रामपुरको अन्धकारमुक्ति साकोसद्धारा रु साढे दुई लाख राहत सहयोग

0
1028

सुशीला रेग्मी

चैत २३, पाल्पा :सरकारले जारी गरेको लकडाउन समयमा समस्यामा परेका नागरिकलाई अन्धकारमुक्ति वचत तथा ऋण सहकारी रामपुरले राहत सहयोग गरेको छ । बिहान साँझको गुजारा चलाउन समस्यामा परेका अति विपन्न नागरिकलाई सहयोग पुगोस् भनी चार पालिकालाई राहतस्वरुप रु दुई लाख पचास हजार रकम सहयोग गरेको हो । लकडाउनको समयमा समस्यामा परेका नागरिकलाई लक्षित गर्दै नगरपालिका तथा गाउँपालिकालाई रकम सहयोग गरेको सहकारीका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।

रामपुर नगरपालिकालाई रु एक लाख, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकालाई रु पचास÷पचास हजार रकम राहत स्वरुप सहयोग गरेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

“सहकारीले सेयर सदस्यलाई मात्र नभई कार्यक्षेत्रमा रहेका लकडाउनका समयमा समस्यामा परेका नागरिकलाई मध्यनजर गर्दै राहतमा केही भएपनि मलम पुग्नेछ भन्ने उद्धेश्यले पालिकाहरुलाई नै रकम सहयोग गरिएको हो” अध्यक्ष देवकोटाले भन्नुभयो ।

आईतवार रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापालाई सहकारीका अध्यक्ष सागरप्रसाद देवकोटा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने, सचिव ओमप्रकाश बस्याल, व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले रु एक लाख रकम हस्तान्तरण गर्नुभयो ।

उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिकान्त आचार्य, पत्रकारको सहभागीतामा रकम हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख थापाले नगरपालिकाको राहत कार्यक्रममा सघाउन सहकारीले गरेको सहयोग प्रति धन्यवाद दिदै सो रकम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरी अति विपन्न समस्यामा परेका नागरिकलाई सहयोग गर्ने बताउनुभएको छ ।

कोरना भाइरसको जोखिम न्युनिकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण अति विपन्न दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरु समस्यामा परेका छन् । उनीहरुलाई मध्यनजर गर्दै सहकारीले गरेको कार्य प्रशंसनिय रहेको छ ।

विषम परिस्थितीलाई मध्यनजर गर्दै सहकारीले सामाजिक सुरक्षा विकास कोष तथा विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्दै आरहेको छ । सहकारीले अन्य बेला पनि आपतविपत परेका बेला सेयर सदस्यलाई सहयोग गर्दै आइरहेको छ । कोरना भाइरसको सङ्क्रमणबाट बच्न सेयर सदस्य तथा सम्पूर्ण नागरिकमा अपिल गरिरहेको छ ।

SHARE