लकडाउनः घरायसी काममा व्यस्त बन्दै रामपुरका शिक्षकहरु

0
659

सुशीला रेग्मी

रामपुर (पाल्पा), ५ वैशाख  :  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न जारी लकडाउनको सदुपयोग गर्दै विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मी घरायसी कामकाजमा व्यस्त हुने गरेका छन् ।

घरमै बसेर करेसाबारीमा तरकारी लगाउने, खेती स्याहार्ने लगायतका कामधन्दामा यतिखेर अधिकांशको दैनिकी बनेको छ ।

शिक्षण पेशामा आबद्ध भएदेखि बिहान देखि साँझसम्मको समय शिक्षण पेशामा व्यस्त रहने रामपुर नगरपालिका १० का दामोदर तिमिल्सिना अहिले भने घरायसी कामकाजमा व्यस्त हुनुहुन्छ ।

“बिहान साँझ ट्युसन कक्षा, दिउँसो विद्यालयमा व्यस्त भइन्थ्यो, खाना खाने समय बाहेक दिनमा अन्यत्र समय दिनै सकिदैनथ्यो,” तिमिल्सिनाले भन्नुभयो, “लकडाउन यता अहिले घरकै काममा समय बिताइरहेको छु ।”

उहाँले अहिले श्रीमतीलाई घरमा सघाउने, तरकारी लगाउने, गोडमेल गरेर लकडाउनको समय सदुपयोग गर्नुभएको छ ।

रामपुरकै कृष्ण सोमै पनि यतिबेला खेतबारीको काममा व्यस्त बन्नुभएको छ । खेतमा गहुँ स्याहार्ने, मकै छर्ने काममा उहाँको दैनिकी बितेको छ । बिहान ५ वजेदेखि साँझ ७ बजेसम्म लगातार शिक्षण गर्ने सोमै अहिले जारी लकडाउनमा घरायसी काममा आफुलाई व्यस्त बनाउनुभएको छ ।

“घरमा श्रीमती एक्लै आफुले खेतीपाती लगाउने काममा कहिल्यै सहयोग गर्न पाइएकै थिएन्, यस पटक भने श्रीमती संगै घरायसी काममा खटिरहेको छु” –उहाँले भन्नुभयो ।

लकडाउनका समय लम्बिदै जादा गाउँघरमा खेतबारी तथा करेसाबारीमा तरकारी लगाउने गरेर धेरैले आफ्नो समय बिताइरहेका छन् ।

विशेषतः एसईइ परिक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाईमा जोड दिन घरमै पुगेर आग्रह गर्ने र बेला बेलामा पढे नपढेको निगरानी गर्ने कार्यमा शिक्षक जुटेका छन् ।

विद्यार्थीको रेखदेख, करेसाबारीको काममा नै समय बित्ने गरेको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकनाथ पोखरेल बताउनुहुन्छ ।

“समय बिताउनै प¥यो, एक÷दुई दिनको समय भए पो, लकडाउन भएको पनि महिना दिन नजिक पुग्न लाग्यो, तरकारी लगायो, गोडमेल ग¥यो, विद्यार्थीले पढे या पढेनन् उनीहरुको निगरानी गरेर समय सदुपयोग गरिरहेको छु” – उहाँले भन्नुभयो ।

कतिपय शिक्षकले घरमै बसेर पनि परिक्षाको उत्तरपुस्तिका जाँच गर्ने, विद्यालयका योजना बनाउने कार्य गरिरहेका छन् । लकडाउनको समय लम्बिदै जादा घरभित्रै बसेर विद्यालयका भावी योजना तयार पार्ने, विद्यार्थीलाई पढाईमा निरन्तरता दिन पृष्ठपोषण दिने काम भइरहेको नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपाने बताउनुहुन्छ ।

विभिन्न पेशा व्यवसायमा दिनभर व्यस्त रहने नागरिक लकडाउनको पालना गर्दै रचनात्मक कार्यमा पनि लागेका छन् ।घरायसी कामकाजमा परिवारलाई सहयोग गर्ने, खेतीपाती लगाउने स्याहार्ने काममा आफ्नो समय बिताइरहेका छन् । सधै आ—आफ्नो पेशा व्यवसायमा व्यस्त हुने नागरिकलाई लकडाउनले परिवारसँगैै रहेर काम गर्ने वातावरण बनेको छ ।

SHARE