पाल्पामा बाहिरबाट तरकारी आयातमा रोक

0
439

सुशीला रेग्मी

रामपुर (पाल्पा), ५ वैशाख  :  कोरना भाइरस सङ्क्रमणबाट सजत रहन पाल्पामा बाहिरबाट भित्रने तरकारी आयातामा रोक लगाइएको छ । आपूर्ति व्यवस्थापन समितिको बैठकले बुटवल लगायतका विभिन्न जिल्लाबाट यहाँ भित्रने तरकारीजन्य पदार्थको आयातमा रोक लगाउने निर्णय गरेको गरेको हो ।

बाहिरबाट जिल्लामा भित्रने तरकारीमा सङ्क्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै आयातमा रोक लगाइएको आपूर्ति व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताउनुभयो । तरकारी फलफुल एवं दुग्धजन्य पदार्थहरुको बिक्रि वितरण गर्न समय तालिका तोकिएको छ ।

प्रत्येक दिन विहान ९ वजे देखि ११ वजेसम्म मात्र पसल खोल्ने र खाद्यान्न सामग्रीका पसलहरु आईतवार, मंगलवार र विहिवार विहान ९ वजे देखि ११ वजे सम्मको समयावधीमा संचालन गर्ने, औषधी पसलहरु दैनिक रुपमा अनिवार्य खोल्ने निर्णय भएको छ । वस्तु तथा सेवा बिक्रि वितरण गर्दा व्यक्तिगत दुरी कायम गरी सुरक्षित रहने व्यवस्था कायम गर्ने समेत निर्णय गरेको छ ।

जिल्लामा दुई हजार एक सय २६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिदै आइएको छ । सो क्षेत्रफलमा वार्षिक १७.११ मेट्रिकटन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका सुचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।

जिल्लाका सबैजसो स्थानमा तरकारी खेती गरिएपनि मदनपोखरा, हार्थोक, पोखराथोक, मुझुङ्ग क्षेत्रलाई तरकारीको मुख्य पकेट क्षेत्र मानिने गरिन्छ । पाल्पा सदरमुकाम तानसेन स्थित मदनपोखरा क्षेत्रमा उत्पादन भएको तरकारी बुटवलको हाटबजारमा बिक्रि हुने गरेको छ ।

बन्दाबन्दीका कारण धेरैका भान्सामा कम तरकारी पाक्ने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

“बन्दाबन्दीको समयमा गाउँमा उत्पादन हुने गरेका तरकारी बजार लैजान समस्या र घरभित्रै बस्नुपर्ने अवस्था आएकाले तरकारी भान्सामा कम पाक्ने गरेको जानकारी हामीकहाँ आएको छ” अर्यालले भन्नुभयो ।

बाहिरबाट दिनहुँ गाडीमा तरकारीजन्य पदार्थ ठुलो परिमाणमा भित्रने हुदा कोरना भाइरस सङ्क्रमण तरकारी संगै भित्रने डरले आयातमा रोक लगाइएकोमा सङ्क्रमणको जोखिम कम हुने जिल्लावासीले महसुस गरेका छन् ।

SHARE