रामपुरको मुस्लिम समुदायमा ज्वरो मापन तथा अनुगमन

0
864

सुशीला रेग्मी

जेठ ३ रामपुर (पाल्पा) :विश्वरभर महामारीको रुप लिएको कोरना भाइरस (कोभिड १९) को त्रास बढेका बेला पाल्पा रामपुर नगरपालिकामा रहेका मुस्लिम समुदायको ज्वरो मापन तथा अनुगमन गर्ने कार्य भएको छ ।

मुस्लिम आयोग जिल्ला लकडाउन अनुगमन समिति र स्थानीय संस्था ईस्लामिक सक्रिय युवा समाजको आयोजनामा ज्वरो मापन तथा अनुगमन कार्य गरिएको छ । कोरनाको कहरको त्रास बढ्दै गएपछि सजगता अपनाउन रामपुर नगरपालिका ४ स्थित ईस्लामपुरमा बसोबास गर्ने मुस्लिम समुदायका सबैको शनिवार घर घरमा पुगेर ज्वरो मापन तथा अनुगमन गरिएको छ ।

यहाँका एक सय ४२ घरपरिवारमध्ये ६१ घरपरिवारका दुई सय ४४ सदस्यको ज्वरो मापन गरिएको मुस्लिम आयोग पाल्पा जिल्ला संयोजक इर्शाद अलि शेखले बताउनुभयो । ज्वरो मापन गरिएकामध्ये ६० वर्षका नौ जना, पाँच वर्षका १८ जना र बाँकी अन्य उमेर समुहका रहेको पाइएको छ ।

समुदायका नागरिकलाई कोरना भाइरस सङ्क्रमणको अहिलेको विश्व परिवेश तथा मुलुकको अवस्थाबारे जानकारी गराउँदै भाइरसबाट सजग रहन सबैलाई सचेत बनाइएको आयोगका जिल्ला संयोजक शेखले जानकारी दिए ।

“कोरनाको जोखिम बढ्दै गएपछि उनीहरुको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै र लकडाउनको पालना गरिएको छ छैन भन्नका लागि प्रत्येकका घर घरमा पुगेर ज्वरो मापन गर्दा सामान्य पाइयो भने लकडाउनको पूर्ण पालना गरी घरमै बसेका छन्” उनले भने ।

ज्वरो मापन गरिएका सबै सदस्यको तापक्रम सामान्य रहेको गाडाँकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले बताए ।

“सबैको घर घरमा पुगेर ज्वरो मापन गरियो, आत्तिनुपर्ने अवस्था छैन, सबै सामान्य अवस्थामा छन् र लकडाउनको पूर्ण पालना गरेको पाइएको छ” उनले भने ।

ज्वरो मापन गर्न बाँकी रहेका अन्य सदस्यको पनि आईतवार ज्वरो मापन कार्य जारी रहनेछ । ज्वरो मापन तथा अनुगमन कार्यमा मदरसा नुरुल हुदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहादत हुसैन शेख, ईस्लामिक सक्रिय युवा समाजका उपाध्यक्ष निसार अहमद, सचिव अमिन शेख, संस्थाका पुर्व अध्यक्ष मोहम्मद इब्राहिम मियाँ र सदस्यहरु जाकिर हुसैन, रहिमुल्लाह मियाँ, मकबुल बख्स लगायतको सहभागीता रहेको थियो ।

SHARE