रामपुरको काँसजरी गाउँमा खानेपानीको सुबिधा पुग्यो : स्थानीयमा छायो खुसी

0
596

सुशीला रेग्मी

रामपुर (पाल्पा), १७ असार :  वर्षौदेखि खानेपानीको समस्या भोग्दै आइरहेका रामपुर नगरपालिका ४ काँसजरी गाउँमा अहिले खानेपानी सुुबिधा पुगेको छ ।
रामपुर नगरपालिका र रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको समन्वयमा पहिलो पटक गाउँमा खानेपानी लगिएको छ । अहिले गाउँमा धारा जडान गरेर पानी उपभोग गर्न पाउँदा यहाँका स्थानीय खुशी छन् ।

नगरपालिकाको रु पाँच लाख सहयोग र खानेपानी आयोजनाले प्राबिधिक सेवा सुबिधा दिएपछि पानी ल्याउन सफल भएको रामपुर नगरपालिका ४ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सिमादेवी राना बताउँछिन् ।

नगरपालिकाको केन्द्र नजिकै रहेको काँसजरीका स्थानीयको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गर्दथ्यो । गाउँमा दिगो खानेपानीको प्रबन्ध नहँुदा पिउनेपानी देखि गाईभैसीलाई खुवाउन, नुहाउन धुन, कुवा, खोल्सी तथा खोलामा पानी खोजेरै दैनिकी गुजारा चलाउनु पर्ने समस्या थियो । अहिले घर घरमा धारा जडान गरेर पानी उपभोग गर्न पाउँदा भिमकुमारी सोती दङ्ग छन् ।

“घरमा धारा जडान भएर पानी आएपछि पानी बोक्ने समय अन्यत्र काममा खर्चन पाइएको छ, प्रशस्त पानी उपभोग गर्न पाउँदा हामीलाई ठुलो सुबिधा पुगेको छ” सोतीले भनिन् ।

अमृता मल्लको अधिकांशको समय पानी बोक्नमै बित्ने गथ्र्यो । घरायसी कामधन्दा, बालबच्चाको रेखदेख, मेलापात निकै कष्ट संग धान्न बाध्य उहाँ घर घरमा धारा जडान गरेर पानी आउँछ भन्ने आफूले कहिल्यै नसोँचेको बताउछिन् ।

रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले तीन दिन सम्म प्राबिधिक परिचालन गरेर गाउँका २५ धरधुरीका स्थानीयलाई खानेपानी सुबिधा उपलब्ध गराएको आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउँछन् ।

“स्थानीयको सहमतीमा गाउँका केही घरहरु एक अर्कासंग जोडिएकाले दुई देखि तीन घर सम्मलाई एक धारा जडान वितरण गरेका छौँ भने टाढा एक्लै रहेका घर घरमा छुट्टाछुट्टै धारा जडान गरिदिएका छौँ, वस्ती बढ्दै गएको खण्डमा आवश्यकता अनुसार हामी खानेपानी उपलब्ध गराउनेछौँ” अध्यक्ष श्रेष्ठले भने ।

निशुल्क रुपमा खानेपानी घर घरमा धारा जडान गरेर उपभोग गर्न पाउँदा यहाँका स्थानीय खुशी भएका छन् । पानी उपभोग गरेरबापत मासिक शुल्क भने स्थानीय उपभोक्ताले बुझाउनुपर्ने हुन्छ ।

न्युनतम शुल्क दुई सय ७५ (दश हजार लिटर सम्म पानी उपभोग गरेमा) तोकिएको छ । दश हजार लिटर माथि देखि २० हजार लिटर सम्म प्रति युनिट रु ४२ र रु २० हजार लिटर देखि माथि पानी उपभोग गर्नेले प्रति युनिट रु ६३ शुल्क तोकिएको छ ।

नुहाउन, धुन, पिउनेपानी, गाईभैसीलाई खुवाउनुका लागि उपभोग गर्नुका साथै स्थानीयले करेसाबारीमा सिंचाई गर्न थालेका छन् ।

एक गाग्री पानी लिनका लागि एक घण्टा सम्मको समय खर्चन बाध्य यहाँका स्थानीयले घरको आँगनमा जडान भएको धारामा पानी आउन थालेपछि गाउँको मुहार नै बदलिएको गायत्री श्रेष्ठ बताउँछिन् ।

यसभन्दा अघि गाउँमा लिफ्टिङ प्रणालीमार्फत खानेपानी आपूर्ति गर्न मूल कुवा नहुँदा समस्या परेको र रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनाको पानी बस्तीमा लैजान पर्याप्त रकम नहँुदा पानी पु¥याउन सकिएको थिएन । काँसजरी क्षेत्रका २५ घरधुरीका करीब दुई सय स्थानीय यस खानेपानी सुबिधा प्रत्यक्ष लाभान्वित भएका छन् ।

नगरकै ठुलो खानेपानी आयोजनाबाट हालसम्म रामपुर नगरपालिका वडा नं ४, ५, ६ र ७ का दुई हजार आठ सय ७८ धरधुरीका नागरिक लाभान्वित भएका छन् । घरमा एक धारा जडान गरेबापत रु २० हजार रकम आयोजनालाई बुझाउनुपर्नेछ ।

SHARE