रामपुर नगरपालिकाले एक हजार भन्दा बढी घरपरिवारलाई राहत वितरण गर्दै

0
1114

सुशीला रेग्मी

रामपुर (पाल्पा), २२ चैत  :  रामपुर नगरपालिकाले लकडाउनको मारमा परेका अति विपन्न, दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण कार्य सुरु गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकलाई लक्षित गर्दै एक हजार ६६ घरपरिवारलाई राहत वितरण प्रक्रिया अगाडी बढाएको छ ।

एक हजार ६६ घरपरिवारका चार हजार एक सय नागरिक नगरपालिकाको राहत कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।नगरपालिकाले आम्दानीको स्रोत नभएका एकल महिला, न्यून आए भएका अशक्त, दैनिक ज्यालादारी श्रमिक, ७० वर्ष माथिमा मात्रै परिवारमा रहेका जेष्ठ नागरिक र अनाथ बालबालिकाको परिवारलाई वडाको सिफारिसका आधारमा खाद्यान्न तथा औषधी राहतस्वरुप वितरण सुरु गरेको हो ।

नगरपालिकाले शनिवार वडा नं ८ को आँपचौरबाट राहत वितरण प्रक्रिया गर्न थालेको छ । वडाका एक सय ५१ जना नागरिकमध्ये पहिलो दिन ६० जना नागरिलाई राहत वितरण गरेको वडा सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार चामल, दाल, चना, खानेतेल, नुन, साबुन र स्वास्थ्य सामग्री प्रदान गरिएको वडा अध्यक्ष बोमबहादुर नामजालीले बताउनुभयो । सोही अवसरमा कालीगण्डकी एग्रोफार्मले प्रति परिवार दश वटा अण्डा वितरण गरेको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको जीविकोपार्जन गर्ने विपन्न वर्गका नागरिकहरु मारमा परेका छन् । नगरपालिकाले कोही पनि नागरिक भोकै बस्न नपरोस् भनी उनीहरुका लागि राहत प्याकेज कार्यक्रम ल्याएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“विपद्का बेला नगरपालिकाले अति विपन्न परिवारका नागरिकहरुलाई आवश्यक पर्ने विभिन्न खाद्यान्न सामग्री, औषधी उपचार सेवा सहितको राहत प्याकेज कार्यक्रम ल्याएका छौँ” उहाँले भन्नुभयो । उहाँका अनुसार यस कार्यक्रममा करिव २१ लाख रकम अनुमानित खर्च हुनेछ ।

रामपुर नगरस्तरिय विपद् व्यवस्थापन समितिले लकडाउनको मारमा परेका दैनिक ज्यालामा काम गर्ने मजदूर, क्वारेन्टाइनमा बसेका नागरिक र आर्थिक रुपमा आफै किनेर खाने क्षमता नभएकाहरुका लागि राहत प्याकेज ल्याएको हो ।

लकडाउनका समयमा व्यापार, व्यवसाय, पसल, उद्योग बन्द हुदा अति विपन्न परिवारका नागरिकको जीवन कष्टकर बनेको छ । विहान ७ बजे देखि ९ बजे सम्म दैनिक उपभोग्य खाद्यान्न सामाग्रीका पसलहरु दुई घण्टा खुल्ला गरिन थालिएको छ ।

कर्मचारीलाई पचास प्रतिशत प्रोत्साहन भत्ता

विपद्को बेलामा जोखिम मोलेर काममा खटिएका करारका स्वास्थ्यकर्मी, नगर प्रहरी, सवारी चालक र कर्मचारीहरुलाई पचास प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ ।

कोरना भाइरस सङ्क्रमणको न्युनिकरणका लागि काममा निरन्तर खट्ने कर्मचारीलाई तलबको पचास प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको हो । अति विपन्न परिवारको खानेपानी र विद्युत महशुलमा पचास प्रतिशत छुटको लागि अनुरोध गर्ने नगरपालिकाले जनाएको छ ।

SHARE