रामपुर नगरपालिका ४, ६ र ७ वडामा राहत वितरण

0
961

सुशीला रेग्मी

चैत २४, पाल्पा :रामपुर नगरपालिका वडा नं ४, ६ र ७ मा राहत वितरण कार्यक्रम भएको छ । अति विपन्न, दैनिक ज्यालादारी तथा मजदुरी गरेर गुजारा चलाउने नागरिकलाई वडा तहबाटै राहत वितरण गरिएको छ ।

नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालयका प्रमुख अशोक आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख भिमबहादुर कार्की, वडा अध्यक्ष सहित वडाका जनप्रतिनिधि, कर्मचारी लगायतको रोहबरमा राहत वितरण गरिएको हो ।

नगरपालिकाले आम्दानीको स्रोत नभएका एकल महिला, न्यून आए भएका अशक्त, दैनिक ज्यालादारी श्रमिक, ७० वर्ष माथिमा मात्रै परिवारमा रहेका जेष्ठ नागरिक र अनाथ बालबालिकाको परिवारलाई वडाको सिफारिसका आधारमा खाद्यान्न तथा औषधी राहतस्वरुप वितरण सुरु गरेको हो ।

वडा नं ४ को कार्यालयले वडामा बसोबास गर्ने अति विपन्न, बिहान साँझ गुजारा चलाउन नसक्ने एक सय २६ घरपरिवारलाई राहतस्वरुप खाद्यान्न लगायतका सामग्री वितरण गरिएको वडा अध्यक्ष एकबहादुर नेपालीले बताउनुभएको छ ।

रामपुर नगरपालका ६ को कार्यालयले वडाका ६३ जना नागरिकलाई राहत वितरण गरेको छ । नागरिकलाई पायक पर्ने स्थान साविक वडा नं १ र ६ का ४० जनालाई विजयपुर कृषि सहकारीको भवनबाट र साविक वडा नं ७ र ८ का २३ जनालाई नवदुर्गा मावि तिलकपुरबाट राहत वितरण गरिएको वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।

यसैगरी वडा नं ७ मा पनि सोमवार राहत वितरण कार्यक्रम भएको छ । वडाका एक सय ३० जना नागरिकलाई राहत वितरण गरेको वडा अध्यक्ष तीर्थप्रसाद पंगेनीले जानकारी दिनुभएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले नगरका दशवटै वडाबाट लगत सङ्कलन गरेर परिवार संख्याको आधारमा राहत वितरण कार्यक्रम गरिरहेको बताउनुभयो । पहिलो चरणको राहतमा नगरका एक हजार ६६ घरपरिवारका चार हजार एक सय नागरिकलाई प्रदान गरिने नगर प्रमुख थापा बताउनुहुन्छ ।

परिवार संख्याको आधारमा नगरपालिकाले चामल, दाल, तेल, नुन, साबुन, चना संगै माक्स, जिवनजल, सिटामोल र साईनेक्स लगाएतका औषधी समेत प्याकेज बनाएर वितरण गरिएको छ ।

एक जना मात्रको परिवारलाई पाँच किलो चामल, एक किलो दाल, आधा लिटर तेल, एक किलो नुन, एक वटा साबुन, एक किलो चना, दुई देखि चार जनाको परिवारलाई २० किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक किलो नुन, दुई वटा साबुन, दुई किलो चना र पाँच जना भन्दा माथिको परिवारलाई २५ किलो चामल, तीन किलो दाल, साढे एक लिटर तेल, दुई किलो नुन, तीन वटा साबुन, तीन किलो चना वितरण गरेको छ ।

सदस्य भएको प्रति परिवारलाई नेपाल सरकारले तोकेको मापडण्द अनुसार कार्यबिधि तयार गरी नगरले जनप्रतिनिधि, प्रशासन र प्रहरीको रोहबरमा राहत वितरण गरिएको छ ।

SHARE