रामपुर नगर उपप्रमुखद्धारा सडक, सभाहल र स्वास्थ्य भवनको अनुगमन

0
590

सुशीला रेग्मी

जेठ १३, रामपुर (पाल्पा) :पाल्पाको रामपुर नगरपालिका वडा नं ९ स्थित निर्माण भएका र हुदै गरेका विभिन्न विकास निर्माणका योजनाको अनुगमन गरिएको छ । नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा सडक, निर्माणाधिन सभाहल तथा स्वास्थ्य क्लिनिक भवनको अनुगमन गरिएको हो ।

नगर उपप्रमुख आचार्य, वडा अध्यक्ष ईच्छाराम सिङ्जाली, प्राबिधिक प्रमुख रन्जन न्यौपाने, इन्जिनियर कृष्ण थापा, पत्रकार लगायतको टोलीले लाम्दिखोला स्वामीडाँडा मसाने हुदै मधुकोट जोड्ने मोटरबाटो र मधुकोट मगरे सडकको अनुगमन गरिएको छ ।

पैदल हिड्न समेत मुस्किल रहेको सडकमा अहिले सडक पुगेपछि स्थानीयलाई आवतजावतमा धेरै सहज भएको नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक आचार्यले बताउछिन् । उनले उपभोक्ता समितिले समुदायको हितका लागि तदारुकताका साथ राम्रो संग काम सम्पन्न गरेकोमा धन्यवाद दिदै अहिले नगरले सडक नपुगेका गाउँमा नयाँ ट्रयाक खोल्ने, पुराना सडकलाई मर्मत सम्भार तथा पक्की गर्ने, नाली निर्माण जस्ता कार्य गरिरहेको जानकारी दिइन ।

“हिजो बाटोको आकार नै नभएको ठाउँमा अहिले सडकको ट्रयाक खुलेर गाडी गुड्ने भएको देख्दा खुशी लागेको छ, अब पक्कै पनि गाउँमा बस्ने नागरिकको जीवनयापन माथि उकासिनेछ, सडक पुगेपछि तरकारी खाद्यान्न बाली, फलफुल बजार लैजान, गाडीमा आवतजावत गर्न सजिलो हुनेछ” नगर उपप्रमुख आचार्यले बताइन ।

यसवर्ष नगरपालिकाले सडकको नयाँ ट्रयाक खोल्नका लागि रु सात लाख वजेट विनियोजन गरेको थियो । मधुकोट मगरे सडकका लागि प्रदेश सरकारको समपुर वजेट रु २५ लाख र नगरपालिकाले रु २५ लाख सहयोगमा सडक निर्माणको काम भएको इन्जिनियर कृष्ण थापाले बताए ।

अनुगमन टोलीले अर्बसिङ्मा करिव चार सय मानिस अट्ने क्षमताको जनशान्ति सभाहलको पनि अनुगमन गरेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको र आउँदो असार मसान्त भित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । स्थानीय पूर्वाधार विकास कोष अन्र्तगत आर्थिक वर्ष २०७५÷०७६ र ०७६÷०७७ मा गरी रु २०÷२० लाखको लागतमा सभाहल निर्माण कार्य गरिएको हो । स्थानीय नरबहादुर बिरकट्टाले सबा एक रोपनी जग्गा सहयोग गरेपछि सभाहल निर्माणको काम सुरु गरिएको वडा अध्यक्ष ईच्छाराम सिङ्जालीले बताए ।

राष्ट्रिय योजना आयोगको बिशेष अनुदानमा जब्गादीमा शहरी स्वास्थ्य क्लिनिक भवन निर्माण सुरु गरिएको छ । आर्थिक वर्ष २०७६÷०६६ र ०७७÷०७८ मा रु ५०÷५० लाखको लागत ईष्टमेटमा भवन निर्माण कार्य थालिएको हो । छ कोठासहित एकतले भवन निर्माण हुदैछ । अनुगमन गरिएका सडक, सभाहल र स्वास्थ्य क्लिनिक भवनको काम मापदण्ड अनुसार नै रहेको र निर्माणाधिन अवस्थामा रहेका योजनालाई भने छिटो सम्पन्न गर्न निर्देशन दिइएको प्राबिधिक प्रमुख रन्जन न्यौपानेले बताए । अनुगमन समितिले नगर तथा वडाका यसैवर्ष निर्माण सम्पन्न हुन लागेका योजनालाई सकभर छिटो नै सम्पन्न हुने गरी काम गर्न अनुरोध गरेको छ ।

SHARE