गुल्मीका स्थानीय तहको प्राथमिकतामा कृषि र रोजगारी

0
326

हुमाकान्त पोखरेल

जेठ २५,२०७७ गुल्मी  :अहिले स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने समय आएको छ । खासगरि कोरोना भाइरसले थलिएको अर्थतन्त्र माथि उकास्दै विदेशबाट फर्केका र रोजगारी गुमाएकालाई मध्यनजर गर्दै बजेट ल्याउने तयारी स्थानीय तहले गरेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिकाले कृषिको व्यवसायिकरण र रोजगारीलाई प्राथमिकता दिने भएको छ । त्यस्तै कोरोना भाइरसले पारेको प्रभाव न्यूनिकरण गर्न तथा गौरवका र ठुला आयोजनाको निर्माण सम्पन्न गर्न बजेट खर्च गर्ने गरी नीति तथा कार्यक्रम बनाउन लागिएको छ ।
नगरपालिकामा अहिलेसम्म दुईसय भन्दा बढी मानिस आइसकेका छन् । अझै एक हजार तीन सयभन्दा बढी मानिस नगर भित्रदैछन् । नगरपालिकाले कोभिड १९ बाट रोजगारी गुमाएर विदेशबाट फर्केकाहरुलाई रोजगारी दिनेगरी बजेट बनाउने योजना बनाएको छ । जसको लागि नगरपालिकाले एकदर्जन जति कार्यक्रम बनाएको छ ।
उक्त कार्यक्रमलाई तीन भागमा बर्गिकरण गरेको छ । निःशुल्क सिप, प्रविधि र रोजगार दिने कार्यक्रम ल्याउने नगरपालिकाले जनाएको छ । काम गर्न चाहाने युवाहरुलाई नगरपालिकाले विभिन्न कृषिजन्य सिप जस्तै  :कागती खेती गर्ने, वाइरिङ लगायतका सिप दिएर स्वरोजगार बनाउने योजना रहेको नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।
नगरपालिकाले साविकका वडाहरुमा ५० प्रतिशत अनुदानमा एक÷एक वटा हाते ट्याक्टर दिने योजना बनाएको छ । जसमा ५७ वटा हाते ट्याक्टरबाट ५७ जना स्वरोजगार बन्ने नगरप्रमुख सापकोटाले बताए । नगरपालिकाले कफि, कागति लगायतका कृषि र कृषिजन्य सामग्री उत्पादनमा अनुदानको व्यवस्था गर्ने, साविकका वडाहरुमा ५० प्रतिशतमा अनुदानमा कुटानी–पिसानी गर्ने मिल दिने लगायतका कार्यक्रम ल्याउन लागेको छ ।

नगरपालिकाले उत्पादिन कृषिजन्य सामग्रीको बजारको ग्यारेन्टी गर्ने योजना बनाएको छ । जसअन्तरगत कफिको बजारीकरणको लागि देश तथा विदेशमा समेत माग भएकोले कुनै समस्या छैन । त्यसका साथै जिल्ला सहकारी संघमार्फत पनि विक्रि हुदैँ आएको छ ।
किसानले उत्पादन गरेको खाद्यान्न बालिको लागि नगरपालिकाले भण्डार गर्ने व्यवस्था मिलाउने योजना बनाएको छ । त्यस्तै तरकारी लगायतका नगदेबालीको लागि नगरपालिकाले मूल्य निर्धारण गर्ने र विक्रि नभए नगरपालिकाले उक्त रकम किसानले प्राप्त गर्ने मेयर सापकोटाले बताए । आगामी आर्थिक बर्ष नै प्रदेश सरकारको सहयोगमा हाटबजार संचालन हुने पनि उनले बताए । त्यसका साथै प्रत्येक वडामा एक÷एक वटा वडामा मासु पसलको लागि अनुदान उपलब्ध गराउने उनले बताए ।
नगरपालिकाले गौरवका आयोजनाअन्तरगत मुसिकोट दरबार, पहुँचमार्ग, धुमपार्कमा पिकनिक स्पोर्ट बनाउने, आँपचौरमा सहिदपार्क, मालिका मन्दिर लगायतका क्षेत्रहरुलाई समावेश गरेको छ । यी र यस्तै क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना लक्ष्य रहेको प्रमुख सापकोटाले बताए । भने आगामि आर्थिक बर्षदेखि नगरपालिकाले आफ्नै खर्चमा एम्.बी.बी.एस्. डाक्टरसहितको सेवा थप गर्ने योजना बनाएको छ ।

