कोभिड १९ : विद्यालयलाई क्वारेण्टाइन कक्ष बनाइदै

0
629

सुशीला रेग्मी

रामपुर (पाल्पा), १३ चैत  :  कोरना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न स्थानीय तहले विद्यालय भवनलाई क्वारेण्टाइन कक्ष बनाएका छन् ।

तानसेन, रामपुर, बगनासकाली, रम्भा, माथागढी, तिनाउ, रिब्दिकोटका विभिन्न विद्यालयलाई क्वारेण्टाइन कक्ष निर्माण गरिएको छ ।

रामपुर नगरपालिका ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा नगरपालिकाले तत्कालका लागि २४ शैयाको क्वारेण्टाइन कक्ष तयार पारिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

बाहिरबाट आएका नागरिकलाई स्वास्थ्य परिक्षण गरेर १४ दिन सम्म क्वारेण्टाइन कक्षमा राखिने उहाँले बताउनुभयो । तानसेन नगरपालिका ६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पचास शैयाको क्यारेण्टाइन कक्ष बनाउँदैछ ।

तिनाउ गाउँपालिकाले दोभान माविमा दश शैयाको क्वारेण्टाइन बनाएको छ । विदेशबाट आएका र कोरना भाइरस संग सङ्क्रमित भएका नागरिकलाई स्वास्थ्य परिक्षण गरेर क्यारेण्टाइनमा राखिने गाउँपालिकाले जनाएको छ । क्वारेण्टाइनमा दुई जना स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

तत्कालका लागि दश शैयाको क्वारेण्टाइन बनाएपनि यसलाई बिस्तार गर्दै जाने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो । दोभान प्रहरी चौकीमा बाहिरबाट प्रवेश गर्ने यात्रुहरुको थर्मल स्क्यानर मेसिनद्धारा स्वास्थ्य परिक्षण गर्ने गरिएको अधयक्ष मगरले जानकारी दिनुभयो ।

रम्भा गाउँपालिकाको रम्भा माविमा पचास शैयाको क्वारेण्टाइन कक्ष बनाइएको छ । विद्यालयमा दुई कोठामा क्वारेण्टाइनको व्यवस्था, शुद्ध खानेपानी, ग्यास तथा खाद्यान्न, लत्ताकपडा, बिजुली जडानको व्यवस्थापन गरेको छ ।

बाहिरबाट गाउँपालिकामा भित्रने नागरिकलाई अनिवार्य स्वास्थ्य जाँच, तीन सामुदायिक स्वास्थ्य केन्द्र भवन, चार स्वास्थ्य केन्द्र र एउटा स्वास्थ्य केन्द्र भवनमा औषधि, मास्क, हातधुने व्यवस्था, स्यानिटाइजर, पञ्जा लगायत सामग्रीको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

बगनासकाली गाउँपालिकाको चन्द्र माविमा वीस, रिब्दिकोट गाउँपालिकाको सरस्वति माविमा अठार, माथागढी गाउँपालिकाको दिपज्योती नमुना माविमा पन्ध्र शैया सहितको क्वारेण्टाइन तयार गरिएको छ ।

सुनसान बन्दै पाल्पा

सरकारले लकडाउन गरेपछि पाल्पा जिल्लाको वातावरण सुनसानमय बनेको छ । अति आवश्यक सवारी साधन केही फाट्टफुट्ट रुपमा मात्र चलेका छन् भने नागरिकहरु घरबाट बाहिर निस्केका छैनन् ।

जिल्ला सदरमुकाम तानसेन, रामपुर, आर्थोक लगायतका बजार ठप्प छन् । जिल्लाका दशवटै स्थानीय तहमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा खटिएका छन् । सडकमा जथाभावी हिड्नेलाई घरमा बस्न सचेत समेत गराइएको छ ।

जिल्लामा संचालन हुदै आएका विभिन्न व्यापार, व्यवसाय, उद्योग कलकारखाना बन्द छन् । विभिन्न योजनाका कामहरु पनि बन्द गरिएको छ । जिल्लाका मुख्य नाकाहरुमा आवतजावत बन्द गरिएको छ ।

रामपुर नगरपालिकामा लकडाउनलाई मजबुत बनाइएको छ । रामपुरका विभिन्न सिमा नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भारत लगायत तेस्रो मुलुकबाट घर आएका नागरिकलाई खोजी कार्य गर्न र उनीहरुको स्वास्थ्य परिक्षणका लागि घुम्ती टोली परिचालन गरिएको छ ।

शङ्कास्पद लागेमा उनीहरुलाई स्वास्थ्य परिक्षण गरेर रामपुर नगरपालिकाले क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । नागरिकहरु पनि सचेत बन्न थालेका छन् । आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियानमा लकडाउनको समर्थनमा नागरिकहरु लागेका छन् ।

लकडाउनको पहिलो दिन केहीले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मंगलवार दिउँसो ३ बजेदेखि चैत १८ गते सम्म निषेधाज्ञा समेत लगाएको छ । नागरिकहरु सुरक्षाका लागि सेल्फ क्वारेण्टाइनमा बसेका छन् ।

SHARE