धुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

0
492

हुमाकान्त पोखरेल,
असार १०,२०७७ गुल्मी :गुल्मीको धुर्कोट गाउँपालिकाले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । बुधबार सम्पन्न गाउँसभाले सर्वसम्मतले नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रममा खासगरी कोरोना भाइरसले पारेको प्रभाव न्यूनिकरण, रोजगारी, हाटबजार, कृषि र कृषिजन्य सामग्रीको उत्पादनमा जोड दिइएको छ भने अबको केहि महिना भित्रमा गाउँपालिकालाई खरको छानामुक्त गाउँपालिका घोषणा गर्ने जनाइएको छ ।
एक घर एक धारा कार्यक्रमअन्र्तगत दुई हजार दुई सय ४१ घरमा स्वच्छ पिउने पानीको व्यवस्था भएको, बर्वोटमा रहेको शहिद शम्सेर बहादुर खत्री स्मृती पार्क निर्माणको अन्तीम चरणमा रहे तथा कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागु गरीएको जनाइएको छ ।

कृषि घुम्ति हाटबजार संचालन

‘एक बार एक वडा कषि धुम्ती हाटबजार’ भन्ने नाराका साथ गाउँपालिकाको केन्द्र बर्वोटमा हाटबजार सञ्चालनमा ल्याईने र उक्त कार्यक्रम प्रत्येक वडामा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बाँझो जग्गा खन्नेलाई आगामी बर्ष पनि अनुदान दिने कार्यलाई निरन्तरता दिने तथा खाद्य र तरकारी बालिको रैथाने बीउ उत्पादनमा जोड दिनेगरी नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । कोरोना भाइरसका कारण रोजगारी गुमाएर आउनेहरुलाई स्वरोजगार बनाउनका लागि विभिन्न अनुदान, तालिम तथा प्रविधिको व्यवस्था गर्ने, सुन्तला, कागती लगायत अमिला जातका फलफूल, अदुवा, कफि, केरा, खुर्सानी तथा नगदेवालीलाई प्रवद्र्धन र विकास गर्ने, वडा नं. १ नयाँगाउँमा सुन्तला नर्सरीको श्रोत केन्द्र स्थापना गरिने जनाइएको छ ।
गाउँपालिकालाई दुई वर्ष भित्रमा अण्डामा आत्मनिर्भर बनाउने, घाँस खेतीलाई व्यवसायिकरण गर्ने योजना पनि गाउँपालिकाले लिएको छ । भने विभिन्न बन्यजन्तुबाट कृषकको बालीनाली जोगाउनको लागि गाउँपालिकाले सहयोग गर्ने जनाइएको छ ।

गाउँपालिका केन्द्रमा औद्योगिक ग्राम

धुर्कोटले गाउँपालिकाको केन्द्रमा औद्योगिक ग्राम स्थापना गर्नेगरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । परम्परागत रुपमा सञ्चालनमा रहेका आरन, सिलाई कटाई, जुत्ता सिलाई व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने, विभिन्न सिप भएका व्यक्तिहरुबाट उत्पादित वस्तुहरुको बजारीकरणका लागि गाउँपालिकाको केन्द्रमा कोसेली घर स्थापना गर्ने, परम्परागत रुपमा रहेको सिप प्रयोग गरी उत्पादित वस्तुहरु जस्तै डोका, नाम्ला, नाङलो, डाला, मान्द्रा, दाम्ला, हला, जुवा लगायत स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादित सम्पूर्ण सामग्री गाउँपालिकाले खरिद गरी कोसेली घर मार्फत बजारिकरण गर्ने लक्ष्य गाउँपालिकाको छ । त्यस्तै विभिन्न पर्यटकिय क्षेत्रहरुको विकास र प्रचार गरी समृद्ध गाउँपालिका निर्माण गर्ने अध्यक्ष पोखरेलले बताए ।

