयआर्जनमा बृद्धि गर्न सकिने गाउँपालिकाले दाबी गरेको छ ।


रुरुक्षेत्रमा ८० बर्ष काटेकालाई रेडियो र लाइट
रुरुक्षेत्र गाउँपालिकामा ८० बर्ष उमेर काटेकाहरुलाई लाइट र रेडियो बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए ।
यस्तै गाउँपालिका भित्र रहेका बोटे माझी ,गन्र्दभ लगायत बिपन्न १५९ जनालाई निशुल्क स्वास्थ्य बीमा , बर्थिङ सेन्टरहरुमा बेबीवार्मर लगायत उपकरण ,पानीका मुहान संरक्षण , कुुलो निर्माण , एक हजार महिलाहरुलाई सेनेटरी प्याड , मास्क र स्यानीटाइजर बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिका भित्र कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बिपन्न बिद्यार्थीहरुका लागि दूई सेट पोशाक बितरण गरेको गाउँपालिकाले जनाएको छ ।

कालीगण्डकीमा एकल महिलालाई घर
कालीगण्डकी गाउँपालिका वडा ६ खडगकोटमा एकल महिलालाई घर निर्माण गरिदिएको छ । सोही स्थानमै अन्य २ एकल महिलाहरुलाई २ वटा भैसी खरिद गरिदिएको कार्यक्रमकी सहजकर्ता लक्ष्मी न्यौपानेले जानकारी दिइन् ।
यस्तै वडा नं ३ जयखानीमा बिदेशबाट फर्किएका र गाउँका युवाहरुलाई टिमुर खेती , कागती खेती र लोकल कुखुरा पालनका लागि रकम खर्चिएको गाउँपालिकाले जनाएको छ । यस्तै दुग्ध ब्यबसायीहरुलाई बिभिन्न उपकरण , सिकर्मीहरुलाई बिद्युतिय हाते आरा लगायत बिभिन्न तालिमहरु संचालन गरेको गाउँपालिकाले जनाएको छ।
इश्माका कुमाललाई १८ सय कुखुराका चल्ला
इश्मा गाउँपालिकाले कुमारहरुलाई १८ सय कुखुराका चल्ला बितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।
यस्तै एकल महिलाहरुका लागि मौरीघार बितरण र बेमौशमी तरकारी खेतीमा बजेट खर्च गरेको गाउँपालिकाले जनाएको छ ।
मालिकामा जनजाती लक्षित कुखुरापालन
मालिका गाउँपालिकाले वडा नं २ दर्लिङमा जनजातीहरुलाई ब्यबसयाीयक रुपमा कुखुरा पालन कार्य गरेको गाउँपालिकाका प्रबक्ता एवंम वडा नं ६ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
यस्तै एकल महिलाहरुका लागि बाख्रापालन , होमस्टे निर्माण र जेष्ठ नागरिकहरुका लागि लौरो ,रेडियो र लाइट बितरण गरेको गिरीले बताए ।
यस्तै छत्रकोट गाउँपालिकामा बाख्रापालन , पोखरी निर्माण , साना सिंचाई , आरन सुधार र बिपन्न ४ जनालाई घर निमार्ण गरिदिएको कार्यक्रमकी सहजकर्ता सुधा ज्ञवालीले जानकारी दिइन् ।

SHARE