गाउँमै औजार मर्मत सम्बन्धी तालिम पाएपछि समय र पैसा दुबैको बचत

0
347

तिलाचन पाण्डे
असार २४,२०७७ गुल्मी : यहाँका कृषकहरुलाई हातेट्याक्टर बिग्रिए बुटवलबाट मर्मतका लागि मिस्त्री बोलाउनुपर्ने बाध्यता थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीले साना औजार मर्मत सम्बन्धी तालिम दिएपछि बुटवलबाट मर्मतका लागि मिस्त्री बोलाउनुपर्ने समस्या समाधान भएको बताउँछन् तालिममा सहभागी युवा भोजेन्द्र खत्री ।
खत्रीले तालिमले सीप पनि प्रदान गरेको र समय र पैसा दुबै बचत भएको बताए । अब सामान्य औजारहरु आफूहरुले मर्मत गर्न सक्ने भएकाले बुटवलबाट औजार मर्मतका लागि मिस्त्री बोलाउन नपर्ने उनले बताए ।
यस्तै तालिममा सहभागीहरुले तालिमको अबधि छोटो भएपनि उपलब्धी मुलक भएको र आगामी दिनहरुमा लामो समय अबधिको तालिम राख्नका लागि सुझाब दिएका छन् ।
किसानहरुलाई औजारमात्र बितरण गरेर नहुने भन्दै उनीहरुलाई मर्मत सम्बन्धी तालिम पनि आवश्यक रहेकाले तालिम प्रदान गरिएको परियोजनाका प्रमुख नारायण काफलेले जानकारी दिए ।


औजारहरु सामान्य रुपमा बिग्रिएपनि बुटवल लगायतका स्थानहरुबाट मर्मतका लागि बोलाउँदा खर्च बढी लाग्ने , मर्मतका लागि मान्छे आउन पनि समय लाग्ने भएकाले ग्रामीण स्तरमै तालिमको ब्यबस्था गरिएको काफलेले दाबी गरे ।
तालिम मात्र लिएर नहुने भन्दै तालिममा सिकेको सीपलाई ब्यबहारमा नै लागु गर्न मालिका गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष टीकाबहादुर जिशीले आग्रह गरे ।
ब्यबसायीक कृषि र पशुपालन मार्फत आर्थिक स्तरमा सुधार गर्न सकिने भन्दै युवाहरुलाई ब्यबसायीक रुपमा नै काम गर्न उनले आग्रह गरेका छन् । ब्यबसायीक रुपमा कृषि र पशुपालन गर्ने युवाहरुलाई गाउँपालिकाले अनुदान संगै उपकरणहरुको ब्यबस्था गर्ने उनले बताए ।
यस्तै मकै जोन संचालक समितिका संयोजक लोकहरी कुँवरले तालिममा सिकेको सीपलाई ब्यबहारमा परिणत गर्न नसके तालिमको अर्थ नहुने बताए ।
सीपको प्रमाणपत्रलाई सजाएर राखेर मात्रै नहुने भन्दै आगामी दिनहरुमा लामो समय अबधिको तालिमको आयोजना गरिने उनले बताए । तालिममा इश्मा , मालिका मदाने , धुर्कोट गाउँपालिकाका र रेसुंगा नगरपालिकाका १५ जना कृषकहरु सहभागी थिए ।

SHARE