पाल्पाको माथागढीमा विद्यार्थीको हात हातमा सिकाई परियोजना

0
1052

सुशीला रेग्मी

रामपुर (पाल्पा) ६ जेठ  :  कोरनाको कहरका कारण जारी बन्दाबन्दीले विद्यार्थीको पठनपाठनमा असर परेपछि पाल्पाको माथागढी गाउँपालिकाले नयाँ अभ्यास सुरु गरेको छ ।

विद्यार्थीको शैक्षिक मनोबल बढाउन, खेलेर बिताउने समय पढाईमा निरन्तरता रहोस् भन्नका लागि सिकाई परियोजनाबाट पठनपाठन सुरु गरिएको छ । यहाँका पूर्वप्राथमिक तहदेखि कक्षा १० सम्मका सबै विद्यार्थीको हात हातमा सिकाई परियोजना उपलब्ध गराइएको छ ।

परियोजनामा कक्षा अनुसारका पाठ्यपुस्तकका मिल्दाजुल्दा विषयवस्तु समावेश गरिएको छ । विद्यार्थीलाई घरमै बसेर विषयगत रुपमा जीवनसँग सम्बन्धित नैतिकवान, सिर्जनशिल बनाउने कुरा, जीवन पद्धतिका कुरा, प्रयोगात्मक जस्ता कुराहरु समेटेर सिकाई परियोजना निर्माण गरिएको स्रोतव्यक्ति अशेष भट्टराईले बताए ।

“विद्यार्थीको उमेर र कक्षा हेरेर परियोजना तयार पारिएको छ, घरमै बसेर परियोजनामा समावेश गरेका विषयवस्तु पढ्ने, हेर्ने र रचनात्मक क्रियाकलापमा विद्यार्थी सहभागी हुने गरेका छन्” उनले बताए ।

गतवर्षको वार्षिक परिक्षा उत्तिर्ण गरेर माथिल्लो कक्षामा पढ्ने विद्यार्थीलाई नयाँ शैक्षिक सत्रको एक महिना बितिसक्दा पनि पढ्ने वातावरण तयार नभएपछि विद्यार्थीको शैक्षिक मनोबल उकास्न सिकाई परियोजना निर्माण गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए ।

“कोरनाको कहरले पढ्ने वातावरण नहुदा विद्यार्थीको शैक्षिक मनोबल उच्च बनाउन सकिएको छैन, पाठ्यपुस्तक उपलब्ध नभएका बेला र शिक्षण कार्य ठप्प रहेको अवस्थामा पनि पठनपाठनमा निरन्तरता रहोस्, शैक्षिक कार्यमा समय बितोस् भन्नका लागि सिकाई परियोजना तयार पारेका हौँ,”– उनले बताए ।
पन्ध्र दिनको परियोजना तयार पारिएको छ । यसमा बढी सिर्जनशिल, प्रयोगात्मक र जीवन पद्धतिसँगका विषयवस्तु समेटिएका कारण पनि विद्यार्थी घरभित्र बसेर नयाँ कुरा सिक्ने, सोधखोज गर्ने, चित्र बनाउने जस्ता कार्य गरिरहेका हुन्छन् ।

सामाजिक दुरी कायम गरी गाउँपालिकाका अध्यक्ष थापा मगरको नेतृत्वमा वडा वडामा रहेका शैक्षिक संस्थाका प्रधानाध्यापक तथा प्रतिनिधि मार्फत टोल टोलमा पुगेर विद्यार्थीलाई सिकाई परियोजना वितरण गरिएको छ ।

गाउँपालिकाले सिकाई परियोजना निर्माणका लागि रु तीन लाख रकम छुट्याएको छ । पूर्वप्राथमिक तह देखि कक्षा १० सम्मका सात हजार विद्यार्थीलाई लक्षित गरेर सिकाई परियोजना तयार पारी विद्यार्थीको हात हातमा पु¥याइएको छ ।

गाउँपालिकामा गत वर्षको शैक्षिक सत्रको विवरण अनुसार छ हजार विद्यार्थी रहेका छन् । यसवर्ष अनुमानित छ हजार पाँच सय विद्यार्थी हुन सक्ने गाउँपालिकाले जनाएको छ ।

यहाँ सामुदायिक ४१ र संस्थागत चार गरी जम्मा ४५ विद्यालय संचालनमा छन् । गाउँपालिकाले जिल्लामै पहिलो पटक नयाँ अभ्यासको रुपमा गत शैक्षिक सत्रमा कक्षा १ र ६ को स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सञ्चालन गरेको छ ।

स्थानीय कला संस्कृती, रितिरिवाज, चालचलन, जैविक वानस्पति लगायतका स्थानीय वस्तुलाई समावेश गरिएको पाठ्यक्रम निर्माण गरिएको छ ।

शिक्षकहरु पाठ्यक्रममा भन्दा पनि बढी पाठ्यपुस्तकमा आधारित हुने हुदा यसवर्ष कक्षा १ र ६ को पाठ्यक्रम अनुसार स्थानीय पाठ्यपुस्तक तयार पारी संचालनमा ल्याउने गाउँपालिकाले जनाएको छ । कक्षा १ देखि ८ सम्मका कक्षा ४ र ८ को बाहेक अरु सबै कक्षाको स्थानीय पाठ्यक्रम निर्माणको काम भइरहेको छ ।

SHARE