सुशीला रेग्मी
रामपुर (पाल्पा), १ वैशाख : कोरना भाइरस महामारीको जोखिमका कारण नयाँ वर्ष आज घरमै बसेर मनाइदैछ । २०७७ को पहिलो दिन आज घरपरिवारका सदस्यहरु एक आपसमा शुभकामना साटासाट गरी घरमै बसेर मनाइरहेका छन् ।
बिगतका वर्षमा नयाँ वर्षको पहिलो दिन विभिन्न स्थानमा घुमफिर गर्ने, होटल, पार्टी प्यालेसमा पुगेर मनाउने गरिन्थ्यो । यस पटक विश्वभर महामारीका रुपमा फैलिएको कोरना भाइरस (कोभिड—१९) को सङ्क्रमणका कारण नेपालीहरुले आफु बसेका ठाउँमा रहेर नयाँ वर्ष मनाइरहेका छन् ।
रामपुर नगरपालिकाका विभिन्न पर्यटकिय स्थलहरु बिगतका वर्षमा नयाँ वर्षका दिन भीडाभाड लाग्ने गथ्र्यो । बिशेष गरेर एक सय पर्यटकिय गन्तव्यस्थलका रुपमा सुचिकृत तालपोखरामा नयाँ वर्षका दिन ठुलो सङ्ख्यामा पर्यटकको चहलपहल हुन्थ्यो भने अहिले यो क्षेत्र सुनसानमय बनेको छ ।
कोरना भाइरस सङ्क्रमणबाट सजग रहन तालपोखरामा अनिश्चितकाल सम्मका लागि प्रवेशमा रोक लगाइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।
“अघिल्ला वर्षमा सम्हाली नसक्नु भीड लाग्थ्यो, तालपोखरामा डुङ्गा चढ्ने, पार्कमा घुम्नकै लागि टाढा टाढाबाट पर्यटकको उपस्थिती रहन्थ्यो भने अहिले तालपोखरा क्षेत्रको वातावरण शान्त र सुनसानमय छ” उहाँले भन्नुभयो ।
यस्तै भुजात सिद्धबाबाधाम, रामघाट, राम्चे भ्युटावर, सीताकुण्ड, तातोपानीधाम लगायतका क्षेत्रमा नयाँ वर्षका दिन भीड लाग्ने गथ्र्यो । विभिन्न ठाउँ, कार्यक्रम, मेला महोत्सवमा पुगेर नयाँ वर्ष साथीभाई संग मनाउने गरेपनि यस पटकको नयाँ वर्ष सबै नेपालीले घर घरमा बसेर परिवार संग मनाइरहेका छन् ।
कोरना भाइरस सङ्क्रमणका कारण यसवर्षको पहिलो दिन आज घरका परिवार संग बसेर नयाँ वर्षको शुभकामना आदानप्रदान भइरहेको रामपुरका दिपेन्द्रप्रसाद भट्टराई बताउनुहुन्छ ।
“नयाँ वर्षको पहिलो दिन सधै अन्यत्र घुमफिर गरेर साथीभाई संग रमाईलो गरेर मनाइन्थ्यो भने यस पटक नितान्त पारिवारिक वातावरणमा मनाइरहेका छौँ” उहाँले भन्नुभयो ।
चारु राना पनि नयाँ वर्षको दिन व्यापार बन्द गरेर विभिन्न ठाउँमा घुम्न जाने गर्नुहुन्थ्यो । नयाँ सालको पहिलो दिन उहाँले एक दिनको समय घुमफिरमा नै बिताउनुहुन्थ्यो । आजको दिन घरायसी वातावरण भित्र रहेर नयाँ वर्षको शुभकामना आदानप्रदान भइरहेको उहाँको भनाई छ ।
“घरमा भन्दा धेरै समय साथीभाई संग नयाँ वर्षको दिन घुमफिरमा नै बिताइन्थ्यो, यस पटक लकडाउनले अन्यत्र जान नपाएपछि घरपरिवारका सदस्य बीच रमाईलो संग मिठा मिठा परिकार बनाउने कार्य भइरहेको छ” रानाले भन्नुभयो ।
सामाजिक संजाल तथा मोबाइलमार्फत कुराकानी, म्यासेज आदानप्रदान गरेर घरभित्रै बसेर नयाँ वर्षलाई स्वागत गर्दै मनाउने कार्य भइरहेको छ ।
बिगतका वर्षको समिक्षा, आगामी वर्षको नयाँ योजनाका सन्र्दभमा पारिवारिक छलफल भइरहेको रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बिगतका वर्षमा जस्तो विभिन्न स्थानमा घुमफिर, मेला महोत्सव गर्न प्रतिबन्ध लगाएको छ । सरकारको आदेश पालना गर्दै नेपालीहरुले उत्साह उमंगका साथ घर घरमा बसेर नयाँ वर्षलाई स्वागत गर्दै एक आपसमा मनाइरहेका छन् ।
यसैगरी कालीगण्डकीका विभिन्न घाटमा वैशाखे सङ्क्रान्ति नुहानेको भीड लाग्ने गथ्र्यो । तर यस पटक भने नदीका धार्मिक तीर्थस्थल, विभिन्न घाटहरु सुनसान बनेका छन् ।—