सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ जेठ : रामपुर नगरपालिकामा आइसोलेसन कक्ष तयार नहुदा कोरना सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ ।
रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको सहयोगमा रामपुरको शहीद बहुमुखी क्याम्पसमा पचास शैयाको आइसोलेसन कक्ष बनाउने कार्य सुरु गरेपनि तयार नहुँदा सङ्क्रमित क्वारेन्टिनमा नै बस्न बाध्य छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा परीक्षण गर्दा रामपुर नगरपालिकामा वडा नं ९ का दुई जना युवामा कोरना भाइरस सङ्क्रमण देखिएको छ । वडा नं ४ को सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका २३ र २८ वर्षका युवामा कोरना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगानाले जानकारी दिए ।
उनीहरुलाई शहीद बहुमुखी क्याम्पसमा आइसोलेसन कक्ष तयार पारेर राख्ने भनिएपनि तयार नभएकाले अहिले सीताराम माविकै क्वारेन्टाइनमा नै सुरक्षित तरिकाले राखिएको स्वास्थ्य संयोजक ढुङ्गानाले जानकारी दिए ।
आज रामपुर नगरपालिकामा दुई जना सङ्क्रमित देखिसंगै पाल्पामा हालसम्म कोरना सङ्क्रमितको सङ्ख्या सात पुगेको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
यसभन्दा अघि निस्दी गाउँपालिकामा दुई, रैनादेवी छहरा गाउँपालिकामा दुई, माथागढी गाउँपालिकामा एक जना कोरना सङ्क्रमित फेला परेका छन् । सङ्क्रमित सबै भारताबाट फर्केका युवा रहेका छन् ।
उनीहरुलाई सदरमुकाम तानसेनको मिसन अस्पतालस्थित बृद्धाश्रममा तयार पारिएको आइसोलेसन कक्षमा राखिएको छ । भारतबाट फर्केका युवामा कोरना सङ्क्रमण देखिएको छ ।