सुशीला रेग्मी
रामपुर, १२ असार २०७७ : पाल्पाका सामुदायिक वनले ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अवलम्वन गरी वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेका छन् ।
सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडी सारेकाले पनि सोही अनुरुप सामुदायिक वनले धमाधम पर्यटकीय क्षेत्र विकासका काममा जोड दिएका छन् ।
जिल्लाका तानसेन, तिनाउ, रामपुर क्षेत्रका राजमार्ग र बजार क्षेत्रसँग नजिकका वनमा पर्यापर्यटन विस्तारको काम धमाधम भइरहेको छ । जिल्लाका एक दर्जन सामुदायिक वनले पर्यटन विकास गर्न पूर्वाधार विकासका काम गरिरहेका छन् ।
तिनाउ गाउँपालिका २ स्थित बदेलपोखरी सामुदायिक वनले पर्यापर्यटनका लागि १५ घरमा घरबास (होमस्टे) चलाउने तयारीका लागि डिभिजन वन कार्यालय पाल्पाबाट रु तीन लाख प्राप्त भएको छ ।
सो रकम मगरी संस्कृतीका कपडा, बाद्यवादनका सामग्री खरिद गर्ने, घरबास चलाउने १५ घरमा अर्गानिक वस्तु उत्पादन गर्ने लगायतका योजना बनाइएको उपभोक्ता चोमलाल गिरी बताउँछन् ।
कूल एक सय ८४ दशमलव ९६ हेक्टर क्षेत्रफलको वन पाँच ब्लकमा विभाजन गरिएको छ । सो वनसँग एक सय दुई घरधुरी आबद्ध छन् जसमा महिला दुई सय ५७ र पुरुष दुई सय ७५ गरी पाँच सय ३२ जनसंख्या छ । यो वन सिद्धार्थ राजमार्ग क्षेत्रमा रहेकाले पनि पर्यापर्यटन अन्र्तगत घरबास सञ्चालन गरी आयआर्जन वृद्धि गर्न उपभोक्ता कस्सिन थालेका हुन् ।
तिनाउ गाउँपालिकाकै वडा नं ३ दोभान स्थित भुतखोला सामुदायिक वनले पर्यटकीय आकर्षणको केन्द्रका रुपमा रहेको भुतखोलाको सिद्ध सरोवर ताल संरक्षण गर्ने, धार्मिक पर्यटन क्षेत्र बनाउने काम गरिरहेको छ । यस आर्थिक वर्षमा जिल्ला वन कार्यालयबाट रु दुई लाख र तिनाउ गाउँपालिकाले रु पाँच लाख रकम सहयोग गरेको अध्यक्ष दिकुमारी रोकाले बताइन् ।
भुतखोला क्षेत्रमा पहिरो गएको ठाउँमा पर्खाल लगाउने, शौचालय, रेलिङ्ग सहितको भ¥याङ, बसोबासस्थल बनाउने काम भएको छ । गाउँपालिकालाई नै पर्यटकिय गन्तव्यस्थलका रुपमा विकास गर्ने लक्ष्यसाथ जलचर संरक्षण गर्न भुतखोलामा वनको वार्षिकउत्सवका दिन हरेक वर्ष दुई हजार माछाका भुरा छाड्ने काम भइरहेको अध्यक्ष रोकाले बताइन् ।
जिल्लामै उत्कृष्ट वनका रुपमा पुरस्कृत हुन सफल यो वन भौगोलिक हिसाबले पर्यटन क्षेत्रका लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो । सो वनको ८४ हेक्टर क्षेत्रफल छ भने ४६ घरधुरी आबद्ध छन् ।
डिभिजन वन कार्यालयले तानसेन नगरपालिका ८ मा अवस्थित कण्ठेसरा सामुदायिक वनमा गतवर्ष विनियोजित रु पाँच लाख वजेटबाट अजिङ्गर पार्क, झरना तथा मूर्ति निर्माण गरिएको छ । तानसेन नगरपालिकाको श्रीनगरडाँडाका कैलाश वसन्त सामुदायिक वन र श्रीनगर गणेश सामुदायिक वन पनि पर्यटनका लागि प्रचुर सम्भावना बोकेको छ ।
