सामाजिक दुरी कायम गर्दै रामपुरमा स्वीटर बुन्ने तालिम सम्पन्न

0
325

सुशीला रेग्मी

जेठ २२, रामपुर (पाल्पा) :पाल्पाको रामपुर नगरपालिका वडा नं ७ मा संचालन भएको आदिवासी जनजाती आयमुलक तथा सीपमूलक तालिमको समापन गरिएको छ ।
लकडाउन हुनुभन्दा अगाडी सुरु भएको तालिम सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमका बीच समापन गरिएको छ । आदिवासी जनजाती समन्वय समितिका अध्यक्ष क्याप्टेन धनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष तीर्थप्रसाद पंगेनी गरेका थिए ।
प्रमुख अतिथि वडा अध्यक्ष पंगेनीले उत्पादन संग जोड्न सकियो भने तालिम लिएको सार्थक हुने बताउँदै आदिवासी तथा जनजाती वर्गको उत्थानका निम्ति वडाले वजेट विनियोजन गरेको बताए ।

आदिवासी जनजाति समन्वय समितिले कोरना भाइरस सङ्क्रमणबाट बच्न जारी लकडाउनलाई मध्यनजर गर्दै महिलाहरुलाई घर घरमा पुगेर स्वीटर बुन्ने तालिम दिएको छ । लकडाउनका कारण घरमै प्रशिक्षकको साथमा एक्लै बसेर स्वीटर बुन्ने तालिम सिक्न पाउँदा छिटो सिक्ने अवसर पाएको सहभागी महिलाको भनाई छ ।
लकडाउनका बाबजुद पनि दुई जना प्रशिक्षक पालैपालो घर घरमा परिचालन गरी सामाजिक दुरी कायम गर्दै तालिमको समय अवधी पुरा गरिएको छ । पालैपालो प्रशिक्षार्थीको घर घरमा पुगेर एक÷एक जनालाई छुट्टाछुट्टै तालिम दिदा सीप सिकाउन सजिलो परेको प्रशिक्षक देउमाया रानाले बताइन् ।

क्रियाशिल मगर उत्थान समितिको हल किसानवारीमा चलेको कार्यक्रममा सल्लाहकारहरु यमप्रसाद श्रेष्ठ, रामबहादुर हिस्की, पत्रकार सुशीला रेग्मी लगायतले बोल्दै घरमै बसेर हातको सीप प्रयोग गरेर आयआर्जन गर्न अनुरोध गरिएको छ ।

समितिका उपाध्यक्ष रेलबहादुर आलेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सदस्य रेमबहादुर रानाले गरेका हुन् । तालिममा सहभागीलाई प्रमाण पत्र, पाहुनाहरुलाई स्वीटर तथा गलबन्दी मायाको चिनोको रुपमा प्रदान गरिएको छ ।
तालिममा वडाका आदिवासी जनजाति समुदायका नौ जना महिलाको सहभागीता रहेको थियो । वडाको ५० हजार वजेटमा तालिम आयोजना गरिएको हो ।

SHARE