पाल्पाको माथागढी गाउँपालिकामा दीर्घरोगीलाई निशुल्क औषधी

0
1475

सुशीला रेग्मी

रामपुर (पाल्पा), ६ वैशाख :  पाल्पाको माथागढी गाउँपालिकाले दीर्घरोगीलाई घर घरमा निशुल्क औषधी वितरण गर्ने भएको छ ।

कोरना भाइरस सङ्क्रमण (कोभिड १९) बाट बच्न सरकारले जारी गरेको बन्दाबन्दीका समयमा समस्यामा परेका दीर्घरोगी, नियमित औषधी सेवन गर्ने बिरामीलाई निशुल्क औषधी उपलब्ध गराउने भएको हो ।

सदरमुकाम तानसेन, बुटवल, भैरहवा, काठमाण्डौँ लगायतका विभिन्न स्वास्थ्य संस्थाबाट नियमित औषधी सेवन गरिरहेका बिरामी लामो समय सम्म बन्दाबन्दीले समस्यामा परेका छन् ।

उनीहरुको सहजताका लागि विभिन्न ठाउँ ठाउँमा पुगेर औषधी खरिद गरेर घर घरमै निशुल्क पु¥याइदिने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर बताउनुहुन्छ ।

“बन्दाबन्दीको समय लम्बिदै जादा दीर्घरोगी, नियमित औषधी सेवन गरिरहेका बिरामीलाई मध्यनजर गर्दै उनीहरुले प्रयोग गर्ने औषधीको विवरण हेरेर घर घरमा नै पु¥याउने छ” अध्यक्ष थापा मगरले भन्नुभयो ।

गाउँपालिका भित्र करिव सात सय दीर्घरोगी, नियमित औषधी सेवन गरेका बिरामीलाई करिव रु छ लाख बराबरको रकम औषधी खरिदमा खर्च हुने अनुमान छ ।

दम, मधुमेह, मुटुरोग लगायत लामो समयदेखि औषधि सेवन गरिरहेकालाई वडा वडामा रहेका स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मीमार्फत घर घरमा पुगेर औषधी वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

अति विपन्न दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई पहिलो चरणमा सात घरपरिवारलाई राहत वितरण गरिसकेको छ । दोस्रो चरणको राहत वितरणको तयारी पनि भइरहेको गाउँपालिकाले जनाएको छ ।

SHARE