पाल्पामा २५ प्रतिशत धान रोपाई

0
312

सुशीला रेग्मी

रामपुर (पाल्पा) ९ असार :  पाल्पा जिल्लामा हालसम्म २५ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ । पर्याप्त सिंचाईको सुबिधा भएका खेतहरुमा कृषकले धान रोपाई सुुरु गर्न थालेका छन् ।

हालसम्म जिल्लाको माथागढी गाउँपालिकाको झडेवा क्षेत्रमा सबैभन्दा धेरै धान रोपाई भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा मात्रै करिव ५० प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भइसकेको छ ।

रम्भा गाउँपालिकाको हुँगी, हेक्लाङ् लगायतका क्षेत्रमा करिव २५ प्रतिशत रोपाई भएको छ । त्यसैगरी तानसेन नगरपालिकाको तल्लो क्षेत्र माडी, अर्गलीफाँट, तिनाउँ गाउँपालिकाको दोभान क्षेत्रमा पनि धान रोपाईको चहलपहल सुरु भएको छ । पूर्वखोलामा फ्याट्टफुट्ट धान रोप्ने कार्य कृषकले सुरु गर्न थालेका छन् ।

खाली रहेका, सिंचाईको प्रयाप्त सुबिधा भएका, खोला खेतहरुमा कृषकले धान रोपाईको काम सुरु गर्न थालेको कृषि ज्ञानकेन्द्रका प्रमुख अर्यालले बताए ।

मकैबाली भएका खेतहरुमा भने मकै पाकेपछि असारको तेस्रो चौथो हप्ताबाट मात्रै रोपाई सुरु गरिन्छ । कतिपय आकाशको पानीको भरमा मात्र रोपाई हुने खेतमा भने प्रयाप्त वर्षा परेपछि धान रोपिने गरिन्छ ।

जिल्लाको दोस्रो बालीका रुपमा रहेको धान खेती आठ हजार ६२० हेक्टर जमिनमा गरिदै आइएको छ । रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, हुँगी, दोभान, हेक्लाङ, पूर्वखोला क्षेत्र धान उत्पादनका हिसाबले मुख्य पकेट क्षेत्र मानिन्छ ।

कृषकले उत्पादन बढी लिने उद्धेश्यले रामधान, साबित्री, हाइब्रिड, सुख्खा, साँवा मन्सुली लगायतका धान लगाउदै आएका छन् । धान उत्पादनका हिसाबले पाल्पा जिल्ला अग्रणी जिल्लामा रुपमा रहेपनि यहाँका समथर खेतीयोग्य जमिनहरुमा पछिल्लो समय घर तथा भवन धमाधम बन्दै जान थालेपछि उत्पादन भने कम छ ।

पछिल्लो समय कृषि ज्ञानकेन्द्र तथा स्थानीय तहले उन्नत जातका धानका वीउ कृषकलाई वितरण गर्न थालेपछि रैथाने वीउ भने जिल्लामा लोप हुदै गएका छन् । बासमती, झिनुवा, थापाचिनी, बर्मेली, जर्नेली, अनदी लगायतका धान लगाउने कृषक भने कमै लगाउने गरेको भेटिन्छन् ।

SHARE