असार १ ,२०७७ गुल्मी : गुल्मीमा क्वारेन्टाइनमा बस्न अल्छी लागेर एक युवा जंगलको ओडारमा गई बसेको खुलेको छ ।
आरडिटी पोजेटिभ आई शनिबार क्वारेन्टाइनबाटै भागेका युवा ओडारमा गई बसेको पाइएको हो ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नं ५ को नेपाल राष्ट्रिय माध्यमिक बिधालयको क्वारेन्टाइनमा बसेका वडा नं ४ का १९ बर्षका युवा क्वारेन्टाइनबाट भागेर नजिकैको जंगलमा रहेको ओडारमा गइ बसेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिए ।
उनलाई फोन गर्दा आफू कतै गाउँमा नगएको र क्वारेन्टाइनमा बस्न अल्छी लागेकाले ओडारमा आएर बसेको उनले बताएका थिए । उनले आफूलाई खोज्नका लागि प्रहरी प्रशासन प्रयोग गर्नु नपर्ने भन्दै पछि आफै क्वारेन्टाइनमा आएको जिशीले बताए ।
जेठ ९ गते भारतबाट आई क्वारेन्टाइनमा बसेका त्यी युवाको २९ गते आरडिटी पोजेटिभ आएको थियो । उनी लगायत अन्यको आज स्वाब संकलन गर्ने कार्य भइरहेको जिशीले जानकारी दिए ।