साउन १ , २०७७ गुल्मी : कोरोना माहामारीका बिच उच्च सर्तकता अपनाउँदै रेसुंगामा एक महिने साउने मेला सुरु भएको छ ।
उच्च सर्तकताका साथ सामाजिक र भौतिक दुरी कायम राख्दै पुजा आजा लगायतका कार्यहरु भइरहेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।
अघिका बर्षहरुमा हुने भजन प्रतियोगिता , तिजगित प्रतियोगिता भने नहुने भुसालले जानकारी दिए ।
एक महिनासम्म चल्ने मेलामा रेसुंगामा रहेको पोखरीमा साउन महिनाभर स्नान गर्नाले अहिले सम्म गरिएका पापहरु नष्ट भई पुन्य प्राप्त हुने धार्मिक बिश्वास रहदै आएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।
मेला अवधिभर धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पूजा संञ्चालन लगायतका विविध कार्यक्रमहरुको पनि आयोजना गरिएको भुसालले बताए । सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुंगा धार्मिक,पौराणिक ऐतिहासिक एवं प्राकृतिक सौन्दर्यले भरीपूर्ण नेपालको तपोभूमी मध्ये एक हो । यसको विशाल र सुन्दरताले गर्दा यसले पर्यटकीय क्षेत्रका रुपमा पनि ख्याति पाउदै आएको छ । समुन्द्र सतह बाट ८ सय मिटर देखि २ हजार ३ सय ५० मिटर सम्म रहेको छ ।
यस पहाडको नाम रेसुंगा रहनुमा बिभिन्न कारण र किम्बदन्ती हरु छन् । पहिला त्रेता युगमा महर्षि ऋष्य श्रृङले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङा नामाकरण भएको हो भन्ने भनाई कत्तिको छ भने कसैको भनाई यो क्षेत्र मगरात क्षेत्र भएकोले यो मगर भाषामा रेस भनेको नुहाउनु मा उपसर्ग जोडेर रेसुंगा नामाकरण रहेको हो भन्ने भनाइ पनि कसैकसैको छ ।
साथै श्रीकृष्णले रेसुंगामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुन डाँडामा बसी श्रवण गर्दथे र रुरु क्षेत्रका तपसी हरुको बर्षे आश्रम रेसुंगा नै थियो भनेर भनिन्छ । महाप्रभु लक्ष्मी नारायण बाट निर्मित पोखरी हिन्दु धर्मालम्वी हरुका लागि सबै तीर्थ नदिको जल निर्मित पोखरी हो । यस ठाउँमा हरिशयनी,हरीबोधनी एकादशी र साउन महिना भरी स्नान गर्नेहरुको भीड लाग्दछ । यस पोखरीमा नुहाउनाले पापहरु नष्ट भई पुन्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।
रेसुङाको शिरमा निर्मित ४० फिट अग्लो भ्यू टावर चढेर दृश्य अवलोकन गर्दा साच्चै नै स्वर्गमा रहेको अनुभूति गर्न सकिन्छ यस बाट हेर्दा गुल्मीका अधिकाँस भू भाग लगायत बाग्लुङ,स्याङ्जा,अर्घाखाँची पाल्पा र प्युठान सम्मको स्थान हरु स्पष्ट रुपले देख्न सकिन्छ । यसको महत्व र ब्यापकतालाई बुझेर प्रचार प्रसार र संरक्षणका निम्ति केही समय यता बिभिन्न क्षेत्रबाट सक्रियता देखाईएको साथै समग्र विकासका लागि गुरु योजना तयार कार्य सम्पन्न भईसकेको छ । यसलाई पर्यटकिय रुपमा बिकास गनृका लागि रेसुंगा नगरपालिकाले बिभिन्न योजनाहरु बनाउँदै आएको छ ।