व्यवसायिक पशुफार्मलाई अनुदान

0
1150

सुशीला रेग्मी

रामपुर, २७ वैशाख  :  पशुजन्य उत्पादन बढाउन पाल्पाको रम्भा गाउँपालिकाले व्यवसायिक पशुफार्मलाई अनुदान उपलब्ध गराएको छ । गाउँ कार्यपालिकाले कार्यबिधि तयार पारेर पशु उत्पादन बढाउन र यसैबाट कृषकलाई आत्मनिर्भर बनाउन व्यवसायिक फार्मलाई अनुदान वितरण गरेको हो ।

व्यवसायिक पशुपंक्षी अनुदान कार्यक्रम अन्र्तगत चार वटा बंगुरफार्म, छ लेयर्स कुखुराफार्म, पाँच बाख्राफार्म, छ गाईभैसी फार्मलाई अनुदान उपलब्ध गराएको छ ।

प्रति बंगुरफार्मका लागि रु ५० हजार, लेयर्स जातको कुखुराफार्मलाई रु २० हजार, बाख्राफार्म र गाईभैसीफार्मलाई रु एक÷एक लाख रकम अनुदान स्वरुप प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताए ।

उनका अनुसार अनुदान कार्यक्रममा सहभागी हुन कृषकले बंगुरफार्मको हकमा कम्तिमा १० बंगुर, कुखुरापालनमा तीन सय, बाख्रापालनको हकमा ५०, गाईभैसीपालनमा पाँचवटा व्यवसाय दर्ता गरी अनिवार्य चलाएको हुनुपर्नेछ ।

यहाँ पछिल्लो समय पशुपालन व्यवसाय गर्ने कृषक बढ्दै गएका छन् । गाउँपालिकाको पशु शाखामा बाख्राफार्म १४, गाईभैसीफार्म १५, बंगुरफार्म १७ र लेयर्स कुखुराफार्म छ वटा दर्ता भई संचालनमा रहेको शाखा प्रमुख मिनबहादुर कार्कीले बताए ।

व्यवसायिक पशुपंक्षीफार्म बढाउने कार्यक्रम अन्र्तगत गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा ३५ लाख रकम विनियोजन गरेको छ । जसअन्र्तगत व्यवसायिक फार्मलाई अनुदान, भ्याक्सिङ्ग लगाउने, पशु आहारका लागि घाँस व्यवस्थापन लगायतका कार्यक्रम गाउँपालिकाले कृषकमाझ संचालन गरेको छ ।

रामपुर नगरपालिकाले पशु शाखा कार्यालयबाट कार्यक्रम संचालन गर्ने गरी आ.व. २०७६÷०७७ मा रु दश लाख विनियोजन गरेको छ । जसबाट पशुआहारका लागि वर्षे तथा हिउँदे घाँसको वीउ वितरण, पशुस्वास्थ्य शिविर, बाख्रापालन तालिम लगायतको कार्यक्रम गरेको पशु शाखा प्रमुख तुल्सीराम काफ्लेले बताए ।

नगरपालिकाले पशु उत्पादन बढाउनका लागि युवा स्वरोजगार कार्यक्रम अन्र्तगत अनुदान कार्यक्रम संचालन गरेको छ । दुई वर्ष सम्मका लागि व्याज अनुदानस्वरुप पहिलो चरणमा कृषि र पशुमा ३० युवामाझ कार्यक्रम संचालन गरिरहेको सुचना अधिकारी रामहरी पाण्डेयले बताए ।

दोस्रो चरणको कार्यक्रमका लागि युवाबाट निवेदन सङ्कलन भइसकेको छ र सम्झौता गर्न बाँकी रहेको उनको भनाई छ ।

नगरपालिकाले रु १२ लाख सम्मको व्याज अनुदान उपलब्ध गराउने भएपनि अहिले छनौटमा परेका व्यवसायीले रु दश लाख सम्मका रकम बैंकबाट ऋण लिएको पाइएको छ । कुखुरापालनका लागि व्यक्तिगत कम्तिमा ५०० कुखुरा र सामुहिक कम्तिमा तीन हजार कुखुरा (लेयर्स जातको हकमा दुई हजार) पाल्ने योजना सहित कुखुरा अट्ने भौतिक संरचना भएको वा सोही संरचना बन्ने जग्गा हुुनुपर्नेछ ।

माछा पोखरीको हकमा व्यक्तिगत दुई रोपनी र सामुहिक १० रोपनीमा हालसालै निर्माण भएको वा निर्माण गर्न सक्ने जग्गा हुनुपर्नेछ ।

बाख्रापालनको हकमा व्यक्तिगत १० माउ र सामुहिक १०० वटा बाख्रापालन गर्नुपर्ने, मौरीपालनको लागि व्यक्तिगत २० घार र सामुहिक १०० घार हुनुपर्ने, च्याउ खेतीमा व्यक्तिगत तीन डुमहाउस र सामुहिक १० डुमहाउस, बंगुरपालनमा व्यक्तिगत पाँच माउ र सामुहिक २५ माउ हुनुपर्ने, गाईभैसीमा व्यक्तिगत पाँच माउ र सामुहिक २० माउ हुनुपर्नेछ ।

तरकारी, फलफूल खेती, नर्सरी स्थापना वा नबिन कृषि प्रबिधिको हकमा व्यक्तिगत कम्तिमा दुई रोपनी जग्गामा एकै खेती वा सामुहिक रुपमा दश रोपनीमा खेती गरेको हुनुपर्नेछ कार्यविधिमा उल्लेख छ ।

यस कार्यक्रमम २१ वर्ष उमेर पुरा भई ५० वर्ष भित्रका व्यक्तिलाई मात्र समावेश गरिएको छ । यस आर्थिक वर्षमा पनि नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमकै लागि रु ४० लाख रकम विनियोजन गरिसकेको नगर रमणबहादुर थापाले बताए ।

SHARE