फौजी किरा नियन्त्रण गर्न कृषकलाई विषादी

0
640

सुशीला रेग्मी

रामपुर (पाल्पा), २७ जेठ  : पाल्पाको बगनासकाली गाउँपालिकामा देखिएको अमेरिकन फौजी किराको प्रकोप व्यवस्थापनका लागि गाउँपालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ ।

यो क्षेत्र जिल्लाकै मकैको वीउ उत्पादनको पकेट क्षेत्र रहेको छ । वीउ पकेट क्षेत्रमा महामारीको रुपमा फौजी किराको प्रकोप देखिएपछि गाउँपालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ ।

इमामेक्टिन बेन्जोयट ६०० पिस र साईप्रमेथ्रिन क्लोरोपाइरिफस ४०० थान, इमामेक्टिन बेन्जोयट पाँच ग्रामको ६०० थान, साईप्रमेथ्रिन क्लोरोपाइरिफस १०० एमएलको ४०० थान कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए ।

आवश्यकता अनुसार क्षतिको विवरण हेरी पुन वितरण गरिने कृषि शाखाले जनाएको छ । प्राबिधिकलाई मकै लगाएको खेतरबारी निरिक्षण गराई आवश्यकता अनुसार निःशुल्क बिषादी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल ले जानकारी दिए ।

यहाँका कृषकले खायन भन्दा पनि वीउ उत्पादनका लागि मकै खेती गर्दै आइरहेका छन् । गाउँपालिकाको वडा नं. १,२,४,७ मा किराको प्रकोप बढी देखिएको छ । गाउँपालिका भित्र करिव दुई हजार रोपनी भन्दा बढी क्षेत्रमा किराले सताएको छ ।

मकैको वीउ उत्पादनको पकेट क्षेत्र रहेको यस क्षेत्रमा यो वर्ष फौजी किराले नोक्सान पारेपछि अर्को वर्षका लागि वीउ उत्पादन गर्न समस्या परेको छ । यहाँ फौजी कीराको साथै गवारो, सेमीलोपरको प्रकोप पनि देखिएको छ ।

बगनासकाली गाउँपालिका २ पोखराथोक बस्ने कृषक लेखनाथ गैरे पन्ध्र रोपनी क्षेत्रफलमा लगाएको मकै बालीमा फौजी किरा लागेपछि उत्पादन नै घट्ने चिन्तामा छन् । उनले वर्षेनी वीउ उत्पादनका लागि मकै लगाउदै आएका छन् ।
“वीउ उत्पादनका लागि मकै लगाउने गरेको छु, बिगतका वर्षमा राम्रै उत्पादन हुन्थ्यो, यो वर्ष फौजी किराले उत्पादन घट्ने भयो, विषादी प्रयोग गरेपनि धेरै मकै पहिले नै किराले खाएर नोक्सान पारिसकेको छ” गैरेले बताए ।

रामपुर नगरपालिकाको वडा नं २, ५, ६, ७ र १० मा पनि फौजी किराले मकै बालीमा सताउन थालेको छ । कृषक संग नियमित सम्पर्कमा रहेको र विषादी प्रयोगका लागि एग्रोभेट संग समन्वय गरेर विषादी उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए ।

नगरको वडा नं १० को हेक्लाङ्ग क्षेत्रमा बढी किराको प्रकोप भेटिएको छ । यहाँ करिव एक हजार रोपनी क्षेत्रफलमा फौजी किराले सताउन थालेपछि कृषक चिन्तित बनेको स्थानीय दामोदर तिमिल्सिनाले बताए ।

आख्ला लागेका मकैमा किराले सताउन थालेको बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम संयोजक नोलराज भण्डारी बताउनुहुन्छ । बन्दाबन्दीले समयमा नै विषादी प्रयोग गर्न नपाउँदा मकैको उत्पादन घट्ने कृषकले बताएका छन् । यसभन्दा अघि पनि यहाँ लगाइएको धान बालीमा फौजी किराले सताएर बाली नोक्सान पारेको थियो ।

जिल्लाका रामपुर, बगनासकाली, मदनपोखराको दमकडा, रैनादेवी छहरा, पूर्वखोला लगायतका स्थानमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

महामारीको रुपमा प्रकोप देखिएको ठाउँमा ज्ञानकेन्द्रका कर्मचारी, प्राबिधिक सहितको टोली परिचालन गरी स्थलगत आकस्मिक बाली संरक्षण कार्यक्रम संचालन गरी किराको नियन्त्रणका सम्बन्धमा कृषकलाई जानकारी दिइएको प्रमुख अर्यालले बताए ।

“किराको प्रकोप देखियो भनेपछि हामी स्थलगत अनुगमनमा पुग्यौँ, बढी क्षति पुगेका ठाउँ ठाउँमा पुगेर कृषकमाझ फौजी किराको पहिचान, उपचार पद्धत्तिबारे जानकारी दिने काम भइरहेको छ” प्रमुख अर्यालले भने । कृषि ज्ञानकेन्द्र पाल्पाले कोरना भाइरस सङ्क्रमणको जोखिमका बाबजुद पनि स्थलगत अनुगमन गरेर प्राबिधिक सेवा, सल्लाह सुझाव दिएकोमा यस कार्यप्रति कृषकहरु भने खुशी छन् ।

SHARE