रामपुरका सीमानाकामा कडाई : ज्यालादारीमा सुरक्षाकर्मी खटाइने

0
387

सुशीला रेग्मी

रामपुर (पाल्पा), २ जेठ  : रामपुर नगरपालिकाले आज देखि सिमानाकामा कडाई गर्ने भएको छ । कोरना भाइरस सङ्क्रमण बढ्दै जान थालेपछि नगरपालिका संग जोडिएका विभिन्न पालिकाका सिमानाकामा कडाई गर्न ज्यालादारीमा सुरक्षाकर्मी परिचालन गर्ने भएको हो ।

अन्तर पालिका तथा गण्डकी प्रदेश संग जोडिएका ३२ वटा सिमानाकामा सुरक्षा व्यवस्था मजबुत बनाउन ज्यालादारीमा सुरक्षाकर्मी परिचालन गरिने नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

“जोखिम बढ्दै गएपछि रामपुरमा नेपाल प्रहरी, नेपाली सेनाबाट मात्र सबै नाकामा सुरक्षा दिन जनशक्ति कम हुने र लुकिछिपी पनि मानिस आवतजावत गर्ने हुदा उच्च निगरानीका लागि ज्यालादारीमा सुरक्षागार्ड खटाउँदैछौ” नगर प्रमुख थापाले भने ।

बिहिवार बसेको नगर कार्यपालिकाको बैठकले ५० वर्षभन्दा मुनिका भू.पू. सैनिक, भू.पू प्रहरी, म्यादी प्रहरीमा काम गरेको व्यक्ति तथा सुरक्षा गार्डमा अनुभव भएका इच्छुक व्यक्तिलाई परिचालन गरिने निर्णय गरेको हो ।

कसैले बाहिरबाट आएका आफन्त तथा अन्य कोही व्यक्तिलाई वडा कार्यालयमा वा नगरपालिकाको कार्यालयमा जानकारी नगराई घरमा राखेको पाइएमा घरमा राख्ने व्यक्तिलाई समेत नियमानुसार कैद वा जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।

SHARE