लकडाउन : रामपुरका महिला झिनिया उत्पादनमा व्यस्त

0
808

सुशीला रेग्मी

बैशाख १०,२०७७ पाल्पा  : कोरना भाइरस (कोभिड १९) बाट बच्न जारी लकडाउनको समय लम्बिदै गएपनि रामपुरका महिला भने झिनिया उत्पादन गर्दै आयआर्जनमा जोड दिएका छन् ।

रामपुर नगरपालिका ५ राङ्गभाङ्ग बस्ने लक्ष्मी (मैयाँ) श्रेष्ठको दैनिकी झिनिया बनाउदैमा बितेको छ । लकडाउन समय यता हालसम्म सात क्विन्टल जति झिनिया उत्पादन गरिसक्नुभयो तर बजारमा खपत गर्ने वातावरण छैन ।

“हातमा सीप भएपछि घरभित्रै बसी बसी आयआर्जन गर्न सकिन्छ, लकडाउनको समयमा झिनिया बनाउने पछि खुलेको समयमा बजारमा बिक्रि गर्ने हो” उहाँले भन्नुभयो । श्रेष्ठले बन्दाबन्दीको समय यता मात्रै रु ६० हजारको झिनिया उत्पादन गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँ यो व्यवसायमा लागेको अढाइ दशक वितिसकेको छ । हातमा सीप भएकालाई लकडाउन, बन्द हड्ताल जुनसुकै अवस्था आएपनि खाली बस्न नपर्ने उहाँको अनुभव छ ।

उहाँले कामदार राखेर झिनिया उद्योग चलाउँदै आउनुभएको छ । यहाँका तीन जनाले प्रत्यक्ष रोजगार गर्ने अवसर पाएका छन् । रामपुर क्षेत्रमा सुरुमा झिनिया उत्पादन गर्ने श्रेष्ठ एकमात्र व्यवसायी हुनुहुन्थ्यो । उहाँको व्यवसायको सिको देखेर अन्य महिलाहरुले पनि घरमै बसेर झिनिया बनाउन थालेका छन् ।

झिनिया बनाउन थालेदेखि उहाँलाई अरुसंग परनिर्भर रहनु परेको छैन । आफ्नो व्यवसाय अवलोकन गर्न आउने महिलाहरुलाई घरमै बसेर साँझ बिहानको कामधन्दा सकाएर फुर्सदको समयमा झिनिया उत्पादन गरेर आफ्नो जीविका आफ्नै कमाईबाट चलाउन उहाँ सल्लाह दिने गर्नुहुन्छ । श्रेष्ठले यो व्यवसायमा परिवारको पनि राम्रो सहयोग पाउनुभएको छ ।

त्यस्तैगरी रामपुर नगरपालिका वडा नं ४ सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठले लकडाउन सुरु भए यता अहिलेसम्म तीस क्वीण्टल चामलको झिनिया तयार पारिसक्नुभएको छ । झिनिया बनाउदै गर्दा दिन बितेको उहाँलाई पत्तो छैन ।

“बिहान देखि साँझ आँखाले ठम्याउँदा सम्म झिनिया बनाउने हो, लकडाउनको समय कसरी दिन बिताउने होला भन्नु परेको छैन, काममा व्यस्त छु” – श्रेष्ठले भन्नुभयो ।

लकडाउनको समय घरमा उहाँले झिनिया बनाउन थालेपछि श्रीमान्, दुई छोरा र एक बुहारीलाई पनि यो समय कसरी बिताउने भन्ने पिरलो छैन । घरपरिवारका सबै सदस्य लकडाउनकोे पालना गर्दै घरभित्रै बसेर झिनिया बनाउने, सुकाउने र भण्डारण गर्ने कार्यमा व्यस्त बनेको उहाँको भनाई छ ।

“चामल पहिला नै बजारबाट ल्याएर राखेको हुनाले काम गर्न सजिलो भएको छ, अब चामल सकिन लागेको छ, ल्याउने कसरी हो भन्नेछ, चामल पाएपछि कामलाई बन्द गर्ने छैन” – उहाँले थप्नुभयो ।

चार वर्षदेखि यस व्यवसायमा आबद्ध श्रेष्ठले वर्षमा झिनिया उत्पादनबाट खर्च कटाएर रु तीन लाखको आम्दानी गर्नुहुन्छ । राम्रो कमाई हुने भएपछि चार जना कामदार राख्नुभएको छ । लकडाउनको समयमा भने कामदारलाई सुरक्षित साथ रहन घर पठाउनुभएको छ ।

लकडाउनको पालना गरी हातमा सीप भएका महिला घरभित्रै बसेर झिनिया बनाएर भण्डारण गरी राखेका छन् । झट्ट नबिग्रने भएकाले एक वर्षसम्म प्रयोगमा ल्याउन सकिने हुदा लकडाउनको समय सदुपयोग गर्दै झिनिया बनाउने कार्यमा महिला आकर्षित बनेका हुन् ।

यहाँ उत्पादन भएको झिनियाको आकार प्रति दर्जन रु ४० देखि एक सयमा बिक्रि हुने गरेको व्यापारी बताउँछन् । चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनिया बनाई सुकाएर तयार गर्ने गरिन्छ ।

बिशेषतः पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनिया हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियालाई लिने गरिन्छ ।

तिहार पर्व बाहेक विवाह, ब्रतबन्ध, पुजाआजा, माघे संक्रान्ती, तीज पर्व लगायतका विभिन्न पर्व र शुभ कार्यमा यसको प्रयोग बढ्दो छ । तिहारमा दिदिबहिनीले दाजुभाईलाई टिका लगाई दिएपछि प्रसादस्वरुप झिनिया दिने चलन छ ।

SHARE