लकडाउनमा किसान : खेतबारीमै ब्यस्त

0
697

हुमाकान्त पोखरेल
बैशाख १७,२०७७ गुल्मी  :  धुर्कोट गाउँपालिका १ नयाँगाउँ भाखर्कका मधु कुँवरलाई आजकाल एकछिन पनि फुर्सद छैन । शहरका सबैजसो मानिसहरु लकडाउनमा रहेका बेला उनलाई भने बारिका गोपिमा मल–पानी राख्ने, कुखुरालाई दानापानी दिने तथा बाख्राको स्याहार–सुसार गर्न भ्याइनभ्याई छ ।
विगत पाचँ बर्षदेखि व्यवसायिक कृषि तथा पशुपालन गर्दै आएका कुँवरलाई कोरोना भाइरसबाट बच्नको लागि गरिएको लकडाउनले कत्ति पनि असर गरेको छैन । उनीसँग बाख्रा फर्ममा करिब २० वटा बाख्रा, कुखुरा फर्ममा डेढ सय बोइलर तथा बारीमा करिब तीन क्विन्टल हुने बन्दा तथा फुलगोपि छ । ‘लकडाउन भएपनि काम गर्नुप¥र्यो, नगरी खान पुग्दैन ।’ उनले भने, ‘कुखुरा–बाख्रा तथा तरकारीको स्याहार गर्दागर्दै खासै फुर्सद छैन ।’ व्यवसायबाट कुँवरलाई घरखर्च चलाउन तथा छोराछोरीलाई पढाउन खर्च धानेको छ । त्यसका साथै मासिक रुपमा केहि रकम बचत समेत गर्दछन् ।
स्थानीय पार्वता जिसीलाई पनि मल फाल्ने, मकै छर्ने तथा मेलो बनाउनमा भ्याइनभ्याई छ । लकडाउनले पहिलेझै टाढाटाढा अर्मपर्म नगएपनि छरछिमेकमा भने मिलेर काम गरेकी छिन् । बारिमा भर्खरै मल फालेर सकिएको छ । अब मकै छर्ने चटारो छ । ‘रेडियोले दुरी कायम गरी कृषि गर्नु भनेको छ, पहिलेझै टाढा काम गर्न गएकी छैन ।’ उनले भनिन्, ‘छरछिमेकको कृषि कर्म रोकिएको छैन ।’ त्यसका साथै उनले लकडाउनले आफु र आफुजस्ता कृषकलाई धेरै असर नगरेको बताइन् । अहिले गाउँका धेरै कृषक धानको बीउ राख्ने, मकै छर्ने तथा अन्य तरकारीजन्य खेतीमा लागेको कारणले गर्दा लकडाउनले प्रभाव नपारेको उनको भनाई छ । ‘गाउँका अधिकाशं दाजुभाई तथा दिदिबहिनीहरु खेतबारिमै व्यस्त हुनुहुन्छ, अहिले मौसमले पनि राम्रो साथ दिएको छ ।’ उनले भनिन्, ‘तर मल र बीउको अभावबारे सबै सचेत हुनुपर्छ ।’ तर व्यापारिले दैनिक उपभोग्य सामग्रीको मुल्य बढाएको भन्दै त्यसतर्फ ध्यान दिन स्थानीय सरकारलाई आग्रह गरिन् । कुँवर र जिसी प्रतिनिधिमुलक पात्र मात्रै हुन् । सिङ्गो देश लकडाउनमा भएपनि जिल्लाका अधिकाशं किसानहरु भने धानको बीउ राख्ने, रोप्ने, मकै छर्ने, गहुँ, जौँ स्याहार्ने लगायतका काममा व्यस्त छन् ।

कृषकको साहारा बन्दैं हाते ट्याक्टर
रोजगारिको कारणले अधिकाशं युवा बिदेश छन् । घरमा महिला, केटाकेटी र बृद्धबृद्धा मात्रै छन् । गाउँमा गोरु पाल्न छोडे । जोत्नुपरे एक हप्ता पहिले नै गोरुको निक्र्यौल गर्नुपथ्र्यो । तर अहिले गाउँमा हाते ट्याक्टर भित्रिएको छ । गोरुले भन्दा झण्डै तीनदेखि चारगुणा बढी परिणाममा जोत्ने हाते ट्याक्टर गाउँ भित्रिएपछि कृषकलाई राहत मिलेको छ । नयाँगाउकी बिमला पोखरेलका श्रीमान छैनन । भएका छोराछोरी सबै पढ्नको लागि घर छोडे । अहिले एक्लै छिन् । गाउँमा हाते ट्याक्टर आएपछि उनले पनि ट्याक्टरले जोत्ने गरेकी छिन् । ‘गोरुलाई दिने घासँपात र समय पनि बचत भयो ।’ उनले भनिन्, ‘यो सँगै गोरु खोज्ने झन्झट पनि हराएको छ ।’ सोहि ठाउँका ५५ बर्षिया राजिव मल्लसँग एउटा हाते ट्याक्टर छ । गत बर्ष कृषि ज्ञान केन्द्रबाट ७५ प्रतिशत अनुदानमा ल्याएको ट्याक्टरले उनलाई खालि बस्नै दिदैन । अहिले गाउँमा बाझो मार्न, मकै छर्न लगायतका काममा उनलाई बोलाउने गर्छन । ‘ट्याक्टरले गाउँमा सेवासँगै मलाई आम्दानी पनि दिएको छ ।’ उनले भने, ‘ट्याक्टरले म सँगै गाउँका दाजुभाईलाई पनि सन्तुष्टि दिलाएको छ ।’ साथै ट्याक्टरले जोतेर छरेको मकै गोरुले जोतेर छरेको भन्दा छिटो उम्रने उनले बताए । त्यसका साथै आफु र आफुजस्ता किसानलाई लकडाउनले खासै प्रभाव नपारेको उनले बताए । ‘लकडाउन भनेर भएन, काम नगरे के खाने ?’ उनले भने ।

बीउको अभाव छ, मलको छैन
कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्राविधिक शिव प्रसाद बञ्जाडेले किसानहरुलाई निश्चित दुरी कायम गरी कृषि कार्य गर्न आग्रह गरे । पहिले–पहिलेको जस्तो धेरै खेताला नलगाई दुई वा तीनजनासम्मले काम गर्न उनले सुझाव दिए ।
जिल्लामा अहिले मकै छर्ने कार्य चलिरहेको छ । कतिपय ठाउँमा मकै छरिसकिएको छ भने कतिपय ठाउँमा छरिदै छ । गुल्मी मकैको बीउमा आत्मनिर्भर भएको छ ।

तर जिल्लाका किसानलाई भने मकैको बीउको अभाव रहेकको छ । ‘जिल्लामा उत्पादित बीउ बाहिर निर्यात भएकोले पर्याप्त छैन ।’ उनले भने, ‘८० प्रतिशतसम्म बिउ बजारमा उपलब्ध छ ।’ किसानलाई हाइब्रेट जातको बीउ लगाउन पनि आग्रह गरिएको उनले बताए । त्यसको लागि भने १० देखि पाचँ बजेसम्म एग्रोभेट सेन्टरलाई आफु सुरक्षित भई पसल खोल्न आग्रह गरिएको उनले बताए । तर जिल्लामा रासायनिक मलको भने अभाव नभएको उनले जानकारी दिए ।

SHARE