कृषि, पशुपालन र पूर्वाधार

मदानेमा अहिलेसम्म चार सय मानिस आएका छन् । अझै चार सय मानिस गाउँ आउदैँछन् । कोरोनाकै कारण रोजगार गुमाएर आठ सय मानिस आउदैँछन् । उनीहरुलाई स्वरोजगार बनाउनको लागि गाउँपालिकाले व्यवसायिक कृषि, पशुपालन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीका अनुसार गाउँपालिकाले यी तीनओटा क्षेत्रहरुमार्फत वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई रोजगारिमा लगाउने योजना बनाएको छ । ‘कोरोना संक्रमणसँगै रोजगार गुमाएका नागरिकहरुलाई रोजगारीमा पनि लगाउनु छ, त्यसैअनुसार नीति र बजेट बनाउनुपर्छ ।’ उनले भने, ‘व्यवसायिक कृषि र पशुपालनमार्फत रोजगारी सिर्जना गर्ने योजना बनाएका छौ ।’ यस बर्ष पूर्वाधार विकासको रकममा पनि रोजगार सिर्जना हुनेगरी कार्यान्वयन गरिने उनले बताए ।
यसका लागि गाउँपालिकाले कृषकलाई अनुदान दिने नीति अगाडी सारेको छ । गाउँपालिकाले कृषि ऋणमा व्याज अनुदान तथा उत्पादनमा आधारित अनुदान जस्ता कार्यक्रम अगाडी सारेको उनले बताए ।
उत्पादित सामग्रीको बजारीकरणको लागि सहकारीमार्फत खरिद गर्ने योजना गाउँपालिकाको छ । जसको लागि प्रत्येक वडामा सहकारी गठन गरी सहकारीमार्फत खाद्यान्न खरिद गर्ने र किसानलाई मूल्य प्रदान गरिनेछ । तर नगदेबाली र लामो समयसम्म भण्डार गर्न नसकिने तरकारीजन्य सामग्रीको लागि भने तत्काल गाउँपालिकाले मूल्य दिनेगरी योजना बनेको छ ।
अहिले बढ्दै गइरहेको कोरोना रोकथाम तथा नियन्त्रणको लागि भने आइसोलेशन कक्ष तयार गर्ने, स्वास्थ्य सँस्थाको स्तरोन्नती गर्ने जस्ता योजना अगाडी सारिएको छ । तर हालसम्म गाउँपालिकाका दुईजनामा कोरोना संक्रमण देखिएकोले कार्यपालिकाको बैठक बस्न नसकेको उनले बताए ।

मालिकाले सुझाव संकलन गर्दै

मालिका गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि बनाउने बजेटको लागि सुझाव संकलन गर्दै छ । कोरोना संक्रमणले गर्दा यस बर्ष गत बर्षझै बैठक आह्वान गरेर सुझाव संकलन गर्न नसकिएपनि चिठिमार्फत सुझाव संकलन गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
‘यस बर्षको लागि सुझाव संकलन गरिरहेका छौ ।’ उनले भने, ‘उत्पादन र रोजगारीमा आधारित बजेट ल्याउने गाउँपालिकाको योजना छ ।’ कृषि र कृषिजन्य सामग्रीको उत्पादनमा जोड, उत्पादिन सामग्रीको बजारीकरण लगायतका क्षेत्रमा गाउँपालिकाले जोड दिने उनले बताए । ‘धेरैको रोजगारी गुमेको छ, व्यवसायिक कृषिमार्फत गुमेको रोजगारीलाई प्रतिस्थापन गर्नुपर्छ ।’ उनले भने, ‘सुझाव पनि त्यसैअनुसार आउने अनुमान गरेका छौ ।’ त्यसका साथै बाँझो जग्गामा खेती गर्ने योजना अगाडी लैजाने, बाख्रापालनमा जोड दिने, विद्यालयमा नीजि शिक्षक नराखि गाउँपालिकाले करारमा नियुक्ति गर्ने व्यवस्था मिलाउने जस्ता योजना समावेश हुने भण्डारीले बताए ।

नगरपालिकाको योजना नै छैन
जिल्लाका अन्य स्थानीय तहले आगामि आर्थिक बर्षका लागि बजेटको तयारी थालेपनि रेसुङ्गा नगरपालिकाले भने कुनै तयारी थालेको छैन ।
अहिले कोरोना रोकथाम र नियन्त्रणमै आफुहरु रहेको भन्दै आगामी बर्षको लागि कुनै सोच नबनाएको मेयर डिल्लिराज भुसालले प्रतिक्रिया दिए । ‘अहिले कोरोना नियन्त्रणकै अभियानमा छौ, नीति तथा कार्यक्रम र बजेटबारे कुनै योजना बनाएका छैनौ ।’ मेयर भुसालले भने, ‘केन्द्रको बजेटअनुसार हामीले बजेट बनाउने सोच बनाएका छौ ।’

SHARE