सदरमुकाम तानसेन बजारको माथिल्लो भागमा रहेको यस वनमा घुम्न जानेको चहलपहल ठुलो रहन्छ । यहाँ वनभोज तथा अवलोकनका निम्ति विभिन्न जिल्लाबाट आउने गरेका छन् । यहीँबाट सदरमुकाम तानसेन बजारका अलवा विभिन्न स्थानको रमणिय दृश्यावलोकन गर्न सकिन्छ । श्रीनगर गणेश सामुदायिक वनले गतवर्ष उद्यान निर्माण गरेको छ ।
जिल्लाको पूर्वी भेग रामपुर नगरपालिकामा रहेका रानीवन तथा बडवान सामुदायिक वन, राम्चे सामुदायिक वन र ज्याग्दी वनले पर्यटन पूर्वाधारका काम थालनी गरेको छ । वन क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न विभिन्न पूर्वाधार निर्माणका कार्यहरु गरिरहेका छन् ।
रामपुर नगरपालिका ४ स्थित रानीवन तथा वडवान सामुदायिक वनले खोप्टार क्षेत्रमा पार्क, शहीद लखन थापाको शालिक निर्माण, शौचालय निर्माण, खानेपानीको व्यवस्था गरेको छ । कालीगण्डकी करिडोरले घेरेको यो क्षेत्रमा पानीको फोहोरा, पौडी पोखरी, वनभोजस्थल निर्माण लगायतका योजना बनाइएको छ ।
चिडियाखाना निर्माण गरेर पर्यटकिय गन्तव्यस्थलका रुपमा विकास गर्ने कार्ययोजना तयार पारिएको वन समुहका सचिव हमिद अलिमियाँ बताउँछन् । अहिले पार्क घुम्न आउनेका लागि बेन्च निर्माण लगायतका पूर्वाधार विकासका कामहरु हुदैछ ।
एक सय तीन हेक्टर क्षेत्रफलमा फैलिएको वनको चार हेक्टर क्षेत्रफललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको छ । विपन्न वर्गको आयस्तर उकास्न दश हेक्टर क्षेत्रफलमा अम्रिसो लगाइएको छ । वनमा पर्यटन पूर्वाधार निर्माणका लागि गत वर्ष एक सामुदायिक वन एक उद्यान कार्यक्रम अन्र्तगत प्रदेश सरकारबाट रु चार लाख रकम सहयोग प्राप्त भई पोखरी निर्माणको काम सम्पन्न भएको छ । चार वटा ब्लकमा विभाजित यस वनमा पाँच सय ५५ घरधुरी उपभोक्ता आबद्ध छन् ।
रामपुरकै वडा नं ५ स्थित राम्चे सामुदायिक वनले करिव पाँच हेक्टर क्षेत्रफल छुट्टाएर पर्यटन विकासका काम गरिरहेको छ । समुद्री सतहबाट करिव पाँच सय मिटरको उचाईमा रहेको वन ९९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
यहाँ हाल प्रदेश सरकारले छुट्याएको वजेटले बाल उद्यान, सुविधा सम्पन्न दृश्यावलोकन गर्न मिल्ने स्तम्भ, मोटरबाटोको स्तरोन्नति, पानीको फोहरा र बगैंचा लगायतका पर्यटन विस्तारको भएको वन उपभोक्ता समितिका अध्यक्ष कृतिनाथ श्रेष्ठले बताए ।
वनको पुर्वाधार विकासका लागि प्रदेश सरकारले रु ५० लाख वजेट विनियोजन गरेको छ । विनियोजित ५० लाखमध्ये आठ लाख ‘कन्टेन्जेन्सी’ कटाएर ४२ लाखको टेन्डरमा मोबाइल निर्माण कन्स्ट्रक्सन कम्पनीले काम अघि बढाएको हो ।
वन क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु ११ करोड पाँच लाख ३७ हजार बराबरको वजेट लाग्ने प्राबिधिक अनुमान गरिएको वन उपभोक्ता समितिका कोषाध्यक्ष काशिनाथ रेग्मीले बताए । यस वनमा तीन सय २१ घरधुरीका उपभोक्ता आबद्ध छन् ।
यहाँ दुई दशक अघि वनभोजस्थल निर्माण, राममन्दिर स्थापना गरिएपछि वनलाई पर्यटकिय क्षेत्रका रुपमा अगाडी बढाइएको हो ।
