बन्दाबन्दीका बाबजुद रामपुरमा साइलेज उत्पादन

0
1176

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३ जेठ  : बन्दाबन्दीका बाबजुद पनि रामपुरमा साइलेज (घाँसलाई गुन्द्रक बनाउने) उत्पादन गर्न थालिएको छ । बन्दाबन्दीको समय लम्बिदै गएपछि बन्द रहेको उद्योगलाई पुनः सुचारु गरिएको छ ।

एक हप्ता देखि यहाँ उद्योग सुचारु भएपछि स्थानीय मजदुरले काम गर्ने अवसर पाएका छन् । यहाँ दैनिक सात देखि दश जना कामदारले रोजगार गर्ने अवसर पाएका छन् । उद्योग सुचारु भएपछि मकै काट्ने, बोक्ने, मेसिनमा राख्ने, उत्पादित साइलेज भण्डारण गर्ने काम पाएपछि स्थानीय कामदार उत्साहित भएका छन् ।

बन्दाबन्दीको समय लम्बिदै गएपछि गाउँका स्थानीय नागरिकलाई रोजगार दिन र साइलेज बनाउन मकैको बोट तयार भएकाले कोरनाको कहरका बाबजुद पनि उद्योग सुचारु गरेको संचालक रामप्रसाद पोखरेलले बताए ।

“बन्द पनि कतिन्जेल सम्म हो भन्ने पत्तो भएन, सामाजिक दुरी कायम गरेर उद्योग संचालन गरेका छौँ, विभिन्न उद्योग, व्यवसाय बन्द भएर घरमै बेरोजगार बसेका स्थानीय कामदारले काम पाइरहेका छन्” पोखरेलको भनाई ।

कोरनाको कहरले वैदेशिक रोजगारीबाट गाउँ फर्कनु भएका कालिका गुरुङ अहिले गाउँकै उद्योगमा काम गर्न पाउँदा खुशी देखिन्छन् ।
उनी भन्छन्,“कोरनाले विश्वलाई नै आक्रान्त बनायो, अब विदेशतिर जान भन्दा गाउँमै रहेका उद्योगधन्दा, व्यवसायमा काम गर्न पाए हुन्छ, यहाँ उद्योग अहिले संचालन भएपछि हामी जस्ता श्रमिक मजदुरलाई रोजीरोटी मिलेको छ” ।

रामपुर स्थित विभिन्न क्षेत्रमा काम गरेर जीवन धान्ने रिमाकान्ती सोमै बन्दाबन्दी भएपछि घरमै बेरोजगार भएर बस्थीन । अहिले गाउँमै उद्योग सुचारु हुदा बिहान देखि साँझ सम्म काम गर्ने अवसर पाएकी छिन ।

उद्योगमा मकै काट्ने, बोक्ने लगायतका काम गरेबापत एक घण्टाको रु ७५ ज्याला बुझदै उनी उद्योगमा दैनिक आठ घण्टा काममा खट्छिन ।

“हामी ज्यालादारी गरेर खानेलाई लकडाउनले समस्या थियो, दुई चार पैसा कमाउने माध्यम पनि बन्द हुदा मारमा परेका बेला फेरी गाउँमै काम गर्न पाउदा खुशी लागेको छ” उनले बताइन ।

एक हप्ताको अवधीमा यहाँ करिव वीस टन साइलेज उत्पादन भइरसकेको छ । दुई सय ५० रोपनी जग्गा भाडामा लिएर लगाइएको मकैबाट यस पटक करिव दुई सय ५० टन साइलेज उत्पादन गर्ने लक्ष्य छ ।

यसभन्दा अगाडी दुई पटक उत्पादन गरिएको करिव ८० टन साइलेज सदरमुकाम तानसेन, रुपन्देही, पोखरा, स्याङ्गजा, तनहुँ लगायतका शहरमा खपत भइसकेको छ । प्रतिकिलो रु १२ मा उद्योगबाटै बेच्ने गरिएको छ । जिल्लामै पहिलो पटक रामपुरमा उत्पादन भएको साइलेज (घाँसलाई गुन्द्रक बनाउने) उद्योग एक वर्ष अघि देखि संचालनमा आएको हो ।

प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाईफार्मको रु २५ लाखको सहकार्यमा साइलेज उत्पादन शुरु गरिएको हो । गतवर्ष रामपुरमा स्थापना गरिएको सो उद्योगमा हालसम्म करिब रु एक करोड भन्दा बढीको लगानी परेको छ ।

रामपुरमा नै साइलेज उत्पादन हुन थालेपछि पशु आहारा आपूर्तिका लागि सहज भएको अगुवा भैसीपालक कृषक कृष्णकुमार अर्याल बताउछन् । अर्यालले यसभन्दा अगाडि आफ्नै ढुवानीमा प्रतिकिलो १५ मा भारतको पन्जाब शहरबाट साइलेज खरीद गरेर पशुुलाई खुवाउने गर्थे ।

अहिले गाउँमै कम मुल्यमा गुणस्तरीय साइलेज खरिद गर्न पाउँदा आर्थिक भार कम परेको उनको भनाई छ । साइलेज उत्पादन शुरु गर्न थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गा सदुपयोगमा आउन थालेका छन् ।

साइलेजको माग स्थानीय स्तरमा भन्दा बाहिरी जिल्लाबाट बढ्दो रहेको सञ्चालक बेदप्रसाद बञ्जाडे बताउछन् । “स्थानीय स्तरमा साना साना पशुफार्म रहेकाले खपत कम छ, बाहिरका ठुला ठुला पशुफार्मबाट माग धेरै छ, माग गरेअनुसार उत्पादन गर्न सकिएको छैन” उनले भने ।

यहाँ उत्पादन भएको साइलेजले पाँच नम्बर प्रदेशलाई पु¥याउने सञ्चालकको लक्ष्य छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित उत्तम साइलेज उद्योग, देवदह नगरपालिकामा सञ्चालित शुभारम्भ एकीकृत कृषिफार्म र पाल्पाको कामधेनु गाईफार्मलाई रु २५÷२५ लाख गरी रु ७५ लाख अनुदान उपलब्ध गराएको छ ।

प्रदेश नं ५ का १२ जिल्लामै सानासाना मेशिनबाट साइलेज उत्पादन गरिँदै आएपनि ठूलो उद्योगको रुपमा भने रुपन्देही र पाल्पामा मात्र शुरु भएको छ ।

साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । पशु आहारका लागि राम्रो मानिने साइलेज जिल्लाको रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो ।

साइलेज पशुलाई खुवाएमा दूध उत्पादन वृद्धि हुने, पशुको नश्ल सुधार हुने हुँदा पशु उत्पादन राम्रो मानिन्छ । सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले ठूला तथा साना पशु व्यवसायीका लागि सजिलो पर्नेछ ।

दैनिक दुई किलो साइलेज पराल, दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुक्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

दुई महिनासम्म प्लाष्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी नामक घाँसबाट पनि बनाउन सकिन्छ ।

साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुदा साइलेजप्रति कृषकको आकर्षण बढेपनि उत्पादन कम हुँदा पुर्याउन समस्या परेको व्यवसायीहरु बताउँछन् । आमाको दूध खाँदै गरेका बाँच्छाबाँच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा, गाईभैसीलाई खुवाउने गरिन्छ ।

SHARE