सुशीला रेग्मी
रामपुर (पाल्पा), ७ असार :कृषि ज्ञानकेन्द्र पाल्पाले अनुदानमा कृषकलाई मौरीघार वितरण गरेको छ ।
चालू आर्थिक वर्षको मौरी पकेट विकास कार्यक्रम अन्तर्गत कृषकलाई मौरीघारसहित मौरीपालन व्यवसायका लागि आवश्यक पर्ने विभिन्न सामग्री उपलब्ध गराइएको छ ।
मौरी पकेट क्षेत्र रहेको तानसेन नगरपालिका ८ स्थित मणि मौरीपालन पकेट समिति र बगनासकाली गाउँपालिका ८ बराङ्दी स्थित हिमाली मौरीपालन पकेट संचालन समितिलाई घार तथा मौरीजन्य सामग्री हस्तान्तरण गरिएको छ ।
मणि मौरीपालन पकेट समितिलाई तीन सय ३२ र हिमाली मौरीपालन पकेट संचालन समितिलाई एक सय दुई वटा मौरीघार साथमा मौरीजन्य सामग्री सहयोग गरेको कृषि ज्ञानकेन्द्रका वागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।
उनका अनुसार कृषि ज्ञान केन्द्र यस आर्थिक वर्षमा हालसम्म चार सय पाँच वटा घार, औषधी तथा अन्य मौरीजन्य सामाग्री वितरण गरेको छ । जसबाट ५२ जना कृषक लाभान्वित भएका छन् ।
पछिल्लो समय पाल्पा जिल्लामा मौरीपालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । घर घरमा कम्तिमा एक घार भएपनि मौरी पाल्नुपर्छ भन्ने चेतनास्तरको पाल्पाली कृषकमा बढ्दै गएको प्रमुख अर्याल बताउछन् ।