‘लकडाउन’मा गाउँमै खाद्यान्न संकलन गर्दै धुर्कोट गाउँपालिका

0
1285

हुमाकान्त पोखरेल
चैत १७,२०७६ गुल्मी  :  गुल्मीको धुर्कोट गाउँपालिकाले लकडाउनमा खाद्य संकट टार्न गाउँकै खाद्य सामग्री संकलन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँमा उत्पादन भएका मकै, कोदो, धान, गहुँ, जौ लगायतका खाद्य सामग्री सहयोग गर्न अपिल गरेको हो । त्यस्तै चामल, दाल, नुन, फापर, आलु लगायतका अत्यावश्यक खाद्य सामग्री र स्वास्थ्य संस्थामा आवश्यक पर्ने औषधी, उपकरण लगायतका जिन्सि सामग्रीहरु गाउँपालिकाले सहयोगसस्वरुप प्रदान गर्न अपिल गरेको प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले जानकारी दिए ।
गाउँपालिकाले गरिब तथा विपन्न परिवारको लागि ५० लाखको कोष स्थापना गर्ने निर्णय गरेको छ । जसका लागि अध्यक्ष र उपाध्यक्षले एक÷एक महिनाको तलब, वडाध्यक्ष, कार्यपालिका सदस्य सदस्य र वडा सदस्यहरुबाट १५ ÷१५ दिनको तलब दिने निर्णय गरेको छ । त्यस्तै अधिकृत स्तरका कर्मचारीहरुबाट पाचँ दिनको तलब, शिक्षकहरुबाट दुई दिनको तलब र सहायक स्तरका कर्मचारीहरुबाट तीन दिनको तलब बराबरको रकम विपन्न कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष शिव बहादुर केसीले बताए ।
गाउँपालिकाले सूचना जारी गरेसँगै खाद्यान्न तथा आर्थिक संकलन हुन सुरु गरेको छ । जसअन्तरगत नेपाल कम्युनिष्ट पार्टी धुर्कोट गाउँकमिटीले सम्पूर्ण पार्टी कार्यक्रताबाट संकलन गरेको एक लाख प्रदान गर्ने भएको छ । जैसिथोक समाज गुल्मी काठमाडौद्धारा जैसिथोकका विपन्न परिवारको लागि ९० हजार तथा धुर्कोट ६ रजस्थल निवासी अनन्त बहादुर कुँवरबाट १० हजार प्राप्त हुने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । त्यस्तै धुर्कोट ७ वाग्लास्थित युवराज घिमिरेले ५० किलो चामल, १० किलो नुन, १० लिटर तेल र १० वटा साबुन प्रदान गर्ने भएका छन् । घोषणा गरेको उक्त सहयोग खाद्यान्न तत्कालै र आर्थिक रकम लकडाउन सकिएलगत्तै प्राप्त हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले विपन्नलाई परिवारलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ । जसअन्तरगत अपाङ्ग भई कुनै काम गर्न नसक्ने, परिवारमा कुनै सदस्य कुनै पेशा व्यवसायमा संलग्न नभएको तथा एकल महिला र पुरुष, दीर्घ रोगि भई काम गर्न नसक्ने, आम्दानीको स्रोत नभएको ५० बर्षभन्दा माथिको नागरिकलाई पनि गाउँपालिकाले ‘क’ वर्गमा राखेको छ । परिवारका कुनै सदस्यको नियमित आम्दानीको स्रोत नभई ज्यालादारी रुपमा काम गर्ने, लकडाउनका कारण आम्दानीको स्रोत रोकिएको तथा घरमा खेतियोग्य जमिन कम भएकोलाई ‘ख’ वर्गमा वर्णिकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
धुर्कोट गाउँपालिका ५ वस्तुस्थित परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा चार दिनदेखि पाचँ जना क्वारेन्टाइनमा राखिएका छन् । जसमध्ये वाग्लाका एकजना २० बर्षिया युवा रहेका छन् । भने बाँकि चार जनामध्ये श्रीमान–श्रीमती, एक छोरा र एक छोरी छन् । उनीहरु भारतबाट आएका हुन् । धुर्कोट गाउँपालिका ३ हाडहाडेस्थित निन्यूखर्क माविमा तीन दिनदेखि पाचँ युवा क्वारेन्टाइनमा छन् । भैरहवाबाट आएका युवा सबै १८ देखि २२ बर्षभित्रका छन् । वस्तुमा डिल्लि पराजुली र हाडहाडेमा हेल्थ असिस्टेन्ट प्रकाश काउछाले क्वारेन्टाइनमा राखिएकाहरुको रेखदेख गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । क्वारेन्टाइनमा राखिएकाहरुको खाना लगायतका सबै खर्च गाउँपालिकाले बेहोर्ने खनालले बताए ।

SHARE