हीरा कुँवर
माघ १३, २०७६ को दिन बिहानै अस्पताल बसाइका लागि आवश्यक सामानको बन्दोबस्त गरेर मेरो परिवारका केही सदस्यहरुसंगै जिल्ला अस्पताल तम्घासमा पुगें म । पहिलो बच्चा अप्रेशन गरेको हुनाले दोस्रो बच्चा पनि अप्रेशनबाट जन्माउनुपर्ने निश्चित थियो। त्यसकारण म मानसिक रुपमा पनि तयारी अवस्थामा थिएँ । अप्रेशन सानो होस् वा ठुलो, भोग्ने मानिसको मनमा थोरैधेरै डर त भइ नै हाल्छ, यो स्वभाविक हो । हरेक कुराको अनुभुति जति सजिलै गर्न सकिन्छ नि, अनुभव गर्न त्यति सजिलो हुँदोरहेनछ । एकातिर मनमा केही नर्भस महसुस हुँदै थियो भने अर्कोतिर आफ्नै जन्मभूमिमा आम मानिसको उपचारको लागि भरोसाको केन्द्र बन्दै गइरहेको जिल्ला अस्पतालमा सेवा लिन पाउनु, स्वयं आफुले पनि सरकारी सेवाप्रति गरेको सम्मान हो भन्ने लागिरहेको थियो मलाई । उक्त अस्पतालको नेतृत्व गरिरहनुभएका अब्बल डाक्टर उत्तम पच्यासंग सेवा लिन पाउँदा म ढुक्क थिएँ । अप्रेशनपछि बिहान ८:३० बजे छोरी जन्मिन् । छोरीले म, मेरो परिवार, साथी र शुभेच्छुकहरुलाई दिएको पहिलो खुशी सम्झनामा झलझली आइरहेको छ अहिले पनि । आभारी छौं, डाक्टर उत्तम पच्या, डाक्टर कृपा महर्जन लगाएतको टिमप्रति । जसले म जस्ता कैयौं आमाहरुलाई यत्तिको सेवाको लागि चर्को मूल्य तिरेर निजी अस्पताल धाउनुपर्ने बाध्यताबाट छुटकारा दिलाउनुभएको छ । सम्झनामा छन् एक हप्ते अस्पताल बसाइँको क्रममा आफ्ना दुधे बालकलाई अरुको जिम्मामा सुम्पेर मध्यरातमा मेरो स्वास्थ्य अवस्था जाँच गर्न आउने ती स्वास्थ्यकर्मी आमाहरुप्रति ।
मैले राम्रैसंग बुझ्थे, उनीहरुका मनभित्र आइरहने मातृत्वका उकुसमुकसहरु । कामकाजी महिलाले पेशा र पारिवारिक जिम्मेवारीलाई कसरी चुनौतीपूर्ण रुपमा पुरा गरिरहेका छन्, महसुस गर्दै थिएँ मैले । उनीहरुको काम देख्दा स्वास्थ्यकर्मीको पेशा जागिरजस्तो लागेन, निस्वार्थ सेवा जस्तो लाग्यो मलाई । भन्न खोजेको जिल्ला अस्पतालले विगत र अहिलेको सेवाप्रवाहको अवस्थामा धेरै फड्को मारेको पाएँ मैले । अस्पताल परिसरको सरसफाइ, कर्मचारीको परिचालन, स्वास्थ्यकर्मीको बिरामीप्रतिको व्यवहार, औषधी उपकरणको उपलब्धता सबै हिसाबले जिल्ला अस्पतालमा धेरै सुधार भइसकेछ । नेपालको दुर्गम क्षेत्रमा बसेर कुशलतापूर्वक स्वास्थ्य सेवाको नेतृत्व गरिरहनुहुने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर उत्तम पच्याजस्ता अरु केही उत्तमहरु हुने हो भने हाम्रा सरकारी अस्पतालहरुले छिट्टै काँचुली फेर्ने थिए सायद ।
