गुल्मीमा कलमी बिरुवाको माग भएका कारण सुन्तला कागतीका बिजु बिरुवाले बजार पाएनन्

0
1463

तिलाचन पाण्डे
असार १२, २०७७ गुल्मी  : यो समय सुन्तला कागती लगायत फलफूलका बिरुवाहरु रोप्ने समय हो ।
बर्षायाम लागेसंगै बिरुवाहरु रोपणका लागि उपयुक्त मानिन्छ । गुल्मीका बिरुवा नर्सरी धनीहरुले भने जिल्लाका बिरुवाहरु खरिद नगरि अन्य जिल्लाबाट बिरुवा ल्याएको भन्दै गुनासो गर्न थालेका छन् ।
गुल्मी जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यन्वयन इकाई मार्फत सुन्तला जोन कार्यक्रम जिल्लाको धुर्कोट ,मदाने कालीगण्डकी चन्द्रकोट, गुल्मीदरवार, छत्रकोट गाउँपालिका , मुसिकोट र रेसुंगा नगरपालिकामा सुन्तला जोन कार्यक्रमको पकेट क्षेत्र घोषणा भई सकेको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा लामो समयदेखि फलफूल लगायत बिरुवारुको नर्सरी गर्दै आएका बीरबहादुर कार्कीले जिल्लाका नर्सरीमा उत्पादित फलफूलका बिरुवाहरु कार्यलयले नलिई अन्य जिल्लाबाट बिरुवाहरु ल्याएको भन्दैे गुनासो गरे ।
उनको नर्सरीमा अहिले सुन्तलाका बिरुवा ३० हजार , कागतीका १२ हजार ,अनारका २ हजार लगायत मौसम, टिमुर, किबी, चियापत्ती, कफीका बिरुवाहरु रहेका छन् ।
कार्कीले २०६४ सालमा घाँसका बिरुवा उत्पादन गरेर कृषि पेसा अंगाले र कृषि क्षेत्रलाई व्यवसायीक रुपमै अगाडी बढाउने उधेश्यले बिभिन्न जातका बिरुवाहरु नर्सरीबाट उत्पादन गर्दै आएका हुन् ।
५ रोपनी भन्दा वढि जग्गामा बिरुवा उत्पादन गर्दै आएका कार्कीको नर्सरीमा बिक्री गर्न मिल्ने खालका करिब ५० हजार भन्दा वढि बिरुवा तयार भएको र उक्त बिरुवाहरु बिक्री गर्न समस्या रहेको बताए ।


राजनीतिसँगै कृषि पेशालाई अगाडी बढाउन बिरुवाको नर्सरी स्थापना गरेका कार्की हाल नेकपा गुल्मीका सचिब पनि हुन्् । नर्सरीलाई धेरै संख्यामा उत्पादन गर्ने सोच रहेपनि बजारको समस्याका कारण अन्योलमा परेको उनले दुखेसो पोखे ।
यो संगै जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनीमा पनि सुन्तला कागतीको नर्सरी छ ।
अर्बेनीमा कोशप्रसाद न्यौपानेले बिगतका बर्षहरुमा सुन्तला कागतीका ५ हजार भन्दा बढी बिरुवाहरु बिक्री बितरण गर्दै आएका थिए । उनको नर्सरीमा पनि सबै बिजु बिरुवाहरु उत्पादन हुन्छन् ।
जिल्लामा १६ हजार बिरुवाको माग
गुल्मी जिल्लामा अहिले १६ हजार सुन्तला तथा कागतीका बिरुवाहरुको माग रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , कार्यन्वयन इकाई गुल्मीका प्रमुख नारायण काफलेले जानकारी दिए । उनले जिल्लामा माग भएका सबै बिरुवाहरु बिजु नभई कलमी भएको बताए ।
गुल्मी जिल्लामा रहेका सबै नर्सरीहरुमा बिजु बिरुवाहरु रहेको र कृषकको मागमा कलमी बिरुवा भएको काफलेले बताए । उनले कृषकको मागमा कलमी भएकाले माग बिपरीत आफूहरु जान नसक्ने दाबी गरे ।
छिटो उत्पादन दिने भएकाले कलमी बिरुवाको माग
कलमी बिरुवाले छिटो उत्पादन दिने भएकाले कृषकको माग कलमी बिरुवामा भएको कार्यलयले जनाएको छ ।
कलमी बिरुवाले माटो र मल सहजै लिन सक्ने , छिटो उत्पादन दिने र रोग प्रतिरोधात्मक भएकाले बिजु बिरुवामा भन्दा कलमी बिरुवामा नै कृषकको माग बढी भएको कार्यलयले जनाएको हो । अब लगाउने बिरुवाहरुमा बिजु भन्दा कलमीनै लगाउन उपयुक्त हुने काफलेले सुझाब दिए ।
१४ हजार कलमी बिरुवा जिल्लामा भित्रिदै
गुल्मीका कृषकहरुको कलमी बिरुवामा बढी माग भएपछि १४ हजार कलमी बिरुवा अन्य जिल्लाहरुबाट गुल्मी ल्याइने भएको छ ।
राष्ट्रिय फलफूल बिकास केन्द्रले तोकेका बिभिन्न ठाउँहरु , पाल्पा , कृतिपुर र बनेपाबाट १४ हजार कागती सुन्तलाका कलमी बिरुवाहरु जिल्लामा ल्याइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वय इकाई गुल्मीका बरिष्ठ कृषि बिकास अधिकृत नारायण काफलेले जानकारी दिए ।
आगामी बर्षदेखि जिल्लामै उत्पादन गरिने
अहिले जिल्लामा कलमी बिरुवाहरु नभएकाले अन्य जिल्लाहरुबाट ल्याइएको कार्यलयले जनाएको छ ।
आगमी बर्षदेखि जिल्लामै कलमी बिरुवाहरुको नर्सरी गरिने काफलेले जानकारी दिए । जसका लागि कृषक समूह र सहकारीहरुको माध्यमबाट नर्सरी गरि जिल्लामा आवश्यक पर्ने बिरुवाहरु उत्पादन गरिने उनले दाबी गरे ।

SHARE