धुर्कोट रजस्थल जीरो होम डेलिभरी र खरका छानामुक्त वडा घोषणा

0
487

हुमाकान्त पोखरेल
असार १८,२०७७ गुल्मी : धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थललाई जीरो होम डेलिभरी अर्थात घरमा शून्य प्रसुती र खरका छानामुक्त वडा घोषणा गरिएको छ ।
बिहीबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडालाई जीरो होम डेलिभरी तथा खरका छानामुक्त वडा भएको घोषणा गरे । जीरो होम डेलिभरीको लागि आवश्यक सबै मापदण्ड पुरा भएपछि वडालाई घरमा शून्य प्रसुती वडा घोषणा गरिएको हो ।
त्यसका लागि आवश्यक जनशक्ति, स्वास्थ्य सामग्री, मेसिन तथा औजार–उपकरण लगायतका सबै आवश्यक सामग्री धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा रहेकोले वडालाई घरमा शून्य प्रसुती घोषणा गरिएको हो ।
पछिल्ला तीन आर्थिक बर्षमा उक्त स्वास्थ्य चौकीमा कुल दुई सय ४६ महिलाले प्रसुती सेवा लिएका छन् । जसमध्ये आर्थिक बर्ष २०७४÷७५ मा वडा नम्बर ६ रजस्थलका ३१ जना र ५९ जना अन्य वडाका गरी कुल ९० जना महिलाले प्रसुती सेवा लिएका छन् ।
आ.व. ०७५÷७६ मा कुल ८७ जना महिलाले सेवा लिएमध्ये रजस्थलका ३३ जना र अन्य वडाका ५४ जना रहेका छन् । भने आ.व. ०७६÷७७ मा सेवा लिएका कुल ६९ जनामध्ये रजस्थलका ३३ र बाँकी ४६ जना अन्य वडाका रहेको धुर्कोट प्राथमिक स्वास्थ्य चौकीका सिनियर अहेव बाबुराम कुँवरले जानकारी दिए ।
वडाभित्रका कुल १३५ घरमा खरको छानो हटाई टिनको छानो लगाएसँगै रजस्थल खरका छानामुक्त वडा घोषणा भएको छ । स्थानीय तहको निर्वाचन हुँदाकै बर्ष गाउँपालिकालाई खरका छानामुक्त बनाउने अभियानअन्तरगत बिहीबार रजस्थललाई पनि खरका छानामुक्त वडा घोषणा गरिएको वडाध्यक्ष कृष्ण नेपालीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोखरेलले रजस्थलमा थप १५ शैयाको अस्पताल बन्दै गरेकोले गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा सबैभन्दा ठुलो र सुविधासम्पन्न अस्पताल धुर्कोटकै हुने र त्यो गाउँपालिकाका लागि गर्वको बिषय रहेको बताए ।
गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले प्रसुती सेवाको लागि निःशुल्क एम्बुलेन्सको सुविधा गराइएको, आगामी आर्थिक बर्षबाट सबै वडामा प्रसुती सेवा संचालन गर्ने, खानेपानी, कृषि तथा रोजगारी गाउँपालिकाको प्राथमिकतामा रहेको जस्ता बिषयमा जानकारी दिएका थिए । कार्यक्रमकै अवसर पारेर वडालाई जीरो होम डेलिभरी बनाउन सहयोग गरेको भन्दै महिला स्वास्थ्य स्वयम् सेविका, प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लगायतलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ ।

SHARE