स्थानीय स्तरको समेत अवस्था हेर्दा विगतमा सिटामोलको समेत अभाव हुने हाम्रा गाउँघरका अधिकांश स्वास्थ्य संस्थामा अहिले औषधीको पर्याप्त व्यवस्था भएको छ । वडा वडालाई लक्षित गरी शहरी स्वास्थ्य केन्द्रहरु सञ्चालन भइरहेका छन् । गाउँमा रहेका बर्थिंग सेन्टरहरु थप सुविधा सम्पन्न बनिरहेका छन् । शून्य होम डेलिभरीको अभियान सञ्चालन भइरहेका छन् । सुत्केरी महिलाहरुलाई भेट्न वडाध्यक्षहरु घ्यू र कुखुरा लिएर घर घरमा पुगेका छन् । वृद्धवृद्धाको स्वास्थ्य जाँचको लागि निशुल्क स्वास्थ्य जाँच क्याम्पियनहरु सञ्चालित छन् । सुआहारा लगाएतका सचेतनामूलक कार्यक्रमले गर्दा हिजो आफू गर्भवती भएको कुरा परिवारका सदस्यहरुलाई समेत भन्न लाज मान्ने हाम्रा दिदीबहिनीहरु आज नियमित गर्भजाँच, हरेक बार खाना चार, पोषणयूक्त खानेकुराको सेवनमा सचेत छन् । यी र यस्ता पक्षहरुमा पछिल्लो समयमा उल्लेख्य सुधारहरु भइरहेको छ ।
यतिबेला विश्वका मावनजातिले कोभिड १९ को सामना गरिरहनुपरेको छ । नेपाल पनि दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यो अवस्थामा उपचार सामग्री, क्वारेन्टाइन, आइसोलेसन लगाएत आवश्यक कुराहरुको प्रबन्ध गर्नु सरकारको दायित्व हो । उपलब्ध सुविधाको प्रयोग गर्दै इमान्दारिताका साथ बिरामीको सेवा गर्नु स्वास्थ्यकर्मीको दायित्व हो । नेपालमा यतिबेला लकडाउन छ । लकडाउनको पूर्णरुपमा पालना गर्नु हाम्रो दायित्व हो, त्यो पनि आफ्नै जीवनरक्षाको लागि । अतिआवश्यक काम बाहेक हामी घरबाहिर निस्कदैनौं र त अवस्था त्यति डरलाग्दो भइरहेको छैन । यो समयमा स्वास्थ्यकर्मीहरु निरन्तर खटिरहेका छन् । आफ्नो जीवन जोखिममा राखेर । सुरक्षाकर्मीहरु निरन्तर खटिरहेका छन्, लकडाउनको पूर्ण कार्यान्वयनको लागि । समग्रमा छिटफुट विषय बाहेक राज्यले जिम्मेवारीताका साथ अभिभावकत्व दिइरहेको छ नागरिकलाई ।
स्थानीय सरकारले विदेशबाट आउने व्यक्तिको लगत संकलन, क्वारेन्टाइनको व्यवस्थापन, मजदुर र जीविका धान्न मुस्किल पर्ने वर्गलाई समयमै राहत वितरण, लकडाउनको पूर्ण कार्यान्वयनलाई उच्च प्राथमितामा राखेर काम गर्न जरुरी छ यतिबेला । जनताको जीवनसंग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा भविष्यमा पनि राज्यको लगानी थप बढाउनुपर्ने देखिन्छ । संघीयताको नयाँ अभ्यास गरिहरहेको नेपालमा अहिले हाम्रा गाउँ गाउँमा स्थानीय सरकार छ । जनतासंग प्रत्यक्ष सम्पर्कमा स्थानीय सरकार रहने भएकोले स्वास्थ्य क्षेत्रको थप सुधारको लागि अगुवाई स्थानीय जनप्रतिनिधिले नै गर्नुपर्दछ । हाम्रा गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउने विषय होस् वा स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्यक्रम होस् । स्थानीय सरकारले नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्नुपर्दछ । ताकि दुर्गम क्षेत्रका सर्वसाधारण मानिसले पनि घर घरमा राज्य पुगेको महसुस गर्न सकुन् ।