एक दशक पछि गाउँमा बिजुली बल्यो

0
414

सुशीला रेग्मी

रामपुर (पाल्पा) ५ जेठ :  पाल्पाको निस्दी गाउँपालिकाको वडा नं ३, ५ र ६ मा बिद्युतीकण आयोजना सुरु भएको एक दशक पछि बिद्युत सुबिधा पुगेको छ । गाउँपालिकाको सात वडामध्ये ३, ४, ५, ६ र ७ मा बिद्युतीकरण गर्ने योजनामध्ये हाल यहाँका ४, ५ र ६ वडाका केही गाउँमा बिजुली बत्ति बाल्न थालिएको छ ।

स्थानीय लालीगुराँस ग्रामीण बिद्युत सहकारी संस्थामार्फत आयोजनाको काम थालनी गरिएको हो । नाकाबन्दी, सामानको समस्या, गाउँमा सामान पु¥याउन सडकको समस्या लगायत विविध समस्याका कारणले आयोजनाको काम ढिलो हुन पुगेको संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले जानकारी दिए ।

गत शनिवार देखि वडा नं ४ मा करिव ९५ धरधुरी, ६ मा एक सय ६५ घरधुरीमा बिजुली बत्ति बल्न सुरु गरेको उनले जानकारी दिए ।

आजभन्दा पन्ध्र दिन अघि वडा नं ५ गल्धाको गाबुडाँडा, राइकोट, धनुबास, खरकडाँडा गाउँका करिव पाँच सय घरधुरीमा बिद्युत् सुबिधा पुगिसकेको छ । सो वडाहरुका बाँकी रहेका गाउँ तथा बिजुली पुग्न बाँकी रहेका गाउँपालिकाका वडा नं ३ र ७ मा पनि बिद्युतीकरणको काम भइरहेको छ । बिद्युतीकरणका लागि एक घरधुरीबाट रु पाँच हजार रकम शुल्क लिइएको छ ।

३३ केभी क्षमताको राष्ट्रिय प्रसारण लाइन रहेपनि अहिले यहाँ ११ केभी क्षमताको बिद्युत बिस्तार गरिएको हो । पाँच वटा वडामा गरेर करिव दुई हजार सात सय धरधुरी यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसैवर्ष भित्र गाउँका बाकी रहेका सबै घरधुरीमा बिजुली बत्ति बाल्ने योजना छ । बन्दाबन्दीको बाबजुद पनि विद्युतीकरणको काम भइरहेको छ ।

टुकी, लघु जलबिद्युत्को आयोजना तथा सौर्य ऊर्जा प्रणालीको भरमा जीवन गुजारा चलाउन बाध्य यहाँका नागरिक भने अहिले घर घरमा बिजुली बत्तिको सुबिधा पुगेपछि खुशी भएको मित्यालका स्थानीय तथा मौलादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक धनबहादुर ठाडाले बताए ।

“सौर्य ऊर्जा र लघु जलबिद्युत् आयोजनाबाट बिद्युत प्रयाप्त आपूर्ति नहुने हुदा घरमा उज्यालो बत्ति बाल्न, विद्यार्थीलाई लेखपढ गर्न, रेडियो बजाउन, टेलिभिजन चलाउन समस्या थियो, ढिलै भएपनि बिजुली बलेपछि गाउँमा चाडपर्व आएजस्तो अनुभुती भएको छ” उनले बताए ।

SHARE