टिम माया बी संस्थामार्फत फरक क्षमता भएका रामपुरका नागरिकलाई खाद्यान्न सहयोग

0
717

 

—सुशीला रेग्मी

रामपुर (पाल्पा), ८ वैशाख ः अमेरिका र युकेमा बसोबास गर्ने नेपाली युवाहरुले कोरना भाइरस सङ्क्रमण (कोभिड १९) बाट बच्न नेपाल सरकारले जारी गरेको लकडाउनका समयमा समस्यामा परेका नागरिकलाई राहत सहयोग गरेका छन् ।

वैदेशिक रोजगारमा रहेका नेपाली युवाहरुद्धारा लकडाउनका समयमा अपाङ्गता अशक्त (फरक क्षमता) भएका पाल्पाको रामपुर नगरपालिकामा बसोबास गर्ने सात नागरिकलाई राहत सहयोग गरिएको हो । अमेरिका र युकेमा बसोबास गर्ने नेपालीहरुको संस्था टिम माया बी संस्थामार्फत सङ्कलन गरेर पठाइएको रकमबाट राहतस्वरुप खाद्यान्नका सामग्री घर घरमा पुगेर हस्तान्तरण गरिएको छ ।

रामपुर नगरपालिकाको समन्वयमा रामपुर नगरपालिका ५ का अध्यक्ष हिमाल मल्ल, वडा सदस्यहरु सावित्रा गौतम, विष्णुप्रसाद बस्याल, काशिनाथ रेग्मी, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, कालीगण्डकी उद्यमी युवा समाज रामपुरका सचिव दिपेन्द्रप्रसाद भट्टराई, सीताराम माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, पत्रकार लगायतको रोहबरमा खाद्यान्न सामग्री वितरण गरिएको हो ।

रामपुर नगरपालिका वडा नं ५ मटेरी बस्ने ३५ वर्षीय माया सुनार, सानीअमराई बस्ने ६३ वर्षीय रमणबहादुर रायमाझी, सुन्दरटोल बस्ने ४३ वर्षीय गिता कंडेल, गौडाहान बस्ने २५ वर्षीय सरस्वति पाटा, दध्रान बस्ने ७ वर्षका गंगाबहादुर सुनार, ५६ वर्षका ओमबहादुर सुनार र रामपुर १ बार्दाकोटका २१ वर्षका याम खाम्चालाई राहतस्वरुप खाद्यान्नका सामग्री वितरण गरिएको छ । वैदेशिक रोजगारमा रहेका नेपाली युवाले दुख गरेर कमाएको धनबाट केही रकम पठाएर घरमै राहत वितरण गर्न आएकोमा राहत सामग्री बुझेका व्यक्ति तथा परिवारका सदस्यले खुशी व्यक्त गर्दै टि माया बी संस्थालाई धन्यवाद दिएका छन् ।

शारीरिक रुपमा अशक्त लकडाउनका समयमा परिवारले मजदुरी गर्न नपाउँदा अति समस्यामा परेका नागरिकलाई छनौट गरी राहत सहयोग गरिएको हो ।

राहतस्वरुप प्रतिव्यक्ति ६० किलो चामल, दुई÷दुई किलो चना र दाल, एक किलो नुन, डेढ लिटर खानेतेल, दुई वटा साबुन लगायतका सामग्री वितरण गरिएको कालीगण्डकी उद्यमी युवा समाज रामपुरका सचिव दिपेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कोरना भाइरसले विश्व नै आक्रान्त पारेका समयमा आफुहरु वैदेशिक रोजगारमा रहेपनि स्वदेशमा रहेका अशक्त नागरिकहरु लकडाउनका समयमा कोही पनि भोकै बस्न नपरोस् भनी सामाजिक भावना राख्दै राहत सहयोग गरेको टिम माया बी संस्थाका संयोजक बिराज भट्टराई बताउनुहुन्छ ।

“लकडाउनको समय दैनिक ज्यालादारी मजदुरी गर्न नपाउँदा फरक क्षमता भएका अशक्त, अपाङ्गता व्यक्ति र उनीहरुका परिवार समस्यामा परिरहेका छन्,”, उहाँले भन्नुभयो । “ लकडाउनका समयमा खाद्य सङ्कट जुटाउन मुस्किल परेर भोकै बाँच्नु नपरोस् भनी आफुले कमाएको धनको केही रकम सामाजिक कार्यमा छुट्याएर स्वदेश पठाएका हौँ” संयोजक भट्टराईले थप्नुभयो ।

अमेरिका तथा युकेमा कार्यरत बिराज भट्टराई, मनिषा भट्टराई, प्रतिक्षा ढकाल, हरि पराजुली, बिन्दु पराजुली, सुरज ढकालले आफुले कमाएको रकमको केही रकम विपद् परिस्थितीमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगका लागि पठाउनुभएको हो ।

विपदको परिस्थितीमा वैदेशिक रोजगारमा रहेर अशक्त नागरिकलाई सम्झेर युवाहरुले गरेको सहयोगप्रति रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्लले धन्यवाद दिनुभएको छ ।

वैदेशिक रोजगारमा रहेका युवाले सामाजिक दायित्व बहन गर्दै आफुले पसिना बगाएर कमाएको धनबाट केही रकम सङ्कलन गरेर यो विपद्को समयमा गरेको सहयोगले फरक क्षमता भएका अति अशक्त परिवारलाई ठुलो राहत मिलेको उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताउनुहुन्छ ।

टिम माया बी संस्थाले सामाजिक सद्भाव राख्दै आपतविपत्मा परेका नागरिकलाई सहयोग गर्दै आइरहेको छ । संस्थाले शिक्षा पाउनबाट वन्चित रहेका असहाय विपन्न परिवारका बालबालिकालाई पठनपाठन गराउँदै आएको छ ।

SHARE