रामपुरमा पन्ध्र शैयाको आयुर्वेद तथा प्राकृतिक अस्पताल बन्दै

0
481

 

सुशीला रेग्मी

रामपुर (पाल्पा), २९ असार ः स्वास्थ्य सेवा प्रवाहलाई फराकिलो बनाउन पाल्पाको रामपुर नगरपालिकामा पन्ध्र शैयाको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण हुदैछ ।

नगरपालिकाको वडा नं ५ मा रहेको आयुर्वेद औषधालयको स्तरोन्नती गरी सेवा क्षेत्र बढाउन भवन निर्माण कार्य सुरु गरिएको छ । २०७६ पुष २५ गते सम्झौता गरी शिवशक्ति कन्ट्रक्सन प्रालीमार्फत निर्माण प्रक्रिया अगाडी बढाइएको छ ।

संघीय सरकारको भवन निर्माण अन्र्तगत रु ४८ लाख ७९ हजार ५०० को लागतमा निर्माण हुने भवन २०७८ भदौ २४ गते भित्रमा सम्पन्न हुने रामपुर आयुर्वेद औषधालयका प्रमुख कविराज चेमप्रकाश पोखरेलले जानकारी दिनुभयो । बन्दाबन्दीले गर्दा भने भवन निर्माण कार्यमा समस्या परेको उहाँको भनाई छ ।

सो भवन १२ रोपनी आठ आना जग्गामा निर्माण हुदैछ । नयाँ बन्ने भवनको जग खन्ने काम भने सम्पन्न भइसकेको छ ।

आयुर्वेद अस्पतालमा नवौँ तह सम्मका डाक्टरको दरबन्दी रहनेछ । जसमा चार जना डाक्टर, चार जना कविराज, दुई जना बैध, प्राबिधिक, कार्यालय सहयोगी लगायतका नेपाल सरकारले मापदण्ड गरेका कर्मचारीबाट सेवा दिइनेछ ।

पाल्पामा छ वटा आयुर्वेद औषधालयका शाखा र एक सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । जसअन्र्तगत रामपुर नगरपालिका भित्र दुई वटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एक वटा रहेका छन् । औषधालयमा कविराज र बैध एक÷एक, प्राबिधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ ।

आयुर्वेदक तथा प्राकृतिक अस्पतालबाट ईमर्जेन्सी, एक्सरे, ल्याव लगायतका सेवा संचालन गरिने पाल्पा आयुर्वेद औषधालयका बैध निरिक्षक यज्ञप्रसाद गैरे बताउनुहुन्छ । औषधालयमा ओपिडि, जनरल, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिक लगायतका सेवा प्रवाह भइरहेको छ ।

SHARE