कालीगण्डकी उपत्यका अवलोकनका लागि पाँच तलाको भ्युटावर निर्माण गरिएपछि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रम, वन समुहको भेला, बैठक, गोष्ठी संचालन गर्नका लागि चार सय मानिस अट्ने क्षमताको सभाहल पनि छ ।
यहाँ मृग, खरायो, कालिज, चितुवा लगायतका वन्यजन्तु, चराचुरुङ्गीहरु छन् । आयआर्जन बढाउन वनको तीन हेक्टर क्षेत्रफलमा अम्रिसो खेती गरिएको वन समुहका सचिव राधिका भण्डारीले बताइन् ।
कालीगण्डीको तटमा रहेको रामपुर नगरपालिका ६ स्थित ज्याग्दी वनलाई उद्यानका रुपमा विकास गरिदैछ । हेटौडाको शहीद स्मारक पार्कको झ—झल्को दिने गरी वनस्पतिक उद्यान निर्माण कार्य थालिएको छ । छब्बिस हेक्टर क्षेत्रफलमा फैलिएको सो वनको चार हेक्टर क्षेत्रफलमा चिडियाखाना, बाल उद्यान सहितको पार्क बनाउन थालिएको रामपुर नगरपालिका ६ का अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।
उनका अनुसार रामपुर नगरपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रु चार लाख सहयोगमा काम सुरु गरिएको छ । पार्क निर्माणका लागि नगरपालिकाले यस आर्थिक वर्षमा रु पाँच लाख रकम विनियोजन गरेको थियो । सो रकममध्ये रु एक लाख पार्क भ्रमणमा खर्चिएको र बाँकी रकमले डिपिआरको काम तयार पारेको ज्याग्दी बृहत् पार्क विकास समितिका सचिव बासुदेव ढकालले बताए ।
यहाँ विभिन्न जातका चराचुरुङ्गी, जडिबुटी रहेकाले पनि वन क्षेत्रलाई पार्कका रुपमा विकास गरिन लागिएको हो ।
पाल्पामा सात सय दुई सामुदायिक वन, एक सय १४ कबुलियती वन, चार वटा धार्मिक वन र ४० भन्दा बढी निजि वन रहेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरलले बताए । डिभिजन वन कार्यालयले एक सामुदायिक वन एक उद्यान विस्तार कार्यक्रममा विभिन्न वनलाई सहयोग गर्न थालेपछि पर्यापर्यटन उपभोक्ताले जोड दिएका छन् ।
उद्यान बन्ने खालका मानिसको बढी आवजावत हुने, सडक तथा बजार क्षेत्रको नजिक रहेका वन क्षेत्रमा पर्यापर्यटन विकासको काम भइरहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख डा.मोहनप्रसाद पौडेल बताउँछन् ।
“वनका रुख विरुवा नहटाएर पर्यटकिय क्षेत्र बनाउने कार्य जिल्लाका सामुदायिक वनले गरिरहेका छन्, पर्यटकिय क्षेत्रका रुपमा पूर्वाधार बढाउँदै जादा वनले राम्रो आयआर्जन गर्ने अवसर प्राप्त गर्नेछन्” प्रमुख पौडेलले भने ।
केही निजि वन तथा कबुलियती वनले पनि पर्यटन विस्तारका कामहरु गरिरहेका छन् । निस्दी गाउँपालिका वडा नं ३ स्थित झिरुवासको कबुलियती वन अहिले पाल्पा जिल्लाकै उत्कृष्ट पर्यटकिय गन्तव्यस्थलका रुपमा चिनिन पुगेको छ ।
इलामको चियाबगानको झ झल्को दिने कबुलियती वनमा अम्रिसो खेती गरिन थालेपछि स्थानीयले राम्रो आयआर्जन गर्ने अवसर पाएका छन् । यो क्षेत्रमा हरेक समय अवलोकन जाने, वनभोज गर्न जानेको आकर्षण बढ्दो छ ।