रामपुरको तरकारी तानसेन पठाइयो

0
635

सुशीला रेग्मी

रामपुर (पाल्पा), १२ जेठ  :  रामपुर नगरपालिकामा उत्पादन भएको तरकारी पहिलो पटक पाल्पा सदरमुकाम तानसेन बजारमा पुगेको छ ।
नगरपालिका आफैले कृषकको घर घरमा पुगेर तरकारी खरिद गरी तानसेन बजारमा बिक्रिका लागि पठाएको हो । सोमवार एक सय ५० किलो गोलभेँडा र एक सय ३५ किलो करेला परिक्षणका लागि पठाइएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताए ।

घिरौला, फर्सी, सिमि, बोडी लगायतका तरकारी पनि पठाउने तयारी गरिएको उहाँ बताउनुहुन्छ । नगरपालिकाले कृषि एम्बुलेन्समार्फत घर घरमा पुगेर तरकारी सङ्कलन कार्य सुरु गरेको छ । रामपुर बजारमा खपत भएर बाकी रहेका तरकारी तानसेनमा पठाइएको नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपाने बताए ।

“कृषकले जति हो धेरै उत्पादन गर्न प¥यो, बजारको प्रबन्ध नगरपालिकाले गर्नेछ, रामपुरमा लकडाउनले गर्दा तरकारी बिक्रि गर्न समस्यामा परेकाले कृषकको तरकारी घर घरमा पुगेर खरिद गरेका छौँ” न्यौपानेले भने ।

न्यौपानेको संयोजकत्वमा आर्थिक विकास समितिका सदस्य कमलराज भट्टराई, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मी, कृषि प्राबिधिकहरु प्रज्ज्वल केसी, सुशील अधिकारी, सपना खड्का लगायतको टोलीले कृषकको घरदैलोमा पुगेर तरकारी खरिद गर्ने, उपभोक्ता माझ बिक्रि गर्ने कार्य भइरहेको छ ।

यो समयमा तरकारीको उत्पादन बढ्न थालेपछि यहाँको बजारमा खपत हुन नसकेको तरकारी तानसेनका व्यापारी संग समन्वय गरेर बिक्रिका लागि लगिएको छ । नगरपालिकाले तोकेको मुल्यमा खरिद बिक्रि गर्ने कार्य गरिएको छ ।

सिमिको खरिद मुल्य ३५, बिक्रि मुल्य ४५, खुर्सानी खरिद मुल्य ८० बिक्रि मुल्य एक सय, घिरौला खरिद मुल्य ३५ बिक्रि मुल्य ४५, बन्दा ५ मा खरिद गरेर ८ मा बिक्रि गर्ने मुल्य निर्धारण गरेको छ ।

त्यस्तै करेला खरिद मुल्य ४० बिक्रि ५०, काक्रा खरिद मुल्य ४० बिक्रि ५०, लौका खरिद मुल्य ३० बिक्रि मुल्य ४०, साग खरिद मुल्य १० बिक्रि मुल्य १५, चिचिन्डा खरिद मुल्य ४० बिक्रि मुल्य ५०, भिन्डी खरिद मुल्य ५० बिक्रि मुल्य ६०, गोलभेँडा ४० मा खरिद गरेर ५० मा बिक्रि, भण्टा खरिद ५० बिक्रि ६०, तने बोडी खरिद ६० बिक्रि ८० मुल्य कायम गरिएको छ ।

नगरपालिकाले कृषकको शनिवार, सोमवार र बुधवार कृषकको घर घरमा पुगेर तरकारी खरिद गर्न कृषि एम्बुलेन्स संचालन गरेको छ । बन्दाबन्दीका समय कृषकलाई तरकारी बिकेन र बजार लैजान पाइएन भन्ने समस्या अहिले हटेको छ ।

SHARE