पूर्वखोला गाउँपालिकाले आफ्नै लगानीमा भिटिएम किट खरिद

0
326

सुशीला रेग्मी

रामपुर (पाल्पा) २९ जेठ  : क्वारेन्टिनमा रहेकाहरुको कोरोना भाइरस परीक्षणका लागि पाल्पाको पूर्वखोला गाउँपालिकाले आफ्नै लगानीमा भिटिएम खरिद गरेको छ ।

भारतबाट गाउँ फर्कनेको सङ्ख्या बढ्न थालेपछि परिक्षण छिटो र फराकिलो बनाउन गाउँपालिकाले आफ्नै खर्चमा पाँच सय थान स्वाव सङ्कलन गर्ने भिटिएम किट खरिद गरेको हो । पाल्पा जिल्लामै आफ्नै लगानीमा भिटिएम खरिद गर्ने पूर्वखोला गाउँपालिका मात्र रहेको छ ।

प्रतिकिटको खरिद मुल्य भ्याटबाहेक रु तीन सय ५० रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए । जिल्लामा भारतीय मुलुकबाट गाउँ फर्कने क्रम बढेपछि किटको अभाव हुन थालेकाले गाउँपालिका आफैले खरिद गरेर परिक्षण गर्न थालेको स्वास्थ्य संयोजक ढकालले जानकारी दिए ।

भारतीय मुलुकबाट फर्केका तीन सय २३ र नेपालका विभिन्न स्थानबाट फर्केका २९ जना नागरिक गाउँपालिकाले तयार पारेको क्वारेन्टिन कक्षमा बसेका छन् । आरडिटी परीक्षण नै भरपर्दो नभएकाले अब क्वारेन्टिनमा बसोबास गरेका सबै नागरिकको पिसिआर प्रबिधिबाट परीक्षण गरिने भएको छ ।

प्रदेश र केन्द्रबाट किट उपलव्ध नहुँदा लामो समय सम्म क्वारेन्टिनमै राख्नुपर्ने र आरडिटी परिक्षणको नतिजा पोजेटिभ तथा नेगेटिभ आएपनि पिसिआर परीक्षण नगर्दा सम्म अरुलाई पनि जोखिम बढ्ने भएकाले गाउँपालिका आफैले भिटएम खरिद गरेर पिसिआर गर्ने भएको छ ।

रामपुर नगरपालिकाले पनि आरडिटी परीक्षण भरपर्दो नभएकाले क्वारेन्टिनमा बसेका सबैको अब सिधै पिसिआर परीक्षण गर्ने कार्य तयारी गरेको स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुङ्गानाले बताए।

SHARE