डोजर प्रयोग कम गर्न ५० लेन्थवर्कर

0
617
????????????????????????????????????

टोपलाल अर्याल, गुल्मी भदौ २२ ।
इस्मा गाउँपालिकाले डोजरको प्रयोग कम गर्न ५० जना लेन्थवर्कर (सडक हेरालु) भर्ना गरेको छ । बर्षातले क्षती पुराएका सडक संजाल नियमित गर्न लेन्थवर्कर नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

गाउँपालिकाले गत बर्षदेखि २० जना लेन्थवर्करलाई बर्षभर नै नियमित सडक मर्मतका लागि राखेको छ । यो बर्ष थप ३० जना भर्ना गरिएको छ । गाउँपालिकामा लेन्थवर्करको लागि ६४ जनाले निवेदन दिएका थिए । अव ५० जना लेन्थवर्कर मार्फत आइतबारदेखि सडक मर्मतको काम सुरु गर्ने योजना रहेको बस्नेतले बताए ।

बाटो र आटो दुबै चल्ने

इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बिपन्न परिवारको जिबिकोपार्जनसंगै सडक नियमित बनाउने योजना अगाडी बढाएको बताए । गत बर्ष दशैमा मात्रै सडक मर्मत गर्दा गाउँपालिकाले २० लाख बढी खर्च गरेको थियो ।

ठुला मेसिनको प्रयोगले एउटा ब्यक्तिलाई मात्रै फाइदा हुने भएकाले लेन्थवर्करको संख्या बढाएको बिष्टले बताए । ‘लेन्थवर्कर मार्फत काम गर्दा बाटो र आटो दुवै चल्ने सोचेका छौै,’उनले भने,‘गत बर्ष मेसिन प्रयोग गर्दा २० लाख खर्च भो, अहिले त्यो पैसा ५० परिवारसम्म पुग्ने छ ।

उनले लेन्थवर्करको अवधि थप गरेर ठुला मेसिनको प्रयोगलाई निरुत्साहित गर्दै अधिकतम रोजगार सृजना गर्ने गरि सडक मर्मत गर्ने बताए ।

धेरै बिदेशबाट फर्किएका

गाउँपालिकाले नियुक्त गरेका ५० जना लेन्थवर्करमा ५२ प्रतिशत बिदेशबाट फर्किएका छन् । भारतसंगै खाडी मुलुक मलेसिया, कतारमाबाट फर्किएका युवाहरुले गाउँपालिकामा आवेदन दिएका थिए ।

‘परिवारसंगै काम गर्ने अवसर पाएँ, म जस्तै थुप्रै युवाले परदेशको गुलाम गरेका छन्, मलेसियाबाट फर्केका इस्मा गाउँपालिका ४ का इश्वर बिष्टले भने,‘चाड पर्वको मुखमा ५० जनाको घरमा गाउँपालिकाले खुसी दिएकोे छ ।’ नियुक्ति लिएका ५० जनामा १४ जना महिला रहेका छन् ।

पुरस्कार र दण्डको ब्यावस्था

इस्मा गाउँपालिकाले लेन्थवर्करको लागि दण्ड र पुरस्कारको ब्यास्था गरेको छ । सडक मर्मतमा नियमित, अनुशासन र तोकिएको काम समयमै पूरा गर्ने लेन्थवर्करलाइ पुरस्कृत गरिने गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।

उनले गत बर्ष पनि तीन जनालाई पुरस्कृत गरिएको बताउँदै राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र ठग्ने तथा मदिरा सेवन गर्नेलाई कारबाही गर्ने गरि पदमुक्त गरिने जानकारी दिइन् । साथै लेन्थवर्कर कर्मचारी प्रति उत्तरदायी बनाइएको छ ।

जनप्रतिनिधीसंग भोटको धम्की दिएर काम नगर्ने प्रवृतिको अन्त्य गर्न अहिले सवै कामको व्यावस्थापन कर्मचारीले गर्ने खत्रीले बताइन् ।

पहिलो चरणमा तीन महिना

इस्मा गाउँपालिकाले पहिलो चरणमा तीन महिना लेन्थवर्कर भर्ना गरेको गाउँपालिकाका प्रवक्ता गनु प्रसाद अधिकारीले जानकारी दिए । उनले सुरुमा मुख्य सडक र त्यसपछि शाखा सडक मर्मत गर्न अहिले लेन्थवर्करको सेवा अवधि तीन महिना बनाइएको बताए ।

तीन महिनापछि कामको प्रभावकारीता मुल्यांकलन गरेर थप निर्णय गरिने अधिकारीले बताए । एक जनाको लागि अहिले १३ हजार पाँच सय मासिक पारिश्रमीक तोकिएको छ । कामको प्रभावका आधारमा १० प्रतिशतसम्म पारिश्रमीक थप गरिने प्रवक्ता अधिकारीले बताए ।

SHARE