सुशीला रेग्मी
रामपुर (पाल्पा), ४ जेठ :पाल्पा रामपुरको ईस्लामिक सक्रिय युवा समाजले रामपुर नगरपालिकालाई व्यक्तिगत सुरक्षा सामाग्री (प्रर्सनल प्रोटेक्सन इक्युपमेण्ट (पिपिई) सहयोग गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई रोकथाम गर्न समाजिक उत्तरदायित्व बहन गर्दै समाजले नगरपालिकालाई आईतवार आठ थान व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ । साथमा एक थान इन्फ्रारेड थर्मोमिटर नगर प्रमुख रमणबहादुर थापालाई समाजका अध्यक्ष ल्याकत अलि र संस्थापक सदस्य इर्साद अलि शेख लगायतले हस्तान्तरण गरे ।
नगर प्रमुख थापाले सो सामग्री ग्रहण गर्दै विश्वलाई नै आतङ्कीत बनाएको कोरना भाइरसको जोखिम परिस्थितिका बेला नगरपालिकालाई कोरना भाइरसबाट जोगिन र सर्तक रहन युवा समाजले गरेको सहयोगप्रति धन्यवाद दिए ।
रामपुर नगरपालिका १ स्थित गाडाँकोट स्वास्थ्य चौकीलाई चार थान व्यक्तिगत सुरक्षा सामग्री र एक थान एक थान इन्फ्रारेड थर्मोमिटर स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखलाई प्रदान गरिएको छ ।
विपदको परिस्थितीमा नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षण गर्न सहजता होस भनी स्वास्थ्य सहायता सामग्री सहयोग गरेको संस्थापक सदस्य इर्साद अलि शेखले बताए ।
समाजले लकडाउनको मारमा परेका मजदुर र विपन्न वर्गका एक सय दुई परिवारलाई खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरस बिरुद्ध जनचेतना कार्यक्रम, ठाउँ ठाउँमा हातधुने व्यवस्था, स्वास्थ्य परीक्षण जस्ता कार्य गरेको छ ।
यस समाजले अन्य समयमा पनि समाजिक दायित्व निर्वाह गर्दै गरिव, विपन्न वर्गलाई खाद्यान्न, लत्ताकपडा, अपराधिक क्रियाकलाप न्युनिकरणका लागि नगरका विभिन्न ठाउँमा सडक बत्ति राख्ने लगायतका सामाजिक क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आइरहेको छ ।