असार १५ धान दिवस : पाल्पामा ४० प्रतिशत धान रोपाई

0
948

सुशीला रेग्मी

रामपुर (पाल्पा), १५ असार : पाल्पा जिल्लामा धान रोपाईको चहलपहल बढ्न थालेको छ । असार सुरु देखि नै पानी परेपछि कृषकले धान रोप्न थालेका छन् । जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ ।

हालसम्म जिल्लाको माथागढी गाउँपालिकामा सबैभन्दा धेरै धान रोपाई भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् । उनका अनुसार यस क्षेत्रमा मात्रै करिव ५० प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भइसकेको छ ।

तिनाउँ गाउँपालिकामा करिव ४० प्रतिशत रोपाई सम्पन्न भएको छ । रम्भा गाउँपालिकाको हुँगी, हेक्लाङ् लगायतका क्षेत्रमा करिव ३० प्रतिशत रोपाई भएको छ । त्यसैगरी तानसेन नगरपालिकाको तल्लो क्षेत्र माडी, अर्गलीफाँट, पूर्वखोला, बगनासकालीमा धान रोप्ने कार्य कृषकले सुरु गर्न थालेका छन् ।

बिगतका वर्षमा जिल्लामा मनाउँदै आएको राष्ट्रिय धान दिवस भने यो वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको कृषि ज्ञानकेन्द्र प्रमुख अर्यालको भनाई छ । उनले राष्ट्रिय धान दिवसका अवसरमा सम्पूर्ण कृषकमा शुभकामना दिदै उत्पादन बढाउन उन्नत प्रबिधिका वीउको प्रयोग गरी खेती गर्न सुझाव दिए ।
यसवर्ष १७ औँ राष्ट्रिय धान दिवसका लागि जिल्लामा रु दुई लाख रकम आएपनि कोरोनाको कहरका कारण वजेट फिर्ता भएको बागवानी विकास अधिकृत सन्तोष पाठक बताउँछन् । ‘धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने यो वर्षको धान दिवसको नारा रहेको छ ।

मकैबाली भएका खेतहरुमा भने मकै पाकेपछि असारको तेस्रो हप्तापछि मात्रै रोपाई सुरु गरिन्छ । कतिपय आकाशको पानीको भरमा मात्र रोपाई हुने खेतमा भने प्रयाप्त वर्षा परेपछि धान रोपिने गरिन्छ ।

तानसेन नगरपालिकाको माडीफाँट क्षेत्रका धेरैजसो स्थानमा धान रोपाई भएको तानसेन नगरपालिका ९ दमकडा बस्ने नारायण अर्याल बताउँछन् । यो वर्ष वर्षा छिटो सुरु भएकाले अघिल्ला वर्षको तुलनामा आठ दश दिन अगावै धान रोपाई गरेको उनले बताए ।

जिल्लाको धान उत्पादनका लागि मुख्य क्षेत्र मानिएको रामपुर नगरपालिकामा भने धान रोपाई सुरु हुन सकेको छैन । खेतमा मकैबाली रहेको र पानी प्रयाप्त नपरेकाले रोपाई चहलपहल सुरु नभएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउँछन् । उनका अनुसार रामपुर नगरपालिका क्षेत्रमा करिव एक हजार आठ सय हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ ।

जिल्लाको दोस्रो बालीका रुपमा रहेको धान खेती आठ हजार ६२० हेक्टर जमिनमा गरिदै आइएको छ । रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, हुँगी, दोभान, हेक्लाङ, पूर्वखोला क्षेत्र धान उत्पादनका हिसाबले मुख्य पकेट क्षेत्र मानिन्छ ।
कृषकले उत्पादन बढी लिने उद्धेश्यले रामधान, साबित्री, हाइब्रिड, सुख्खा, साँवा मन्सुली लगायतका धान लगाउदै आएका छन् । धान उत्पादनका हिसाबले पाल्पा जिल्ला अग्रणी जिल्लामा रुपमा रहेपनि यहाँका समथर खेतीयोग्य जमिनहरुमा पछिल्लो समय घर तथा भवन धमाधम बन्दै जान थालेपछि उत्पादन भने कम छ ।

पछिल्लो समय कृषि ज्ञानकेन्द्र तथा स्थानीय तहले उन्नत जातका धानका वीउ कृषकलाई वितरण गर्न थालेपछि रैथाने वीउ भने जिल्लामा लोप हुदै गएका छन् । बासमती, झिनुवा, थापाचिनी, बर्मेली, जर्नेली, अनदी लगायतका धान लगाउने कृषक भने कमै लगाउने गरेको भेटिन्छन् ।

SHARE