आवासविहिन विद्यार्थीहरुको जिम्मा गाउँपालिकाले लिने

पाञ्चायन माध्यमिक विद्यालयमा नमुना कृषि फर्म सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार गरी आगामी शैक्षिक शत्र देखि लागु गर्ने, अभिभावक बिहिन विद्यार्थीहरुका लागि आवासिय विद्यालय र कक्षा १२ सम्म अध्ययनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिने जनाइएको छ ।
विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरुलाई नजिकको विद्यालयमा गाभ्ने, विद्यालयमा छात्रामैत्री संरचना निर्माण तथा गाउँपालिकाको केन्द्रमा पुस्तकालय स्थापना गर्ने गाउँपालिकाले जनाएको छ । धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउने कार्य आगामी आ.व.बाट सुरुवात गर्ने, गर्भवतीको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, जैसिथोक र वाग्ला स्वास्थ्य चौकीमा आगामी आ.व. बाट सुरु गर्ने गाउँपालिकाले जनाएको छ ।

तीन बर्षमा सबै घरमा खानेपानीको धारा

गाउँपालिकाले आगामी तीन वर्षमा प्रत्येक नागरीकको घरमा पिउने पानी पु¥याउने लक्ष्य लिएको छ । त्यस्तै गाउँपालिकाका सम्पूर्ण वडाहरुमा पूर्ण सरसफाई अभियान सञ्चालन गरी पूर्ण सरसफाई टोल घोषणा गर्ने, वडा नं. ४ मा ल्यान्ड फिल्ड साइट निर्माण गरी सञ्चालनमा ल्याउने गरी नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष पोखरेलले बताए ।
गाउँपालिकाभित्र हुने विभिन्न कला, भाषा, संस्कृति, मठ, मन्दिर संरक्षण प्रवद्र्घन र विकासका लागि विभिन्न कार्यक्रहरु सञ्चालन गर्ने, धुर्कोट कोटमा निर्माणधिन संग्राहालयमा गाउँपालिकाको पहिचान झल्किने ऐतिहासिक महत्वका वस्तुहरु प्रर्दशन गर्ने पनि गाउँपालिकाको योजना रहेको छ ।

ग्रामीण यातायात सेवालाई प्रभावकारी बनाउनका लागि गाउँपालिका केन्द्रसम्म बाह«ै महिना सवारी साधन चल्न सक्ने बनाउने, गाउँपालिकाभित्र बसपार्क स्थापना गर्ने कार्यको सम्भाव्यता अध्ययन गर्ने, दैनिक रुपमा सवारी साधन चल्ने सडकहरुमा सडक मजदुरको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । त्यस्तै छल्दी, पनाहा र चिली खोलाका सम्भावित ठाउँहरुमा सिँचाई आयोजना संचालन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

सार्वजनिक स्थानमा विरुवाहरु लगाउने

सार्वजनिक स्थलमा वर, पिपल र स्ंवामीका विरुवाहरु रोपण गरी वातावरण संरक्षण गर्ने, स्वच्छ धुर्कोट अभियानका लागि सरसफाई कोष स्थापना गर्ने, फोहोरको पुन प्रयोगमा जोड दिने कार्यक्रम ल्याउने, सार्वजनिक कार्यक्रमहरुमा प्लाष्टीक प्रयोगलाई बन्देज लगाउने र एक टोल एक सुख्खा पोखरी निर्माणकार्यलाई निरन्तरता दिने तथा भएका पोखरीहरुको संरक्षण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशिराम पन्थीले जानकारी दिए ।
कोरोना भाईरसलाई समुदाय स्तरमा फैलिन नदिन विभिन्न सचेतना कार्यक्रम गर्ने, विपद् प्रतिकार्य योजना तयार गरी लागु गर्ने, विपत्को पूर्व तयारीका लागि आवश्यक सामाग्री व्यवस्थापन गर्ने, प्रत्येक उपभोक्ता समितिहरुलाई योजनाको सुरुमा अभिमुखिकरण र योजनाको अन्तमा अनिवार्य खर्च सार्वजनिक गर्ने व्यवस्था लागु गर्ने, दोस्रो चौमासीक सम्ममा ७० प्रतिशत सम्म आयोजनाको निर्माण कार्य सम्पन्न गरी भुत्तानी भएका वडा मध्येबाट उत्कृष्ट वडालाई प्रोत्साहन स्वरुप रु. १० लाख बजेट व्यवस्थापन गर्ने, असारे विकासको परम्परालाई अन्त्य गर्न दोश्रो चौमासिकसम्म काम सुरु नगर्ने योजनाहरु खारेज गर्ने लक्ष्य पनि गाउँपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।
उक्त नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि गाउँपालिकाले ४९ करोड ६० लाख १८ हजार २९१ बराबरको बजेट पनि प्रस्तुत गरेको छ ।

SHARE