रामपुर नगरपालिका ५ मा एक सय ९३ घरपरिवारलाई राहत वितरण

0
1285

सुशीला रेग्मी

चैत २३, पाल्पा : लकडाउनको मारमा परेका अति विपन्न, दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई आज रामपुर नगरपालिका वडा नं ५ ले राहत वितरण गरेको छ । वडामा रहेका अति विपन्न दैनिक ज्यालादारीमा मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण गरिएको हो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिकान्त आचार्य, स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तीर्थप्रसाद पंगेनी, कमला श्रेष्ठ, वडा अध्यक्ष हिमाल मल्ल, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकारको रोहबरमा राहत वितरण गरिएको छ ।

परिवार संख्याको आधारमा नगरपालिकाले चामल, दाल, तेल, नुन, साबुन, चना संगै माक्स, जिवनजल, सिटामोल र साईनेक्स लगाएतका औषधी समेत प्याकेज बनाएर वितरण गरिएको छ ।

एक जना मात्रको परिवारलाई पाँच किलो चामल, एक किलो दाल, आधा लिटर तेल, एक किलो नुन, एक वटा साबुन, एक किलो चना, दुई देखि चार जनाको परिवारलाई २० किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक किलो नुन, दुई वटा साबुन, दुई किलो चना र पाँच जना भन्दा माथिको परिवारलाई २५ किलो चामल, तीन किलो दाल, साढे एक लिटर तेल, दुई किलो नुन, तीन वटा साबुन, तीन किलो चना वितरण गरेको छ । सदस्य भएको प्रति परिवारलाई नेपाल सरकारले तोकेको मापडण्द अनुसार कार्यबिधि तयार गरी नगरले जनप्रतिनिधि, प्रशासन र प्रहरीको रोहबरमा राहत वितरण गरेको जनाएको छ ।

राहत वितरण गर्दै नगर प्रमुख थापाले कोही पनि नागरिक लकडाउनको बेला भोकमरीमा बाँच्न नपरोस्, भनी वडा वडा तहबाट नगरपालिकाले लगत सङ्कलन गरी राहत प्याकेजको कार्यक्रम ल्याएको बताउनुभएको छ ।

लकडाउनको मारमा परेका एक सय ९३ जना घरपरिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष हिमाल मल्लले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष मल्लको नेतृत्वमा वडा सदस्यहरु सावित्रा गौतम, विष्णुप्रसाद बस्याल, काशीनाथ रेग्मी, माया नेपाली, वडा सचिव महेशप्रसाद भट्टराई, वडा कार्यालय सहायक सबिता राना लगायतको टोलीले वडाका टोल टोलमा पुगेर लगत सङ्कलन गरी राहत वितरण गरिएको हो । राहत बुझ्न जान नसक्ने असहाय, अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई घर घरमै पुगेर राहत प्रदान गर्ने वडाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकलाई लक्षित गर्दै नगरपालिका भित्र एक हजार ६६ घरपरिवारलाई राहत वितरण प्रक्रिया सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिकान्त आचार्यले बताउनुभयो ।

एक हजार ६६ घरपरिवारका चार हजार एक सय नागरिक नगरपालिकाको राहत कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नगरपालिकाले आम्दानीको स्रोत नभएका एकल महिला, न्यून आए भएका अशक्त, दैनिक ज्यालादारी श्रमिक, ७० वर्ष माथिमा मात्रै परिवारमा रहेका जेष्ठ नागरिक र अनाथ बालबालिकाको परिवारलाई वडाको सिफारिसका आधारमा खाद्यान्न तथा औषधी राहतस्वरुप वितरण सुरु गरेको हो । राहत पाएपछि वडाका नागरिकहरु खुशी भएका छन् ।

SHARE