सुशीला रेग्मी
रामपुर (पाल्पा), २३ असार : टुकीको भरमा जीवनयापन गर्दै आइरहेका निस्दी गाउँपालिका ४ मित्याल क्षेत्रका स्थानीय हावाबाट बिद्युत् सेवा उपभोग गर्न पाउँदा दङ्ग छन् ।
राष्ट्रिय प्रशारण लाईनको पहुँच नपुगेको यस क्षेत्रमा हावाबाट बिजुली निकालेर बिद्युत् सेवा उपभोग गर्न पाउँदा स्थानीय झममाया सुनारी खुशी छन् । टुकीको भरमा जीवनयापन गर्दै आएकी उनी हावाबाट बिजुलीको सुबिधा उपभोग गर्न पाइन्छ भन्ने कहिल्यै सोचेका थिइनन् ।
“दुर्गममा रहेको यस गाउँमा बिजुली बत्ति बाल्न पाइन्छ भन्ने आशा गरेको थिइन तर गाउँमै हावाबाट बिजुली उत्पादन गरी घर घरमा बाल्न पाउँदा अहिले गाउँ नै झिलिमिलि बनेको छ” उनले भने ।
अहिले मोबाईल चार्ज गर्न, रेडियो टेलिभिजन बजाउन, खाना पकाउन, लेखपढ गर्न, बत्ति बाल्न सजिलो परेको छ । मित्यालमा दुई बर्ष अघि नै परीक्षणको रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो । अहिले मित्यालको रुक्सेभञ्याङ्गमा सोलारबाट १० र हावाबाट १५ किलोवाट बिजुली थपिएको छ ।
बिद्युत् सेवा उपभोग गर्न पाएपछि यहाँका स्थानीयको दैनिकी सहज बनेको छ । स्थानीय स्तरमै हावाबाट निकालिएको बिद्युत् सेवा मित्यालको काफल, मौलाथर, रुक्सेभञ्याङ्ग र झ्याल्टुङ्गका नागरिकले प्रयोग गर्दै आएका छन् ।
दुईवर्ष अघि परिक्षणको रुपमा निकालिएको बिद्युत् सफल भएपछि यहाँका स्थानीय थप बिद्युत् निकाल्न कस्सिएका हुन् । हावाबाट बिजुली निकाल्न गाउँपालिका र बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको रु दुई करोड १५ लाख बराबरको रकम खर्च भइसकेको सौर्य तथा वायु उर्जा उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र सुनारी बताउछन् ।
मित्याल आसपासका एक सय ४६ घर तथा गाउँपालिका कार्यालय, प्रहरी कार्यालय, विद्यालयले हावाबाट निकालिएको बिद्युत् उपभोग गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउछन् ।
मित्यालको रुक्सेभञ्याङ्गडाँडामा दुई वटा ठूला पङ्खा घुमिरहेका हुन्छन् । सोलार प्यानल समेत राखेर दुवैबाट बिजुली निकालिएको छ । सुरुमा हावाबाट बिजुली निकाल्ने भन्दा धेरैले अबिश्वास गरेका थिए । मित्यालमा निकालिएको हावाबाट बिजुली सफल भएपछि यसले राम्रो चर्चा पाएको छ ।