रामपुर नगरपालिका ३ नम्बर वडा कार्यालयमा तालाबन्दी

0
641

सुशीला रेग्मी

रामपुर (पाल्पा), १६ असार : पाल्पाको रामपुर नगरपालिका वडा नं ३ को कार्यालयमा नेपाल तरुण दलले तालाबन्दी गरेको छ । नेपाल तरुण दल रामपुर नगरपालिका ३ वडा कार्यसमितिले सोमवार बिहान करिव १० : ३० वजेको समयमा वडा कार्यालयमा ताला लगाएको हो ।

नेपाल सरकार भूमि सम्बन्धी समस्या समाधान आयोगको पत्र अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वस्तीहरुको विवरण शुल्क लिएको र समयमा नै कर्मचारी कार्यालयमा नगएको भन्दै तरुण दलले कार्यालयमा ताला लगाएको जनाएको छ ।

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वस्तीहरुको विवरण शुल्क नगरपालिकाले नलिने भनेपनि वडा कार्यालयले रु एक सय १० शुल्क सेवाग्राही संग लिएको र समयमा नै कर्मचारी कार्यालयमा नपुग्दा सेवाग्राहीलाई समस्या भएकाले वडा कार्यालयमा तालाबन्दी गर्नु परेको तरुण दल वडा सचिव प्रकाश ज्ञवालीले जानकारी दिए ।

संचार माध्यममार्फत प्रसारण भएको सुचना, नगरपालिका तथा वडा कार्यालयको सुचना पाटीमा टाँस गरिएको सुचनाको आधारमा रामपुर नगरपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित समुदाय निवेदन लिन वडा कार्यालयमा पुगिरहेका छन् ।

नगरका अन्य वडाहरुले लक्षित समुदायलाई राहत स्वरुप निशुल्क निवेदन संकलन गरिरहेको समयमा रामपुर नगरपालिका ३ नम्बर वडा कार्यालयले भने भूमिहिनहरु संगै निवेदनको नाममा राजश्व लिएको प्रति हाम्रो ध्यानाकर्षण भएको तरुण दलले ध्यानाकर्षण पत्रमा जनाएको छ ।

साथै कार्यालयमा कर्मचारी समयमा नै नआउने र आएपनि कार्यालय समय अवधिभर नबस्ने गरेकाले पटक पटक नागरिकले सहज सेवा लिनबाट वन्चित हुनु परेको तरुण दलले जनाएको छ ।

यस्ता क्रियाकलाप बिरुद्ध नेपाल तरुण दल रामपुर ३ कार्यसमितिले घोरभर्सना गर्दै यी र यस्ता विषयमा छलफल नहुदा सम्म वडा कार्यालय बन्द गर्न र कर्मचारीलाई कडा भन्दा कडा कारबाहीको माग राख्दै ध्यानाकर्षण गर्दछौ भनी ध्यानाकर्षण पत्रमा जनाइएको छ । ध्यानाकर्षण पत्रलाई बेवास्ता गरेमा अर्को चरणमा कडा रुपमा आन्दोलनका गर्ने बताइएको छ ।

वडा अध्यक्ष दिनेशकुमार खनालले कार्यालयमा तालाबन्दी गरिएको कुरा सामाजिक संजाल (फेसबुक) मार्फत आफूले बिहान १० वजेर ५ मिनेट जाँदा मात्र जानकारी पाएको बताए ।
उनले ताला लगाइएको समयमा भने आफू घरमै रहेको र आफूलाई यस बारेमा तरुण दलले जानकारी नगराइकन सिधै कार्यालयमा आएर ताला लगाएको बताउनुभएको छ । उहाँले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वस्तीहरुको विवरण शुल्क कर्मचारीले लिएको आफूलाई कुनै जानकारी नभएको र आईतवार मात्र जानकारी पाएपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यलाई यस सम्बन्धमा जानकारी गराएको बताए ।

शुल्क लिइएका व्यक्तिलाई सो रकम फिर्ता गर्न प्रमुख प्रशासकिय अधिकृतले निर्देशन दिएपछि आफूले पनि वडाका कर्मचारीलाई रकम फिर्ता गर्न अनुरोध गराएको वडा अध्यक्ष खनाल बताउँछन् ।

यस सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बिहान करिव साढे दश वजेको समयमा वडा कार्यालयमा तालाबन्दी भएको भन्ने जानकारी आएको र दुबै पक्षलाई राखेर छलफल गर्ने तयारीमा रहेको बताए ।

शुल्क लिएको भन्ने आफूले आईतवार नै जानकारी पाए लगत्तै वडा अध्यक्षलाई शुल्क नलिन अनुरोध गरेको र लिइएका सेवाग्राहीलाई तत्काल शुल्क फिर्ता गर्न निर्देशन दिएको उनले बताए ।

कर्मचारी समयमा नै नगएको भन्ने विषयलाई पनि मध्यनजर गर्दै यस विषयमा छलफल हुने र सबै कर्मचारीले तोकिएको समय अवधीभर कार्यालय समयमा रहेर काम गर्नुपर्ने उनको भनाई छ ।

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वस्तीहरुको विवरण सोमवार सम्म वडा वडामा लिएर मंगलवार नगरपालिका कार्यालयमा पेश गर्नुपर्नेछ । अहिले ३ नम्बर वडा कार्यालयमा सेवा लिन गएका सेवाग्राही कार्यालयमा तालाबन्दी भएपछि सेवा पाउनबाट वन्चित भएका छन् ।

SHARE