रामपुरमा भारतबाट आएका नौ जना क्वारेन्टाइनमा

0
1283

सुशीला रेग्मी

चैत १३, पाल्पा :पाल्पाको रामपुर नगरपालिकामा बाहिरबाट भित्रिएका नागरिकलाई बिहिवार देखि क्वारेन्टाइनमा राख्न थालिएको छ । रामपुर नगरपालिका वडा नं ५ स्थित बालकल्याण प्राथमिक विद्यालयमा तयार पारिएको क्वारेन्टाइन कक्षमा नौ जनालाई राखिएको छ ।

वडा नं ५ को व्यवस्थापनमा नगरपालिकाले निर्माण गरेको क्वारेण्टाइन कक्षमा भारतीय मुलुकबाट रामपुर भित्रिएका नागरिकलाई सिधै क्वारेण्टाइन कक्षमा ल्याएर राखिएको हो । क्वारेण्टाइन कक्षमा राखिएका नौ जनामध्ये वडा नं ६ र ७ मा एक÷एक जना र वडा नं १० का सात जना रहेका छन् ।

तत्कालका लागि २४ शैयाको क्वारेन्टाइन कक्ष तयार पारिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभएको छ । नगरपालिकाले वडा वडामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको टोलि परिचालन गरिएको र बाहिरबाट रामपुर आएका नागरिकलाई सिधै क्वारेन्टाइनमा ल्याएर राखिने नगर प्रमुख थापाले जानकारी दिनुभएको छ ।

केही दिन अघि भारत लगायत विभिन्न मुलुकबाट वडामा भित्रिएका नागरिकलाई स्वास्थ्य परिक्षण गरेर होम क्वारेण्टाइनमा बस्न सुझाव दिइएको वडा अध्यक्ष हिमाल मल्लले बताउनुभयो ।

रामपुर नगरपालिका ५ का अध्यक्ष हिमाल मल्लको नेतृत्वमा वडा सदस्यहरु सावित्रा गौतम, विष्णुप्रसाद बस्याल, काशीनाथ रेग्मी र माया नेपाली सहितको टोलीले क्वारेण्टाइन कक्षको व्यवस्थापन, सरसफाई लगायतका कामहरु सम्पन्न गरेपछि बिहिवार दिउँसोबाट क्वारेन्टाइन कक्षमा नागरिकलाई राख्न थालिएको हो । रामपुर नगरपालिका क्षेत्रमा हालसालै भारत लगायत विभिन्न मुलुकबाट करिव एक सय जना नागरिक नगर भित्रिएका छन् ।

तानसेन नगरपालिकाको जनप्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइन कक्षमा राखिएका २६ जनामध्ये पूर्वखोला गाउँपालिकाका २२ जना र चार जना बाग्लुङ्ग जिल्लाका नागरिक रहेका छन् । तानसेन नगरपालिकामा पचास शैयाको क्वारेन्टाइन कक्ष तयार पारिएको छ ।

भारतीय मुलुकबाट आएका नागरिकलाई स्वास्थ्य सुरक्षा मध्यनजर गदै क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको हो । स्वास्थ्य जाँच पछि सुरक्षाका लागि क्वारेन्टाइन कक्षमा लगेर राखिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । बगनासकाली गाउँपालिकाको ग्राम्य माविमा तयार पारिएको क्वारेन्टाइन कक्षमा ११ जनालाई राखिएको छ । पाल्पा जिल्लाभरमा दुई सय ६५ शैयाको क्वारेन्टाइन कक्ष तयार पारिएको छ । विभिन्न सिमा नाकाहरु बन्द गरिएको छ । सवारी साधन ठप्प छ भने मानिसहरु पनि घरबाट बाहिर निस्केका छैनन् ।

SHARE