ट्र्याक्टरको भाडा दर निर्धारण

0
404

बैशाख ९,२०७७ रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्र्याक्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यका आधारमा समायोजन गरिएको हो । नगरपालिकाले व्यवसायीसमेतको उपस्थितिमा सरोकार पक्षसँग छलफल गरेर नयाँ भाडा दर कायम गरेको वडा नं १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए । कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसान मर्कामा थिए ।
सर्वपक्षीय छलफलबाट ट्र्याक्टरको कल्टिभेटर जोताइ भाडा प्रतिघण्टा रु एक हजार २५० र रोटाभेटर जोताइ भाडा प्रतिघण्टा रु एक हजार ८ सय कायम गरिएको हो ।यस्तै थ्रेसरको भाडा पनि प्रतिघण्टा रु एक हजार ८ सय निर्धारण भएको लुम्बिनी ट्र्याक्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिए । अब नगरपालिकाले निर्धारण गरेभन्दा बढी भाडा कसैले लिन पाउने छैनन् । तोकिएभन्दा कम भाडा भने लिन सकिने छ । नगरपालिकाले ट्र्याक्टरकोे वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

यहाँ झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । यहाँ प्रमुख खाद्यबाली धान, गहुँ र मकैको ठूलो परिमाणमा उत्पादन हुन्छ । स्थानीय सरकारले ट्र्याक्टरको भाडा दर निर्धारण गरेकामा किसानले खुशी व्यक्त गरेका छन् । डिजलको मूल्य, बजारको अवस्थालगायत आधारमा आगामी दिनमा भाडादर समायोजन गरेर अघि बढ्ने वडाध्यक्ष न्यौपानेले बताए ।

SHARE